पहिरोसँगै हेलिएका केही थान सपनाहरु…

•रनिता अधिकारी

काठमाडौं । खै भाग्यको खेल भनुँ कि नियति नै यस्तै थियो भनुँ, सानो परिवारमा हुर्किएको म खासै ठूला सपनाहरु बुन्ने बानी थिएन । बाबाको कमाइले हाम्रो सानो परिवार राम्रैसँग चलेको थियो ।

मेरो पढाइ पनि राम्रै चल्दै थियो । तर, यो कस्तो समय आयो, पूरै विश्व नै रुवाउने । म काठमाडौं बसेर पढ्दै थिएँ । बीचमा एक्कासी कोरोनाको कारण सरकारले जताततै बन्दा गरिदियो । त्यसैले म बन्दको समयमा घर आएको थिएँ । घर मेरो बागलुङ जिल्लामा पर्छ । बर्खाको समय त जताततै पानी परी नै हाल्छ । त्यो कुनै नौलो कुरा थिएन ।

समाचार हेर्दा र सुन्दा पानी परेकाले ठाउँ ठाउँमा बाढी पहिरो गएर घर खेत बगाएको सुन्दा मन कति छटपटी त हुन्थ्यो । त्यही समाचारको कारण मेरी आमा धेरै आतिनुहुन्थ्यो । म आमालाई सम्झाउँदै भन्थँे, आमा यो समयको खेल हो के गर्ने नआत्तिनुस्, हाम्रो घर त पहिरोबाट जोगिने ठाउँमा नै छ ।

आमा मेरो सामु मन बुझेको जस्तो त गर्नु हुन्थ्यो । तर, आमालाई भित्रभित्रै पहिरोको धेरै डर थियो । घर पहिरो नजाने ठाउँमा भएकाले मलाई चाहिँ खासै डर लाग्थेन तर, एक दिन यति ठूलो पानी आयो कि मैले कल्पना समेत गरेको थिइनँ ।

यस्तो समय पनि मैले झेल्नुपर्छ भनेर सोचेको पनि थिएन । साउनको महिना थियो पानी पर्ला जस्तो त मौसमले देखाएको थिएन । तर त्यो कहालिलाग्दो रात हाम्रो लागि दशा जस्तै बनेर आयो ।

कल्पना समेत नगरेको घट्न घट्यो शुक्रबार रातिको ११ बजे । आमा आतिएर मेरो कोठामा आउनुभयो मैले आमालाई सम्झाउँदै केही हुँदैन आमा भनीरहेँ । त्यो दिन त मलाई पनि निकै डर लागिरहेको थियो । किन हो किन केही नराम्रो हुन्छ जस्तो थियो । मेरो घर छेउमै रहेको सानो अंकलको घर त पहिराले बगाएछ । सोच्दा पनि कहालिलाग्दो रात अंकलको दुई सन्तान छोराछोरी थिए ।

निकै सुखी र खुसी परिवार थियो । तर, त्यो रात अंकलको चारै परिवारलाई पहिरोले बगाएछ । गाउँका सबै जान राति नै अंकलको घर आएर हामीले अंकलको परिवारलाई खोज्न थाल्यौँ । प्रहरीलाई पनि खबर गरेको केही छिनमै आइपुगे । सबै मिलेर हामीले पहिरोमा पुरिएका अंकलको परिवारलाई खोज्यौँ ।

पहिरोमा पुरिएका भाइबहिनी र अंकलको लास फेला पर्यो । तर, आन्टिको शव फेला पार्न सकेनौं । गाउँले र प्रहरी मिलेर आन्टिको शव फेला पर्ने आशाले पहिरोमा खोजी रह्यौँ । विडम्बना, हामीले आन्टिको शव फेला पार्न सकेनौं ।

त्यो घटनाले गाउँलाई शोकमा डुबाइदियो । कसैले पनि सोचेको थिएन, त्यो कहालिलाग्दो रात हाम्रो गाउँमा पनि आउँछ भनेर । अंकलको कति सपना थियो छोरीलाई सरकारी जागिरे बनाउने ।

त्यसमा भाइलाई एउटा राम्रो प्रहरी अफिसर बनाउने तर, पहिरोसँगै बगेर गए अंकलको ती सपनाहरु ………।

 

प्रतिक्रिया