उपत्यकामा काेराेना संक्रमण बढ्दै : नियन्त्रणका लागि के गर्दैछ ललितपुर महानगरपालिका ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व नै शिथिल छ । नेपालमा पनि यसको प्रभाव गहिरो प्रभाव देखिन थालेको छ । कोरोनाको सुरुवाती चरणमा सुरक्षित मानिएको उपत्यकामा समेत पछिल्लो समय संक्रमण बढिरहेको छ । उपत्यका कोरोनाको ‘हटस्पट’ बन्न सक्ने समेत विज्ञहरुले चेतावनी दिइरहेका छन् ।

आज (शुक्रबार) मात्रै उपत्यकामा ४१५ जना थपिए, जसमध्ये ललितपुरका ११ जना छन् । योसँगै त्यहाँ संक्रमित संख्या ५८२ पुगेको छ । बिहीबार बिहानसम्म ललितपुर महानगरपालिकाभित्र मात्रै ३३५ जना संक्रमित छन् । जसमध्ये २०४ जना डिस्चार्ज भइसकेका छन् भने हाल १३१ जनाको उपचार चलिरहेको छ । यीमध्ये ६४ जना हाेम आइसोलेसनमा छन् भने ४ जना होटलमा र ४३ जना विभिन्न अस्पतालको आइसोलेसनमा छन् । ६ जनाको मृत्यु भइसकेको छ ।

संक्रमणको जोखिम बढिरहेको यो अवस्थामा ललितपुर महानगरपालिकाले के कस्तो योजना बनाएको छ त नियन्त्रणका लागि ? व्यवस्थापन कसरी भइरहेको छ ? भावी योजना के छन् ? संक्रमणको अवस्था कस्तो छ ? लगायतका विषयमा ललितपुर महानगरकी उपमेयर गीता सत्यालसँग मकालु खबरले राखेको १२ जिज्ञासाः

कोरोना सन्दर्भमा उपत्यकालाई सुरक्षित मानिएको थियो, तर अहिले संक्रमण बढिरहेको छ । यसरी संक्रमण बढ्नुको कारण के हो ? उपत्यकामा जोखिम बढेको हो ?

चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन अन्त्य नहुँदासम्म संक्रमित संख्या कम थियो । जोखिम पनि बढेको थिएन । जब लकडाउनसँगै रोजगारी खुल्यो तब बाहिरी जिल्लाका नागरिकहरु पनि उपत्यकामा जम्मा भए । खुल्ला रुपमा हिँड्डुल पनि बढ्यो । यसकारण उपत्यकामा संक्रमण बढेको हो ।

डब्लुएचओले पनि नेपालमा भर्खरै कोरोनाको सुरुवात भएको र स्थिति अझै भयावह बन्न सक्ने चेतावनी दिइरहेको छ । अहिलेकै अनुपातमा संक्रमित संख्या बढ्दै जाने हो भने विकराल परिस्थिति सिर्जना हुन सक्छ !

उपत्यकामा पनि समुदायस्तरमा संक्रमण फैलिएको आँकलन गर्न थालिएको छ, ललितपुरको अवस्था कस्तो छ ?

अहिलेको सिनारियो हेर्ने हो भने कोरोना समुदायस्तरमा फैलिसकेको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले त यसबारे पुष्टि गरेको छैन । तर ट्राभल हिस्ट्री नभएका, घरबाट बाहिर ननिस्किएकालाई समेत संक्रमण देखिएको छ । यसबाट प्रष्ट भन्न सकिन्छ, उपत्यकामा समुदायस्तरमै संक्रमण फैलिसकेको छ !

संक्रमण फैलन नदिन महानगरपालिकाले के कस्ता कार्यहरु गरिरहेको छ त ?

