‘गरिबीको कहर, स्याउलाको छाप्रोको भर’

•ध्रुवराज खनाल

चितवन । गाईवस्तु, खसी–बोका बस्ने खोर आधुनिक हुन्छ । तर स्याउलाले छाएको छाप्रोमा दिन रात काट्न बाध्य रहने अवस्था रहला भन्दा पत्याईहाल्नु हुँदैन होला सायद । तर यस्तै अवस्था छ, चितवन कालिका नगरपालिका ५ विकासिल टोल विकास संस्थामा एक महतो दिदी–बहिनीको ।

सोही टोलमा मुसनी महतो र फोहरी महतोको व्यथा त्यस्तै छ । उनीहरु झण्डै ७ महिना अघिदेखि स्याउलाले छाएको छाप्रोमा बस्न बाध्य छन् । छाप्रोभित्र असरल्ल कपडाहरु, ओछ्याउन त्यहीँ, खानेकुराका भाँडा त्यहीँ छन् । निकै साँघुरो ठाउँ छ ।

त्यहीँ ठाउँमा उनीहरुको दिन रात बितिरहेको छ । हावाहुरी आयो भने छाप्रो उडाउला भनेर चिन्ता हुन्छ । पानी पर्दा रुझेर बस्नुपर्ने अवस्था छ ।

शारीरिक र मानसिक रुपमा उनीहरु निकै कमजोर पनि छन् ।

स्थानीय सानकाजी चौधरी उनीहरुको कठिन अवस्थाका बीच दैनिकी बितेको बताउँछन् ।

‘खट्न सक्ने बेलासम्म उनीहरु काम गरेर गुजारा गरे, बिरामी भएपछि छाप्रो बनाएर बहिनीहरुको जग्गामा छाप्रो हालेर बसेका छन्’, चौधरीले भनेका छन् ।

स्थानीय पत्रकार सन्तकुमार चौधरीमार्फत् उनीहरुको अवस्थाका बारे जानकारी पाएपछि समाजसेवी मुरलीप्रसाद गजुरेलसहितको टोलीले तत्कालका लागि त्रिपालको व्यवस्था गरेर पानी ओत लाग्ने बनाइएको छ ।

६ महिनाका लागि पुग्ने खाद्यान्न समेत सहयोग गरिएको छ ।

ति दिदी–बहिनी गाउँमै गाईवस्तु चराउने, घाँस काट्ने काम गरेर गुजारा चलाउँदै आएका थिए । उनीहरु जहाँ काम गर्थे त्यहीँ बस्थे । बल-बुत्ता छउञ्जेल जहाँ काम गर्थे, त्यहीँ बसेर छाक टारे ।

स्थानीय चौधरीले भने – ‘थलिएपछि आफन्तको शरणमा आएर बसेका छन्, मागेरै र सहयोगका भरमा छाक टार्ने गरेका छन् । विवाहित भएपनि उनीहरुका श्रीमानहरुको मृत्यु भइसकेको छ । बेसहारा उनीहरुको नागरिकतासमेत छैन । काईली र कान्छी बहिनीहरुको जग्गामा सानो छाप्रो हालेर उनीहरु बसेका हुन् ।’

‘सकुन्जेल काम गरेर निर्वाह गरे, नसक्ने अवस्था आएपछि हामीसितै छन्’, बहिनी एतरिया महतोले भनिन् – ‘संगै बस्न साँघुरो हुने हुँदा छाप्रो बनाउने ठाउँ दिएर राखेका छौँ ।’

समाजसेवीको पहलमा नयाँ घर बन्दै
मुसनी महतो र फोहरी महतोको दर्दनाक अवस्था देखेपछि खैरहनीका समाजसेवीहरुले घर निर्माण सुरु गरेका छन् ।

विभिन्न दाताहरुको सहयोगमा समाजसेवी मुरली प्रसाद गजुरेलसहितको सिंगो टिमले उनीहरुका लागि घर निर्माण सुरु गरेका हुन् ।

उनीहरुलाई जीवनभरका लागि बस्नका लागि बहिनीहरु एतरिया महतो र ठगनी महतोले जग्गा उपलब्ध गराएका छन् ।

सोही जग्गामा दुई कोठे घरको निर्माण सुरु गरिएको समाजसेवी मुरली प्रसाद गजुरेलले बताए ।

ओकोयामा नेपाली समाज जापानका अध्यक्ष प्रेम आचार्यसहित उनका साथीहरुले घर निर्माणका लागि २ लाख रुपैया सहयोग गर्ने बचन दिएका छन् ।

आचार्यले आफ्नो जन्मदिनको अवसरमा गरिब दीनदुःखीलाई सहयोग गर्ने भनेर १ लाख ४० हजार रुपैयाँ छुट्याएका थिए ।  आचार्यबाहेक शिव प्रसाद आचार्य, नारायण सापकोटा, बालकृष्ण विश्वकर्मा, अगान्धर कँडेल, रामकृष्ण शर्मा, धनप्रसाद कँडेल र आनन्द आचार्यले कूल २ लाख १ हजार २ सय रुपैयाँ सहयोग गरेका छन् ।

उनीहरुबाहेक देश विदेशमा रहेका नेपालीहरुले पनि सहयोग रकम घोषणा गरिसकेका छन् । त्यस्तै सहयोगबाट जस्ताले छाएको दुई कोठे पक्की घर बनाउन थालिएको समाजसेवी गजुरेलले बताए ।

गजुरेलसहितको सिंगो टिममा समाजसेवी तथा बुद्धिजीवी प्रेम रिमाल, अधिवक्ता कमल पाठक, लेखबहादुर पुन र अशोक न्यौपाने छन् ।

दशैं अघिनै घर निर्माण गरेर उनीहरुलाई हस्तान्तरण गरिने गजुरेलले बताएका छन् ।

प्रतिक्रिया