विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको ‘खाना वितरण खबरदारी’

काठमाडौं । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्न बाध्य विपन्न मजदुरहरु भोकमरीले छट्पटिन थालेपछि साझा पार्टीले खाना वितरण अभियान जारी गरेको छ ।

भक्तपुरबाट जारी अभियान अहिले उपत्यकाको ललितपूर, काठमाडौं र भक्तपुरको प्रमुख आवश्यकिय क्षेत्रमा जारी छ ।

‘बिहान खाए बेलुका के खाउँ’ भन्ने विडम्बनाबाट गुज्रिरहेका लाखौँको संख्यामा रहेका विपन्नहरु सर्वहाराको जगबाट उदाएको भनिने सरकारले कुनै राहतको कार्यक्रम सञ्चालन नगरेपछि रचनात्मक खबरदारी स्वरुप यस्ता अभियान सञ्चालन गरिएको साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

‘अति विपन्न लक्षित राहत कार्यक्रम घोषणाका लागि सरकारलाई रचनात्मक खवरदारी गर्न साझा पार्टीले जारी गरेको खाना वितरण अभियानले थोरै समयमा यति धेरै प्रतिक्रिया, प्रशंसा र सहयोगी हातहरुको साथ पाउनु पनि विपतमा अभिभावक हुनुपर्ने सरकारको तमासेपारा र निकम्मापनकै कारण हो,’ केन्द्रीय सदस्य परियारको विश्लेषण छ ।

साझा पार्टी खाना वितरण अभियानका अभियन्ता कपीलदेव कर्माचार्य भन्छन्, ‘भोका निमुखालाई सेवा गर्न पाँउदा आनन्द त आँउछ, तर सरकारको बेवास्ता देख्दा बिद्रोही बनाउँछ। हाम्रो पहल सकारात्मक दवाब र मानवीयतानै मुख्य हो ।’

यसैबीच साझा पार्टीले ललितपुरमा विवेकशील नेपाली दलसँग मिलेर सञ्चालन गरेको ‘तातो भात’ अभियान प्रभावकारी बन्दै गएको साझा पार्टीका ललितपुर संयोजक उज्जवलकृष्ण श्रेष्ठले बताएका छन् ।

खाना वितरण अभियान अन्तर्गत भक्तपुरको च्यामासिंह , कमलबिनायक, सुर्य विनायक, गठ्ठाघर, पुरानो ठिमि र कौशलटारमा विहानो १० बजे र साँझको ५ बजे सञ्चालन भईरहेको साझा अभियन्ता रोशन वस्नेतले जानकारी दिएका छन। बुधबार बानेश्वर र स्वयम्भूबाट शुरु काठ्माडौंको अभियान बिहीबारबाट चावहिल, सिनामंगल र भत्केकोपुलमा पनि विस्तार गरिएको साझा अभियन्ता चोकराज घिमिरेले जानकारी दिए ।

उपत्यकामा मात्रै निर्माण कार्यमा आवद्ध अढाई लाख मजदुर, अनौपचारिक क्षेत्रमा श्रम गर्ने २९ हजार कामदार, रिक्सा मजदुर, भरिया जस्ता दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्नुपर्ने हजारौँको संख्याका मजदुरहरु अहिले एक छाक टार्न धौधौको अवस्थावाट तड्पिरहेका छन् ।

प्रतिक्रिया