ललितपुर महानगरपालिकामा संक्रमित नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरु गरिरहेका छौँ । कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउन पाँचवटा ग्रुप नै बनाएका छौँ, अझै थप्दै छौँ । यो ग्रुपमार्फत् दैनिक आएका केसहरु पछ्याउँछौँ । त्यही अनुसार अनुसन्धान गरी कन्ट्याक्ट ट्रेसिङको दायरा बढाइरहेका छौँ ।

त्यस्तै हरेक वडाहरुमा केसहरु फलो गरिरहेका छौँ । वडा, टोलहरु सबै डिसइन्फेक्सन गरिरहेका छौँ । वडा सदस्य, कर्मचारी र स्वयम् सेवकहरुलाई कन्ट्याक्ट ट्रेसिङ कसरी गर्ने भनेर अभिमुखीकरण समेत गरिरहेका छौँ ।

कति संक्रमित धान्न सक्छ ललितपुरले अब ?

भयावह स्थिति आयो भने त महानगरपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । हिजो पनि सिडियो कार्यालयमा बैठक बसेका थियौँ । त्यहाँ पनि मैले यही विषय उठाएको थिएँ । भर्खरै नेपालमा कोभिड १९ सुरु भएको छ । हिजो मात्रै अत्याधिक १ हजार १११ जनामा संक्रमण देखिएको छ । आज पनि ९२७ संक्रमित थपिए ।  यो भयावहकै संकेत हो ।

अब उपयुक्त ठाउँ पहिचान गरी सल्लाह गरेर तुरुन्तै आइसोलेसन थप्नतिर लाग्नुपर्छ । लक्षण देखिएकालाई एक ठाउँमा र लक्षण नदेखिएकालाई अर्को ठाउँमा राख्ने व्यवस्था गर्नुपर्छ । कतिपय डेरामा बसिरहनु भएको छ, उहाँहरुका लागि होम आइसोलेसन उपयुक्त हुँदैन । त्यसकारण जतिसक्दो छिटो यसबारे निर्णय गर्नुपर्छ ।

उपत्यकाका आइसोलेसनका अवस्थाबारे पनि धेरै टिप्पणी हुने गरेका छन्, ललितपुरको अवस्था कस्तो छ ?

यहाँको आइसोलेसन, क्वारेन्टिन डब्लुएचओको मापदण्ड अनुसारकै छ । क्वालिटीको हिसाबमा हेर्ने हो भने ललितपुर महानगरपालिका उत्कृष्ट छ ।

नागरिक स्तरबाट कतिको सहयोग पाउनु भएको छ, कोरोना नियन्त्रणमा ?

निषेधाज्ञा जारी रहेको अवस्था छ । नागरिकहरु डराइरहेका छन् । तथापि काम नभएपनि बाहिर के छ अवस्था भनेर हेर्न जाने प्रक्रिया अलि बढेको हो कि जस्तो लागेको छ । अब कडाभन्दा कडा तरिकाले निषेधाज्ञा पालना गर्न लगाउने र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने वातावरण बनाउनेबारे पनि छलफल भइरहेको छ ।

हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ ।

नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रुपमा परिपालन गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । यसमा नागरिक जिम्मेवार हुनैपर्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कौँ । नत्र घरैमा सुरक्षित बसौँ ।

निषेधाज्ञाको विकल्प सोच्नुभएको छ कि छैन ?

निषेधाज्ञा, लकडाउन उत्तम विकल्प त हुँदै होइन । लकडाउनले डिप्रेशन, फ्रष्ट्रेसन बढेको छ । ललितपुरमा हालसम्म ४४ जनाको मृत्यु भएकोमा कोरोना संक्रमणबाट निधन संख्या ६ मात्रै छ । यसले कोरोना भन्दा भोक र शोकले नागरिकको ज्यान जोखिममा परेको पनि आँकलन गर्न सकिन्छ ।

यसर्थमा लकडाउन समाधान होइन, तर नगरी पनि भएको छैन । त्यसैले अब जनतामा स्वास्थ्य मापदण्डबारे सचेतना जगाएर विस्तारै यसलाई फेरि खुकुलो बनाउँदै जानुपर्छ । भौतिक दुरी कायम गरेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ?

