सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति

काठमाडौं । भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने विभिन्न पाँच बुँदे सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो ।

‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । त्यस्तै, दुवै देशले सीमाबारे गरिएका सहमति र नियमलाई पालना गर्दै सीमामा शान्ति कायम गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने कुनै पनि काम नगर्ने पनि सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

रुसले आयोजना गरेको सांघाई कोओपरेसन अर्गनाइजेसन समिटको साइडलाइनमा दुई नेताबीच छलफल भएको थियो । लाइन अफ एक्चुअल कन्ट्रो (एलएसी) भनिने ३ हजार ४८८ किलोमिटर लामो सीमा क्षेत्रमा भारत र चीनले गत मे महिनादेखि सैन्य उपस्थिति बढाउँदै आएको छ । तनाव बढ्दै गएपछि केही दिन अघि दुई देशको सीमामा सन् १९७५ पछि पहिलोपटक गोली प्रहार भएको थियो ।

प्रतिक्रिया