नोबेल अस्पतालको सबै उपचार सेवा सुचारु

बिराटनगर । पाँच महिना भन्दा बढीको बन्दाबन्दीपछि बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अहिले पुनः बिरामीको चाप बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै देशभर र जिल्ला–जिल्लामा बेग्ला बेग्लै गरिएको लकडाउन र निषेधाज्ञाका कारण अस्पतालमा बिरामीको संख्या न्यून थियो ।

सरकारले देशभर गरेको लकडाउन खुलाउँनुका साथै जिल्ला जिल्लाको निषेधाज्ञा पनि खुल्ने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले जानकारी दिए । ‘कोरोना संक्रमणका कारण केही समय अघि अस्पतालको सेवा पनि प्रभावित भएको थियो ।’ डा.घिमिरेले भने–‘अहिले लकडाउन, निषेधाज्ञा पनि खुलेको र अस्पतालको पनि सबै सेवा सुचारु भएपछि बिरामीको संख्या निकै बढेको छ ।’

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो र स्तरीय अस्पताल मानिने नोबेलमा कोरोना संक्रमणका कारण केही दिन सेवा प्रभावित भएको थियो । तर, अहिले अस्पतालका सम्पूर्ण उपचार सेवा सूचारु भएको छ । ओपीडी र ईमर्जेन्सीबाट सबै उपचार सेवा सुचारु भएपछि बिभिन्न जिल्लाबाट बिरामी आउँने क्रम बढ्न थालेको हो ।

नोेबेल अस्पतालले कोरोनाको जोखिम न्यूनिकरण गर्न उच्च सावधानी अपनाएर उपचार गर्ने वातावरण मिलाएको छ । अस्पतालभित्र बिरामीको भीड व्यवस्थापन गर्न सुरक्षागार्डको तैनाथी बढाउँनुका साथै अनिवार्य रुपमा माक्स र सेनिटाईजर प्रयोगमा कडाई गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

प्रतिक्रिया