देउवाको कार्यशैली र रवैयाका कारण पार्टी संकटमा पर्दैछ : नेता पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैली र रवैयाका कारण पार्टी संकटमा पर्न लागेको आरोप लगाएका छन् ।

एक टेलिभिजनसँगको कुराकानीको क्रममा नेता पौडेलले सभापति देउवाले अवैधानिक ढंगले पार्टी चलाउन थालेको भन्दै आपत्ति पनि जनाएका हुन् ।

देउवाले समय हुँदासम्म काम नगर्ने र समय घर्केपछि अनेक बहाना गरेर पार्टीलाई अवैधानिकता बनाएको काम गरेकोसमेत नेता पौडेलको टिप्पणी छ ।

समयमा अधिवेशन नगराएकै कारण सबै भ्रातृ संस्थाहरु अवैधानिक रुपमा चलिरहेको भन्दै पौडेलले जसरी हुन्छ संरचना गर्ने सोचका कारण कांग्रेसको अवस्था दयनीय बनेको बताए ।

यस्तै उनले पार्टीलाई लोकतान्त्रिक विधि, पद्धति र व्यवहारबाट चलाउन आग्रह गर्दै सभापति देउवाले जथाभावी गर्न थालेपछि विरोध गर्नु परेको प्रष्टीकरण दिए ।

कांग्रेसको १४औं महाधिवेशन आगामी ७ फागुनमा हुने पार्टी निर्णय छ । यद्यपि पनि सभापति देउवाले कोरोना भाइरसका कारण ७ फागुनमा पनि नहुने संकेत गरिसकेका छन् ।

बरिष्ठ नेता पौडेल पक्ष सभापति देउवाको कार्यशैलीलाई लिएर रुष्ट बन्दै आएको छ । पौडेल पक्षले आफूले सभापतिलाई सच्चिन अल्टिमेटम दिने बताउँदै नसच्चिए जस्तो अवस्थाको सामना गर्न पनि नहट्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया