पैसा अभावका कारण उठ्न सकेन शव

धरान । गत भदौ १९ गते नोबेल अस्पतालमा मृत्यु भएका ६८ वर्षीय सनमान (आछामी) सार्कीको शव पैसाको अभावका कारण उठ्न सकेको छैन । खोटाङ घर भई हाल सप्तरी, महुली वडा नं ६ मा बस्दै आएका आछामीको उपचारमा अस्पताल प्रशासनलाई तिर्न बाँकी ५ लाख र औषधि बापत फार्मेसीको ६ लाख तिर्न नसक्दा शव उठ्न नसकेको हो।
गत चैत ३ गते ब्लड प्रेसरका कारण ढलेका उनलाई धरानको बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको भए पनि । टाउकाको नशा फुटेको कारण उनलाई दुई दिन पछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याएको थियो। करिब एक महिना आइसियुमा राखिएका आछामीलाई भदौ १९ गते डाक्टरले मृत घोषणा गरेका थिए।
हाल मृतकको शव नोबेल अस्पतालको मर्चरीमा राखिएको छ । मिस्त्री काम गर्ने मृतका छोरा नवीन अछामीलाई अस्पतालले फायल क्लियर गर्नुस् भनेर दबाब दिइरहेको पीडित नवीनले बताएका छन् ।
त्यस्तै उनले फार्मेसीको पैसा तिर्न नसकेपछि उनको घर हेर्न समेत पुगेका थिए फार्मेसी सञ्चालक । केही नभएको परिवार हो भन्ने बुझेपछि दबाब नदिएको नबिनले बताए । मृतकका कान्छा छोरा वडामा सहयोगको माग गर्न गएका छन् भने बेरोजगार आमा र बहिनी घरमै बिलौना गरिरहेको छ।
हालसम्म उनको उपचारमा १३ लाख खर्च भई सकेको बताइएको छ । आफन्तसँग लिएको ऋण ९० हजारसहित २ लाख खर्च भइसकेको छ । अस्पताल र फार्मेसीको तिर्न बाँकी ११ लाख कसरी तिर्नु विकल्प नभएकोले हारगुहार गर्नु परेको मृतकका जेठा छोरा नबिनले पीडा सुनाए ।








