बीपी प्रतिष्ठानका ३ कर्मचारीसहित ४ जनामा कोरोना संक्रमण

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ३ कर्मचारीसहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरानका एक सुन व्यवसायी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारी गरी चार जनामा कोरोना संक्रमणपुष्टि भएको हो ।
आज धरान–२ निकेतन गल्ली घर भएका ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताए । उनको धरान २ रत्न रोडमा सुन पसल रहेको छ । उनमा एक सातादेखि ज्वरो आउने, टाउको दुख्ने समस्या भएपछि दुई दिन अघि स्वाब संकलन गरिएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै वीपी प्रतिष्ठानमा सर्जरी युनिट २ मा कार्यरत ४० वर्षिया एक र ३८ वर्षिया दुई जना गरी ३ हेल्थ एडमा संक्रमण पुष्टि भएको मेहताले बताए । ४० वर्षीया हेल्थ एडको धरान १५ महादेव चोकमा घर भएको र उनीहरू बीपीको क्वारेन्टिनमा रहेको र प्रतिष्ठानमा नै स्वाब लिइएको थियो । यो सँगै धरानमा कूल संक्रमितहरुको संख्या २ सय ७ पुगेको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुष गरी ४ जना नै मोरङका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका २७ जना र अन्य १२ जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ३१ पुरुष गरी आज थप ५४ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरका १४ महिला १४ पुरुष, पथरी शनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला ६ पुरुष, धरानका ४ महिला १ पुरुष, झापाको दमकका १ महिला २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, ईलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ७९ पुगेको छ ।
प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । उनीहरू सबै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज सम्म ९७ हजार २ सय २१ जनाको कोरोना परीक्षण गरिएको छ ।









