‘मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन र पार्टीभित्रको मनपरीतन्त्रविरुद्ध हो’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई आउँदो महाधिवेशनदेखि हटाउने चेतावनी दिएका छन् ।

कृयाशिल सदस्यता वितरणलगत्तै १४औं महाधिवेशनको मिती सार्नु सभापतिको असफलता भएको बताउँदै नेता कोइरालाले राणा र राजा फालेजस्तै सभापति देउवालाई पनि आउँदो महाधिवेशनबाट फाल्ने चेतावनी दिएका हुन् ।

“राणालाई भगायौं । राजालाई भगायौं । अब शेरबहादुरजी पनि जानुहुन्छ ।” नेता कोइरालाले प्राइम टेलिभिजनसँगको कुराकानीमा भनेका छन्, ‘नेपाली कांग्रेसभित्र बहुमतको आड पाएर शेरबहादुरजीले मनपरीतन्त्र चलाउँदै हुनुहुन्छ ।’

यस्तै नेता कोइरालाले नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्य र लोकतन्त्रको सुदृढिकरणका लागि भएकोसमेत जिकिर गरे । उनले थपेका छन्, ‘अहिले नेपाली कांग्रेसभित्र निरंकुशतापन पाउन थालिएको छ । त्यसको अन्त्य गर्नुपर्छ । यो शेरबहादुरजीबाट सम्भव छैन ।’

पार्टी सभापतिले पार्टीभित्र जथाभावी मनपरीतन्त्र गर्न नहुनेसमेत नेता कोइरालाले औंल्याए । ‘उहाँले विधि र विधान तोड्दै हिँड्नुभएको छ । जिल्लामै नचिनेकाहरुलाई विभिन्न विभागहरुमा मनोनित गर्दै आउनुभएको छ ।’ उनले भने ।

यसैगरी पार्टीभित्र सभापतिका कारण आन्तरिक लोकतन्त्र नरहेको टिप्पणी गरेका नेता कोइरालाले सभापतिलाई आम कार्यकर्ताले नबुझेको बताए ।

यसैबीच उनले आफूलाई सभापतिको भन्दा पार्टीलाई संगठित बनाउने, गूट उप-गूटको प्रवृत्तिलाई अन्त्य गर्दै पार्टीलाई मुलुककै ठूलो पार्टी बनाउने आफ्नो चाहना भएको बताए ।

नेकाका नेता डा. शेखर कोइराला। तस्वीरः प्राइम टेलिभिजन

यस्तै उनले आफूले सभापति चुनाव लडेरै जित्ने पनि बताए । ‘म चुनाव लडेरै जित्ने हो । मलाई कसैले दिनु पर्दैन । हामी सबै मिलेर यसपटक पार्टीभित्रको मनपरीतन्त्रलाई परास्त गर्नेछौं । मेरो अनुभव र युवाहरुको ऊर्जाले नेपाली कांग्रेसलाई नेपालकै शक्तिशाली पार्टी बनाउने छु ।’ उनले भनेका छन् ।

स्थानीय तहमा ६०, प्रदेशमा ५० र केन्द्रमा ४० प्रतिशत युवाहरु आफ्नो समर्थनमा रहेका बताएका उनले आफ्नो उम्मेदवारी कांग्रेसभित्र भइरहेको मनपरीतन्त्रविरुद्ध भएको थाहा दिए ।

उनले भने, ‘मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउनका लागि हो । पार्टीभित्र भइरहेको मनपरीतन्त्रविरुद्ध हो । म पार्टीका जिल्लादेखि केन्द्रसम्मका समितिलाई जवाफदेही र उत्तरदायी बनाउन लाग्नेछु ।’

यस्तै उनले आफू सभापति भएको खण्डमा कांग्रेसभित्र रहेको ६०/४० को राजनीतिक प्रवृत्तिको अन्त्य गर्नेसमेत बताए ।

‘सीसीएमसीको नेतृत्व प्रधामन्त्रीले लिनुपर्छ’
यसैबीच नेता कोइरालाले कोभिड १९ क्राइसिस मेनेजमेन्ट् सेन्टर (सीसीएमसी)को नेतृत्व प्रधानमन्त्री स्वयंले लिनुपर्ने बताएका छन् ।

कोरोना महामारीकै लागि केही दिन संसद चलाउनुपर्ने बताएका नेता कोइरालाले सीसीएमसीको नेतृत्व प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।

‘सीसीएमसीको नेतृत्व प्रधानमन्त्री स्वयंले लिनुपर्छ । आफैँले जिम्मेवारी लिएको खण्डमा अरुलाई जोगाउनको लागि लागिँदैन । अहिले त प्रधामन्त्रीजीले आफ्नो मान्छेहरुलाई जोगाउनको लागि लागिराख्नुभएको छ ।’ उनले भनेका छन् ।

यसैगरी उनले ४ दिन संसद चलाएर त्यहाँबाट आएका सुझावहरुलाई सम्बोधन गरेर संसदीय समितिहरु प्रदेशगत अनुगमणमा जानुपर्ने र जनताको दुःख बुझ्नुपर्ने बताएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *