‘एमसीसी पारित गर्नुपर्छ भन्ने दलालहरुले मविरुद्ध कुप्रचार गरे’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा नेकपा नेता भीम रावलले एमसीसी पारित गर्नुपर्छ भनेको भनी आफूविरुद्ध कु–प्रचार गरिएको बताएका छन् ।

उनले एमसीसी पारित गराउन लागि परेका दलालहरुले आफूविरुद्ध कुप्रचार गरेको बताएका हुन् । शनिबार (आज) सामाजिक सञ्जाल ट्वीटरमा एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, “मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।”

नेता रावलले आफूले देशभक्तिपूर्ण अडान कहिल्यै नछाड्ने समेत बताएका छन् । उनले थपेका छन्, ‘भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन्, जो कहिल्यै पूरा हुने छैन ।’

शुक्रबार (हिजो) सकिएको नेकपाको स्थायी कमिटी बैठकले परिमार्जनसहित एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

नेता रावलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने भन्दै संशोधन गरेर मात्रै पारित गर्नुपर्ने बताउँदै आएका छन् । बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको एमसीसी कार्यदलले पनि एमसीसी संशोधन गरेर मात्रै पारित गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया