कीर्तिपुरमा घरबेटीको कुटाइबाट डेरावालाकाे मृत्यु

काठमाडाैं । कीर्तिपुरमा घरबेटीकाे कुटाइबाट डेरावालकाे मृत्यु भएकाे छ ।

कीर्तिपुर नगरपालिका ७ बस्ने ६६ वर्षीय प्रेमलाल महर्जनकाे कुटाइबाट उनकै घरमा बहालमा बस्दै आएका बारा, कलैयाका ४८ वर्षीय शम्भु चौधरीकाे मृत्यु भएकाे हाे ।

आज (शुक्रबार) दिउँसो महर्जनले विवादका क्रममा काठको भाटाले हिर्काउँदा शम्भु गम्भीर घाइते भएका थिए ।

केही दिनअघि मात्रै महर्जनको घरबाट डेरा सरेका चाैधरी मापसे गरी महर्जनको घरमा पुगेका थिए । साेही क्रममा उनीहरूबीच विवाद बढ्दा घरधनी महर्जनले भाटाले हिर्काएकाे महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले बताए ।

उनका अनुसार घाइते भएका चाैधरीकाे उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएकाे हाे । अहिले घरधनी महर्जन पक्राउ परेका छन् । पोष्टमर्टम रिपोर्ट आउन बाँकी छ । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया