नेकपामा अब प्रचण्ड कार्यकारी अध्यक्ष, सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (शुक्रबार) बसेको बैठकले कार्यकारी अध्यक्षको अधिकार  पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेकाे छ । बैठक सकिएपश्चात् साे निर्णयबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

अब केपी ओली सरकार र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुनेछन् । सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा आएका सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरिएकाे उनकाे भनाइ छ ।

त्यसैगरी पार्टीलाई विधि र पद्धतिका आधारमा चलाउने र यसअघि भएका कमी कमजोरीलाई सच्याउने पनि सहमति भएकाे  प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

शुक्रबारकाे बैठकमा अष्टलक्ष्मी शाक्य, झलनाथ खनाल, माधव नेपाल, घनश्याम भुसाल, भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, नारायणकाजी श्रेष्ठलगायतले धारणा राखेका थिए ।

आज बसेको बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया