१६ करोड ७२ लाख अकुत सम्पत्ति आफन्तकोमा लुकाउने इन्जिनियर विरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुप्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुप्ताले २०७६ असार ५ गतेसम्म पदमा बहाल रहँदासम्म गैर कानुनी तवरले सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोजनाका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

आयोगका अनुसार गुप्ताको वैध आय रु एक करोड ११ लाख ६९ हजार ९६२ मात्रै रहेको भए पनि रु १७ करोड ८४ लाख २६ हजार ४५९ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको रकमको स्रोत नखुलेको आयोगको दाबी छ ।

आयोगले गुप्ताका आफन्तहरू अन्जुकुमारी महतो, उदितनारायण प्रसाद रौनियार, चन्द्रेश्वर महतो, धिरजकुमार गुप्ता, प्रीतिकुमारी गुप्ता, डा. रचनाप्रसाद साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली रु १० करोड ४४ लाख ४३ हजार ७८३ बराबरको रकम लुकाई छिपाई राखेको पाइएको छ । उनीहरूको सम्पत्ति जफत गरी हदैसम्मको कारबाही गर्न आयोगले माग गरेको छ ।

 

प्रतिक्रिया