यसबारे यकिनसँग भन्न सकिँदैन । अहिले १७ गतेसम्म निषेधाज्ञा जारी छ । कोरोनाको केस यही अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । यसबारे स्थानीय तहका जनप्रतिनिधिहरु सबै बसेर छलफल गर्नुपर्छ । कति दिनसम्म बढाउनुपर्छ या १७ गतेपछि खुल्ला गर्न पनि सकिन्छ कि भन्ने कुरा छलफल गर्दैछौँ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग कसरी समन्वय गरिरहनु भएको छ ?

हाम्रो महानगरपालिकाको स्वास्थ्यकर्मीसँग हिजो पनि बैठक बस्यौँ । पीसीआर रिपोर्टको नतिजा २४ घण्टाभित्र कसरी उपलब्ध गराउन सकिन्छ, कन्ट्याक्ट ट्रेसिङलाई चुस्त कसरी बनाउने यी यावत् कुराहरुमा हामीले छलफल गरेका छौँ । संक्रमणको अवस्था पनि बुझिरहेका छौँ ।

अर्को कुरा आफ्नो ज्यान जोखिममा मोलेर अहोरात्र खटिरहनु भएको स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेका कुराहरु आएका छन् । यसको म घोर भर्त्सना गर्दछु । संक्रमितको उपचार गर्दागर्दै उहाँहरु संक्रमित हुनुभएको हो । उहाँहरुमाथिको दुर्व्यवहार निन्दनीय छ ।

त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरुसँग पनि बैठक, छलफल भइरहेको छ । उहाँहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई निषेधाज्ञा पूर्ण रुपमा पालना गराउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरुको योगदानको प्रशंसा गरेर सकिँदैन । उत्कृष्ट छ । आइसोलेसन, क्वारेन्टिनमा पनि उहाँहरुले समन्वयकारी भूमिका निभाइरहनु भएको छ ।

कोरोना नियन्त्रणमा महानगरपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौति के छन् ?

चुनौति र समस्या त धेरै नै छन् । पहिलो कुरा त महानगरपालिकामा पर्याप्त मात्रामा कोरोना परीक्षण गर्न सकिरहेका छैनौँ, यो ठुलो चुनौति हो । अर्को आइसोलेसन, क्वारेन्टिनको व्यवस्थापन महानगरपालिकाले आफ्नो क्षमता अनुसार गरिरहेको छ । तर पर्याप्त मात्रामा याे अपुग छ । केन्द्रिय सरकार र प्रदेश सरकारले समन्वय गरेर यसलाई बढाउनुपर्छ ।

तत्काल रिपोर्ट नआउने हुँदा हामीले कहाँ के भयो तुरुन्तै थाहा पाउन सकिरहेका छैनौँ । समुदाय नै अन्यौलमा हुन्छ । एउटा रिपोर्ट आउनै एक हप्ता लागेपछि त संक्रमण झन् फैलन सक्छ । त्यसकारण चुनौती धेरै छ । ती चुनौतीहरुलाई महानगरपालिकाले सामना गरेर अगाडी बढ्नुपर्ने अवस्था छ ।

सरकारबाट कतिको सहयोग पाउनुभएको छ ? समन्वय कतिको छ ?

अहिले स्थानीय तहले गरेका निर्णयहरु स्थानीय तहमा कार्यान्वयन गर्नका लागि सहज छ । तर केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय धेरै कुराहरुमा नभइदिँदा स्थानीय तहले गरेका निर्णयहरु पटक पटक फेरबदल भइरहेको हुन्छ । तीनै तहमा एकरुपता भयो भने सहज र सरल ढंगबाट अघि बढ्न सकिन्छ ।

संक्रमण अझै बढ्न सक्छ भनिएको छ, यो नियन्त्रणमा भावी योजना कस्तो बन्दैछ ?

अघिपनि भनेँ, भर्खरै सुरुवात भएको छ नेपालमा । यसले भयावह अवस्था सिर्जना गर्छ नै । यसलाई नियन्त्रण गर्नका लागि पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो । मास्कहरु लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गर्ने । भीडभाडमा जानु हुँदैन । नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ ।

स्थानीय तहले पनि पीसीआर र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ केसहरु देखिएका छन् त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने योजना बनाएका छौँ । त्यस्तै आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रुपमा अघि बढ्छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *