कोरोना, मानसिक स्वास्थ्य र मनोविद्को सुझाव

कोरोना भाइरस (काेभिड  १९) भ्रम हो या यथार्थ ?

अहिलेको बहस यसैमा केन्द्रित छ । एक पक्षले यसलाई महामारीका रुपमा व्याख्या गरेका छन् भने अर्को पक्षले यो एउटा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्वभरका मेडिकल माफियाहरुको व्यापार सिद्धान्तका रुपमा व्याख्या गरेका छन् ।

कोही स्वास्थ्य मापदण्डको विरोधमा छन् त कोही कोरोना संक्रमणबाट बच्न यी मापदण्ड पुरा गर्नैपर्ने दाबी गर्छन् । मास्क लगाउ/मास्क नलगाउ । यसले ज्यान लिन्छ/यो एक मामुली भाइरस हो ! विना तथ्य पेस गरिएका यी यावत् बहसले नागरिकको मानसिक स्वास्थ्यमा कस्तो असर पारिरहेको छ त ? यसतर्फ कसैको ध्यान गएको देखिँदैन ।

जारी निषेधाज्ञाले भोक र शोकमा डुबेका नागरिकलाई सहयोग गर्नुका सट्टा उल्टो भाइरल हुने माध्यम बनाइएको छ । आफ्नो पहिचान फैलाउनकै लागि भ्रमको खेती गरी कोरोना संक्रमितप्रति समाजमा घृणा, तिरस्कार बढाएर कयौँलाई आत्महत्या गर्न बाध्य पारिएको छ । कस्ताे असर पार्छ त ?

कोरोना र मानसिक स्वास्थ्य

कोरोनाको त्रासले बालबालिका देखि वृद्धवृद्धासम्मको मानसिक स्वास्थ्यमा असर पार्न थालिसकेको मनोविद् करुणा कुँवर बताउँछिन् । कोरोना महामारीको यो समयमा बढेको डर, त्रासले हिंसा, आत्महत्या, पारिवारिक कलह, क्रोधको कहर  निम्त्याएको उनको भनाइ छ ।

‘कोरोना संक्रमणको यो अवस्थामा कतिले आफ्नो परिवार, आफन्त गुमाएका छन् । मानिसहरुमा डर र त्रासको भावना बढेको छ’, उनले भनिन्, ‘यसले एकोहोरोपन, क्रोध, हिंसा बढाएको छ । यही त्रासको अवस्था लामो समयसम्म रहिरहे भविष्यमा यसले जटिल मानसिक समस्या निम्त्याउन सक्छ ।’

बालबालिकामा कस्तो असर पार्छ त ?

अहिले सामाजिक सञ्जालदेखि रेडियो, टेलिभिजनसम्म कोरोना संक्रमणको त्रास देखिन्छ, सुनिन्छ– ‘यति संक्रमित थपिए । यति जनाको मृत्यु भयो ।’ समाज, परिवारमा पनि यसैको बहस जारी छ । यसले बालबालिकामा दिक्दारी बढ्ने, झर्को मान्ने, तर्सिने, डराउने लगायतका समस्या देखिएको मनोविद् एवम् अब्बल–we कि प्रबन्ध निर्देशक विजया विजुक्छे बताउँछिन् । उनी भन्छिन्– ‘समाजमा भइरहेका कोरोनासम्बन्धी बहसले बालबालिकामा अन्यौलता र दिक्दारी बढेको छ । उनीहरुले अहिले डराउन मात्रै सिकिरहेका छन् ।’

यही तनावको स्थिति पछिसम्म रहिरहे बालबालिकाको वृद्धिविकासमा असर पार्ने उनी बताउँछिन् । अहिले बालबालिका आफैँसँग पनि डराइरहेका छन् । कोरोनाको प्रभावले एउटै गतिमा बगेको सबैको जीवनशैली परिवर्तन भएको छ । यो परिवर्तन सजिलै स्वीकार गर्न सकिएको छैन । पढ्ने शैलीदेखि लिएर खानपान समेत प्रभावित भएको छ ।

पहिले खेल्नुपर्छ, सबैसँग घुलमिल हुनुपर्छ भनेर बालबालिकालाई सिकाइएको थियो । अहिले ठ्याक्कै उल्टो– ‘कसैको नजिक नजाऊ, घरमै बस, कसैसँग नखेल, कसैलाई घरमा नबोलाऊ’ भनेर सिकाइएको छ । अर्को कुरा ‘कतै छोइयो कि’ भनेर आफूले आफैँसँग शंका गर्नुपर्ने अवस्था छ । यी सबै एक्कासी आएका परिवर्तनहरु हुन् ।

यस्ता परिवर्तनले उनीहरु समाज, वातावरण, परिवारसँग डराउन सिकिरहेका छन् । पढ्ने शैलीमा समेत परिवर्तन आएको छ । अनलाइन क्लास नौलो बनेको छ बालबालिकाका लागि, असहज भएको छ ।

‘अहिले अधिकांश विद्यालयहरुले अनलाइन कक्षाहरु चलाइरहेका छन् । लामो समयसम्म टिभी स्क्रिनमा बस्नुपर्ने भएका कारण फिजिकल मुभमेन्ट नहुने भयो’, उनी भन्छिन्, ‘यस्तो अवस्थामा विभिन्न हर्मोनले निकाल्ने रसायनहरु शरीरमा प्रवाह हुन पाउँदैन । यसलेस्वास्थ्यमा नकारात्मक असर पार्छ ।त्यसपछि विस्तारै मानसिक स्वास्थ्यमा पनि असर पर्न जान्छ ।’ तत्कालका लागि मानसिक स्वास्थ्य खासै खस्केको अवस्था छैन तर भोलिका दिनमा उनीहरुको वृद्धिविकासमा असर पर्न सक्ने उनको भनाइ छ ।

समाधानको पाटो

बालबालिकाहरु कोही डराउने हुन्छन्, कोही अटेरी हुन्छन् । कोही ढिलो बुझ्छन्, कोही छिटो बुझ्छन् । उनीहरुको स्वभाव अनुसार अभिभावक र शिक्षकहरुले कोरोना भाइरस र यसले ल्याएको परिवर्तनबारे बताउनु होइन, बुझाउनुपर्छ । आफ्नो रिस, दिक्दारी बालबालिकामाथि पाेख्न नहुने मनाेविद् विजया बताउँछिन् ।

अझ विशेषगरी बालबालिकाहरुले अभिभावकले भन्दा शिक्षकले भनेको मान्ने हुँदा विद्यालयमा नै मनोचिकित्सक ल्याएर बालबालिकासँग मनोपरामर्श गर्नु आवश्यक छ । अहिले पढाइ पनि बन्द रहेको अवस्था छ । बालबालिकाहरु पनि अन्यौलमा छन्, कतिले पढाइमा ध्यान नै दिएका छैनन् । यसले भविष्यमा कस्तो असर पार्छ, यो बुझाएर पढ्न प्रेरित गर्नुपर्छ।

जारी निषेधाज्ञाले खानपानको तौरतरिकामा पनि परिवर्त आएको छ । पोषणयुक्त खानेकुरा भन्दा जंक फुडहरु बढी खाने गरिएको छ । सुताइ, उठाइमा परिवर्तन आएको छ । यो समय बालबालिकाको वृद्धिविकासको समय भएको हुँदा उनीहरुका हरेक क्रियाकलाप सही ढंगले अघि बढाउनुपर्छ । पोषणयुक्त खानेकुरा खुवाउनुपर्छ ।

लकडाउन अवधिमा २ हजार २१८ जनाले गरे आत्महत्या

नेपालमा कोरोना महामारी सुरु भएयता आजसम्म यसको संक्रमणबाट ३१२ जनाको मृत्यु भएको छ । योभन्दा कयौँ गुणा धेरै छ लकडाउन अवधिमा आत्महत्या गर्नेको संख्या । कोरोना जितेर फर्किएका पनि पासो लगाउन बाध्य बनेका थिए, सामाजिक तिरस्कारका कारण । कतिले क्वारेन्टिनमै आत्महत्या गरे ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार लकडाउन सुरु भएको चैत्र ११ गतेदेखि साउन ४ गतेसम्म २ हजार २१८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये बालबालिका मात्रै २३५ जना छन् ।

