प्राविधिक शिक्षा लिएर धेरै पैसा कमाउने सोचमा हुनुहुन्छ ? यी हुन् नेपालमा पढाई हुने २९ विषय

काठमाडौँ । एसइईको नतिजा आएको पनि १ महिनाभन्दा धेरै भइसकेको छ । अब प्राविधिक शिक्षा कसरी प्रदान गर्ने भनेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छलफल सुरु गरेको छ ।

नेपालमा शैक्षिका बेरोजगार धेरै छन् । पछिल्लो समय एसइई पनि प्राविधिक शिक्षाप्रति चासो बढ्दै गएको छ । प्राविधिक शिक्षा लिएर सजिलै रोजागारी पाउने र राम्रो पैसा कमाई हुने गरेको छ ।

प्राविधिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुले विद्यार्थीको नाम संकलन गर्न थालेका छन् । एसइईको परीक्षाफल प्रकाशित भए पनि हाल कोरोना भाइरसको महामारी छ । यही महामारीमा कसरी प्राविधिक शिक्षा प्रदान गर्ने भनेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छलफल सुरु भएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का प्रवक्ता अनोज भट्टराईले बताए ।

प्राविधिक शिक्षा लिएपछि सजिलै जागिर पाउने विषय कुन हो भनेर सोचिरहनु भएको छ ? कुन विषय अध्ययन गर्ने भन्ने अन्यौलमा पर्नुभएको छ ? वा प्राविधिक विषय अध्ययन गर्न चाहानुहुन्छ ? यदि हो भने अब प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मार्फत् आफूले प्राप्त गरेको ग्रेड अनुसार २९ वटा विषय अध्ययन गर्न सकिने छ ।

स्वास्थ्य, इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय अध्ययन गर्न पाइने छ । यी कार्यक्रमको अवधि १८ महिने र ३ वर्षे हुने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभीटी)का प्रवक्ता अनोज भट्टराईले जानकारी दिए । उनका अनुसार एसईईपछि अध्ययन गर्न सकिने प्राविधिक कोर्ष विभिन्न अवधिको हुने छन् । माथिल्लो तहको अध्ययनमा अघि बढ्न सकिने र मध्यमस्तरको जनशक्तिको मान्यता पाउने तीन वर्षे डिप्लोमा पनि पढ्न सकिन्छ ।

प्राविधिक शिक्षा दुई र तीन महिने, १० महिने, १८ महिने पनि हुन्छ । अरू तालिमबाट सीप मात्र सिकिन्छ । यी छोटा अवधिका तालिमले माथिल्लो तहको स्नातक पढ्न भने पाइन्न । तीनवर्षे डिप्लोमा तह कोर्ष पढेपछि भने उच्च शिक्षा अध्ययनको अवसर पनि पाइन्छ ।

इञ्जिनियरिङतर्फ के के छन् विषय ?

इञ्जिनियरिङ सम्बन्धित कार्यक्रममा १२ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डीसनिङ रहेका छन् । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्युनतम सि ग्रेड र अंग्रेजीमा न्युनतम डी प्लस ग्रेट हुनु पर्नेछ ।

स्वास्थ्यसँग सम्बन्धित कुन कुन विषय पढ्न पाइन्छ ?

स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा १० वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा प्रमाणपत्र तहको नर्सिङ, नेत्रविज्ञान, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर एण्ड अकुप्रेसर तथा डिप्लोमा इन फार्मेसी र डिप्लोमा इन फिजियोथेरापी पढ्न सकिन्छ । प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्यतर्फका सम्पूर्ण कार्यक्रमका लागि अंग्रेजी, गणित र विज्ञानमा न्युनतम सी ग्रेड र जीपीए २ अंक प्राप्त गरेको हुनुपर्ने छ ।

कृषि तथा वनविज्ञानमा के के छ ?

कृषि तथा वनविज्ञानसँग सम्बन्धित कार्यक्रमा ४ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री छन् ।
डिप्लोमा तहका कृषि, फुस्डेरी टेक्नोलोजी र फरेष्ट्रिका लागि अंग्रेजी, गणित र विज्ञान मध्ये कुनै २ विषयमा न्यूनतम सी र कुनै एक विषयमा न्यूनतम डी प्लस ग्रेड आएकाले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमा होटल म्यानेजमेन्ट विषयको पनि अध्ययन गर्न सकिनेछ । जसका लागि अंग्रेजी, विज्ञान र गणितमा न्युनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ ।

सोसल वर्कतर्फ डिप्लोमा इन इन्टरप्रेनर्शिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वर्क्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनुपर्नेछ । व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना लिन आधार तयार पार्ने काम सुरु गरेको गरेको छ । तीनवर्षे डिप्लोमा तह अध्ययन गर्न कम्तीमा २ जीपीए ल्याउनु पर्ने हुन्छ ।

सिटिईभीटीमार्फत् संचालित आंगिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र नीजि स्तरबाट सञ्चालित शैक्षिक संस्थामा कक्षा संचालन हुनेछन् । सबै गरेर १०४२ शैक्षिक संस्था सञ्चालनमा रहेका छन् । जसमा लामो तथा छोटो गरी लगभग ७४ हजारभन्दा धेरै अध्ययन गर्न सक्ने क्षमता भएको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।

प्राविधिक शिक्षा लिएपछि बेरोजगार बस्नु पर्दैन । प्राविधिक शिक्षा लिएकाहरुले राम्रो पैसा कमाई गर्ने गरेका छन् । पछिल्लो समय गाउँगाउँमा प्राविधिक शिक्षाको फाइदाहरुबारे ज्ञान बढ्न थालेपछि अध्ययन गर्नेहरुको संख्यामा पनि वृद्धि हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *