ठुलो परिमाणमा लागू औषध बरामद, तीन कारोबारी पक्राउ

काठमाडौँ । ठुलो परिमाणको लागू औषधसहित तीन कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, बाह्रबिसे –०७का विष्णु प्रधान, सोही ठाउँका डम्बर बहादुर प्रधान र सिन्धुपाल्चोकको भोटेकोशी–०५ का शंकर खड्का रहेका छन् ।

उनीहरूको साथबाट डाईजापाम २९५० एम्पुल, नाईट्रोभेट ३००० एम्पुल, प्रोमाथाजाइन २९५० एम्पुल, बरुपेनोर्फिन–१५०० एम्पुल र नूफिन १४०० एम्पुल अवैध लागू औषध बरामद भएको छ ।

महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर, भक्तपुर समेतबाट खटिएको संयुक्त टोलीले मङ्गलवार बिहान सल्लाघारी स्थित अरनिको राजमार्गको दक्षिण तर्फको किनाराबाट ना.३ ख.९८९ नं.को कन्टेनरसहित दुईजना कारोबारीलाई पक्राउ गरेको हो । कन्टेनरको चालकको सिट मुनी रहेको जेब्रा झोला थान–१ र चालक सँगैको सिट मुनि रहेको जेब्रा झोला थान–१ गरी २ थान जेब्रा झोला फेला पारी खानतलासी गर्दा ठुलो परिमाणमा लागू औषध फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूसँग उक्त लागू औषध कारोबार गर्ने कार्यमा संलग्न रहेका शंकर खड्कालाई काठमाडौँको बुढानिलकण्ठ एरियाबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको छ।

 

 

प्रतिक्रिया