सुनसरीमा कोरोना संक्रमित राख्न ९७५ वेडको आइसोलेसन तयार

सुनसरी । जिल्लामा कोरोना संक्रमितलाई राख्न ९ सय ७५ वेडको आइसोलेसन तयार भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताएका छन् । संक्रमितको बढेपनि निको हुनेको संख्या समेत थपिदै गएकाले कोरोना भाइरसको अवस्था जिल्लामा भयावह भने नरहेको बताउँदै जिल्लाका विभिन्न स्थानमा आइसोलेसन वेड तयार गरीएको बताए ।

प्रजिअ पोखरेलका अनुसार सुनसरीमा अहिले सम्म २४ हजार जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । जसमध्ये १ हजार ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित मध्ये ६ सय ९ जना विभिन्न आइसोलेसनमा रहँदा ४ सय १७ जना निको भएका छन् । सुनसरीमा ६ जनाको मृत्यु भएको प्रशासनले जनाएको छ ।

प्रशासनले एउटै वडामा एकसाथ ठलो संख्यामा संक्रमित देखिएकाले तत्कालका लागि इनरुवाको वडा नम्बर ५ सिल गर्नु परेको जनाएको छ । सुनसरी प्रशासनले लक डाउन केही खुकुलो गरी बजार पसल दिउँसो २ बजेसम्म खोल्ने व्यवस्था मिलाइएको जनाएको छ । जसमा स्वास्थ्य सावधानी अनिवार्य गरिएको प्रशासनले जनाएको छ । जसकालागि अनुगमन टोली परिचालित रहेको प्रशासनको भनाई छ ।

जिल्लामा रहेको क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुमा विभिन्न तह र तप्काबाट साथ र सहयोग प्राप्त भैरहेको बताएको प्रशासनले सबैको सहयोगमा कोरोना रोकथाम तथा नियन्त्रणमा लागिपरेको जनाएको छ । प्रजिअ पोखरेलका अनुसार सुनसरीको भोक्राहामा एक सय वेडको क्वारेन्टिन जिल्ला प्रशासन कार्यालय मातहत सञ्चालनमा रहेको छ ।

त्यसैगरी प्रदेश सरकारको सहयोगमा रामानन्द सेवा पिठ चतरामा एक सय वेड, अस्थायी कोभिड अस्पताल धरानमा १ सय ५० वेडको आइसोलेसन, नयाँ बसपार्क इनरुवामा प्रहरीका लागि २५ वेडको आइसोलेसन सञ्चालनमा रहेको सुनसरी प्रशासनले जनाएको छ ।

त्यसैगरी प्रशासनले दिएको जानकारी अनुसार हरियाली पार्क धरानमा ५० वेड, रा.वा.बैंक दुहवी गोदाममा २ सय वेड, इटहरी रंगशाला २ सय वेड, कृषि तालिम केन्द रामधुनी ५० वेड, गढदेव सामूदायिक भवन गढी ५० वेड र भगवती मावि इनरुवाको ५० बेड तयार पारिएको छ । इनरुवा र इटहरीको आइसोलेसन सञ्चालनको अन्तिम तयारीमा रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया