माेटाे रकमसहित तास खेल्ने ६ जना र लागू औषधसहित ३ जना पक्राउ

काठमाडाैं । प्युठान नगरपालिका-४ मित्रमणी चोकस्थित होटलबाट तास खेलिरहेको अवस्थामा नगद ८६ हजार ५ सय रुपैयाँ सहित ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठान र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै सुनसरीकाे कोशी गाउँपालिका-५ मुसहरी टोलबाट नियन्त्रित लागूऔषध ६ सय १६ पिस स्पास्मो, २० पिस नाईट्रोजन र २२ एम्पुल डाइजेपाम सहित सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय ईक्राबुल मन्सुरी लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी धादिङ, गजुरी गाउँपालिका-२ मजुवाडाँडास्थित सडकबाट ५ किलो अवैध लागूऔषध गाँजा सहित खोटाङ झाल्टाङ गाउँपालिका-७ बस्ने सुमन कार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले प्र-०२-०११ प ४३५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार कार्कीलाई पक्राउ गरेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