विष खाएर ३४६ जनाले आत्महत्या गरेका छन् भने आगो लगाएर ४ जना, औजार/हातहतियारबाट ८, हाम फालेर १९, करेन्ट लगाएर १ र डुबेर १२ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी झुण्डिएर १ हजार ८२८ जनाले आत्महत्या गरेका छन्, जसमध्ये बालबालिका २०४ जना छन् ।

प्रहरी प्रवक्ता भन्छन्– लकडाउनमा आत्महत्या बढेको छैन

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार विगतका तथ्यांक हेर्ने हो भने लकडाउन अवधिमा आत्महत्या दर बढको छैन । उनी भन्छन्– ‘लकडाउन अवधिमा आत्महत्या दरमा त्यति धेरै परिवर्तन आएको छैन । कुनै महिनामा तलमाथि हुन सक्छ ।’

कसरी सकिन्छ त आत्महत्या न्युनिकरण गर्न ? सचेतना जगाउन सके आत्महत्या दरमा कमी आउन सक्ने प्रवक्ता एसएसपी कडायत बताउँछन् । ‘आत्महत्याका पछाडि आर्थिक अभाव, पारिवारिक कलह, पढाइमा कमजोरी लगायतका विभिन्न कारणहरु हुन सक्छन्’, उनले भने, ‘यसलाई कम गराउन व्यापक रुपमा जनचेतना जगाउनुपर्छ ।’

त्यस्तै घरभित्रका परिवार, सिंगो समाज नै यसतर्फ सचेत हुन जरुरी छ । मनोपरामर्शको पनि आवश्यकता रहेको उनले बताए । ‘आत्महत्या गर्नुअघि व्यक्तिले के–केस्ता लक्षण देखाउन सक्छन्, कस्तो किसिमका भावना व्यक्त गर्छन्, यी यावत् कुरामा मनोपरामर्शको पनि जरुरी छ । कसैले ती लक्षणहरु, त्यस्ता गतिविधिहरु देखाएमा तुरुन्त प्रहरीलाई खबर गर्ने, आत्महत्या रोक्ने प्रयास पनि गर्न सकिन्छ’, उनले भने ।

सुझाव युनिसेफका

कोरोना भाइरस रोग २०१९ (कोभिड–१९) को बारेमा बालबालिकासँग कसरी कुरा गर्ने ?

१, खुला प्रश्नहरू सोध्नुहोस् र ध्यान दिएर सुन्नुहोस् ।

२, इमान्दारीपूर्वक तथा बालबालिकाले बुझ्ने भाषामा साँचो कुरा बताउनुहोस् ।

३, आफु र आफ्ना साथीहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर उनीहरूलाई सिकाउनुहोस् र देखाउनुहोस् ।

४, बालबालिकाले भेदभाव भोगेको वा फैलाएको छरछैन जाँच गर्नुहोस् ।

५, सहयोग र सकारात्मक पक्ष देखाउनुहोस् । मायाका साथ कुराकानी टुंग्याउनुहोस् ।

कोरोना भाइरस (कोभिड–१९) को यो समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

‘यस्तो बेलामा चिन्ता लाग्नु, अत्यासिनु, निराश हुनु सामान्य कुरा हो । त्यसैले के नाबिर्सिनुस् भने यस्तो अनुभव गर्ने तपाईं एक्लै मात्रै हैन । तपाईंका धेरै साथीसँगीलाई पनि यस्तै लागिरहेको छ ।’

१, चिन्ता र अत्यास लाग्नु एकदम सामान्य हो भन्ने बुझ्नुहोस् ।

२, मन भुलाउने उपाय गर्नुहोस् ।

३, साथीसँगीसँग घुलमिल हुने नयाँ उपाय भेट्टाउनुहोस् ।

४, आफ्नो मनका भावनालाई चिन्नुहोस् ।

५, आफू र अरूप्रति दयालु हुनुहोस् ।

प्रतिक्रिया