प्रेस्क्रिप्सन विना ३ हजार प्रोक्सिभन प्लस क्याप्सुल सहित एक जना पक्राउ

धरान । सुनसरीको धरानमा लकडाउनको बेला पनि लागुऔषध बिक्री बितरण भईरहेको पाईएको छ । आज बिहिबार डाक्टरको प्रेस्क्रिप्सन विना नै बिक्री गर्न नमिल्ने स्मास्मो प्रोक्सिभन प्लस नामको औषधी घरमा अवैध रुपमा राखेर बिक्री गर्ने एक युवा धरानबाट पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।
पक्राउ पर्नेमा धरान १५ गणतन्त्र बस्तीका ३७ बर्षीय राज कुमार चौधरी रहेका छन् । चौधरीलाई ईलाका प्रहरी कार्यालय धरानले हिजो (बुधबार) पक्राउ गरी आज सार्वजनिक गरेको हाे ।
प्रहरीका अनुसार पक्राउ परेका चौधरीको साथबाट स्पास्मो प्रोक्सिभन नामक लागु औषध ३ हजार क्याप्सुल फेला परेको छ । पक्राउ परेका चौधरीलाई थप कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।
बस्नेतका अनुसार चौधरीले घरमा प्रतिबन्धित औषधी राखेर दुरुपयोग गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरी तलासी गर्दा कोठाभित्र सो मात्रामा लागु औषध फेला परेको थियो । चौधरीको कोठामा टिनको बाकसमाथि रहेको वुफर भित्र लुकाई राखेको अवस्थामा सो लागु औषध वरामद भएको हो ।
प्रक्राउ परेका चौधरीलाई लागु औषध कारोबार मुद्धामा कार्वाही हुने ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।









