कोभिड–१९ को समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

काठमाडौं । यसै पनि किशोरावस्था सजिलो समय हैन, तर यो कोरोना भाइरसको समय त झनै अप्ठ्यारो छ । स्कुल बन्द गरिएका छन्, इभेन्टहरू क्यान्सिल भएका छन्, र दिनदिनै भेट हुने, गफसफ गर्ने साथीसँगी छुटेका छन् ।

यस्तो बेलामा चिन्ता लाग्नु, अत्यासिनु, निराश हुनु सामान्य कुरा हो । त्यसैले के नबिर्सिनुस् भने यस्तो अनुभव गर्ने तपाईं एक्लै मात्रै हैन । तपाईंका धेरै साथीसँगीलाई पनि यस्तै लागिरहेको छ ।

१. चिन्ता र अत्यास लाग्नु एकदम सामान्य हो भन्ने बुझ्नुहोस् ।

तपाईंलाई चिन्ता र अत्यास लागिरहेको छ भने तपाईं एक्लैलाई मात्रै यस्तो अनुभव भइरहेको छैन भन्ने बुझ्नुहोस् । यस्तो बेलामा सबैलाई चिन्ता र अत्यास लाग्नु सामान्य कुरा हो ।

विभिन्न माध्यममार्फत गलत सूचनाहरु प्रसारित भइरहेका छन् । त्यसले चिन्ता लगाउन सक्छ । त्यसैले भरपर्दो र विश्वास गर्न सकिने ठाउँबाट मात्रै सूचना र जानकारी लिनुहोस् । इन्स्टाग्राम, युट्युब र फेसबुकमा देखिने, पढिने सबैकुरा भरपर्दा हुँदैनन् । युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन आदिका वेबसाइट भरपर्दा स्रोत हुन् ।

 २. मन भुलाउने उपाय गर्नुहोस् ।

आफू निराश हुँदैछु भन्ने लाग्यो भने यो कुरा सम्झिनुहोस् । कुन कुरा तपाईंको वशमा छ र कुन कुराबारे तपाईंले केहि गर्नै सक्नुहुन्न ? त्यसैले आफ्नो वशमा भएका कुरामा मात्रै ध्यान दिनुहोस् । जस्तो, आफ्नो होमवर्क गर्ने, अथवा टिभी हेर्ने, वा नयाँ किताब पढ्ने । आफूलाई रमाइलो लाग्ने कुराले मन भुलाउनुहोस् ।

३. साथीसँगीसँग घुलमिल हुने नयाँ उपाय भेट्टाउनुहोस् ।

दूरी राखिरहनु पर्ने यो समयमा साथीसँगीसँग घुलमिल हुने राम्रो माध्यम भनेको सामाजिक सञ्जाल पनि हो । तर कसरी सम्पर्क कायम राख्ने ? यसबारे सिर्जनशील उपाय सोच्नुहोस् । सबैजना एकैचोटी अनलाइन रहेर गर्न सकिने क्रियाकलाप सोच्नुहोस् । नयाँ कुरा सिक्ने मौका बनाउनुहोस् ।

तर धेरै लामो समय कम्प्युटर वा फोनको स्क्रीन हेरेर बस्यो भने पनि मन निराश हुनसक्छ । त्यसैले बेलाबेलामा इन्टरनेटबाट टाढै बस्नुहोस् । यस्तो समयलाई बरु आफ्नो परिवारका मानिससँग बिताउनु होस् । घरमै भेट्टाइने समानबाट नयाँ सामान वा कलाकृति बनाउनुहोस् ।

४. आफ्नो कथाको आफैँ हिरो

अहिले तपाईंसँग फुर्सदै फुर्सद छ ? तपाईँलाई कुनै नयाँ किताब पढ्ने रहर थियो वा कुनै बाजा बजाउन सिक्ने मन थियो वा रहर लागेको कुनै सिप सिक्ने मन थियो भने अहिलेभन्दा राम्रो समय कहिले पाउनुहुन्छ ? आफूलाई खुसी बनाउने काम गरे निराशा घटेर जान्छ र मन राम्राराम्रा भावनाले भरिन्छ ।

५. आफ्नो मनका भावनालाई चिन्नुहोस् ।

तपाईंलाई रहर लागेका धेरै कुरा अहिले गर्न नपाएर मन खिन्न भएको होला । मनमा आएको निराशालाई बेवास्ता गर्दैमा त्यो हराएर जाँदैन, बरु झन् बढ्छ । तर त्यसलाई महसुस गरेर चिन्ने हो भने त्यसलाई हटाउन सकिन्छ । त्यसलाई चिनेर कविता बनाइदिनुहोस्, त्यसको अनुहारको चित्र बनाइदिनुहोस्, आफूले जानेको सिर्जनशिल शैलीमा आफ्ना भावनाहरू पोख्नुहोस् । नजिकका साथीसँग आफ्ना भावना साटासाट गर्नुहोस् ।

६. आफू र अरूप्रति दयालु हुनुहोस् ।

कोरोना भाइरसको समयमा समेत केही किशोरकिशोरीहरू अर्काका दुर्व्यवहारको शिकार भइरहेका छन् । यो समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको एक अर्कालाई सहयोग गर्नु हो । दयालु बन्नुहोस् । कोहि दुर्व्यवहारमा परेको थाहा पाए त्यसलाई रोक्नुहोस् । दुर्व्यवहारको शिकार भएका साथीलाई आफ्नो साथ र हौसला दिनुहोस् । अरु समयभन्दा बढी अहिले हामी आफ्नो व्यवहारबारे सजग रहनु पर्छ । कसैको चित्त दुखाउनु हुन्न, सबैलाई सहयोग गर्नुपर्छ । त्यसैले सोचविचार गरेर व्यवहार गर्नुहोस् ।
युनिसेफले न्यु योर्क टाइम्स स्तम्भकार डा. लिजा डामौरसँग गरेको बार्तालापमा आधारित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *