समुदायतिर लम्किँदै कोरोना, अलमलमा तीनै तहका सरकार !

विराटनगर । गत साउन महिनाको कुरो हो, श्वासप्रश्वासमा समस्या देखिएका उदायपुरका पदम राईलाई उनकी श्रीमती कमला र बहिनी चमेलीले उपचारका लागि उदयपुरस्थित कटारी अस्पताल लगे ।

जिल्लाको अस्पतालबाट रेफर गरेपश्चात पदमलाई कोशी अस्पताल पुर्याइयो । त्यतिन्जेल उनको स्वास्थ्य अवस्था सामान्य नै थियो तर, कोशी अस्पतालका चिकित्सकले उपचार गर्न नमान्दा साउन १ गते साढे ३ बजे उनको एम्बुलेन्समै मृत्यु भएको थियो ।

त्यस्तै भर्खरै सरोक्षिया-६ का ४५ वर्षीय किश्वरीलाल कामत लामो समयदेखि मधुमेहका रोगी थिए । उनलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भयो । उनी आफू संक्रमित भएको थाहा पाएलगत्तै घरैमा आइसोलेशनमा रहँदै आएका थिए । उनको अचानक श्वासप्रश्वासमा समस्या आयो ।

उनको स्वास्थ्यमा सुधार हुनुभन्दा पनि बिग्रदै गयो । कोशी कोभिड उपचार केन्द्रमा शैया अभावका कारण घरैमा होमआइसुलेसनमा रहँदै आएका कामतको भदौ ४ गते बिहिबार ८ बजे राती घरैमा निधन भएको थियो ।

उदयपुरका पदम राई र विराटनगर ६ का किश्वोरीलाल कामत त कोरोना कहर भित्रका घटनाका प्रतिनिधि पात्र मात्रै हुन् । बेलैमा उपचार नपाएर अस्पताल चाहार्दा चाहार्दै ज्यान गुमाएका केहि महिना अघिका घटनाका पात्रहरु धेरै छन् ।

कोरोना नियन्त्रणमा तीनै तहको सरकारको समन्वय फितलो

जनताले तीन तहको सरकार निर्वाचित गरेको छ, तीन तहको सरकारको आफ्नै कानून, अधिकार भएपनि हाल कोरोना नियन्त्रणको अवस्थामा तीनै तहको सरकार एकअर्कामा दोष देखाएर पन्छिन खोजेको युवा नेता वोसिम आलम बताउँछन् ।

अन्य समान्य अवस्थामा म सरकार हुँ भन्ने दम्ब राखेको भएपनि कोरोना महामारीको अवस्थामा तीनै तहको सरकारको समन्वय भने फितलो रहेको आलमको धारणा छ । महामारीको अवस्थामा जिम्मेवारी बहन गर्ने क्रममा स्थानीयले प्रदेशलाई देखाउने प्रदेशले केन्द्रलाई देखाउने प्रवृत्ति जनताका हितका लागि हुन नस्कने उनी बताउँछन् ।

उनी भन्छन्, ‘तीनै तह जिम्मेवारीदेखि पन्छिने प्रवृत्तिले गैर जिम्मेवारीको पराकाष्ठा भएकोछ, गाँउपालिका, नगरपालिकाले आफ्नो जनतालाई गर्नुपर्ने जनताको सुरुक्षा, गाँस, बास र स्वास्थ्यको ग्यारेन्टीको विषयमा स्थानीय सरकार चुकेको नै देखिन्छ ।’ ‘प्रदेश सरकारहरु पनि जसरी प्रदेशभित्र सक्रिय ढंगले देखिन पर्ने हो त्यसरी देखिएका छैनन्,’ उनी थप्छन्- ‘उहाँहरु के गर्ने भन्नेमा नै अलमलमा पर्नुभएको छ । जनतालाई आश्वसन दिए पनि कार्यान्वयनमा भने तीनै तहका सरकार अल्मलिएका छन् ।’

बुद्धोदय सहकारी संस्था विराटनगरका अध्यक्ष राजेन्द्र खनालका अनुसार सरकार कोरोना महामारीको कठिन परिस्थितिमा कामकार्बाहीमा भन्दा पनि प्रचारबाजीमा धेरै सक्रिय देखिन्छ ।

‘स्थानीय सरकार, प्रदेश सरकार कोभिड १९ नियन्त्रणमा जति जिम्मेवारी हुनुपर्ने हो त्यो जिम्मेवारी जनताले सोंचेको भन्दा कम छ,’ उनले भने– ‘सरकारले देखाएको कोरोना नियन्त्रणमा भएको खर्च धेरै देखिएपनि काम भने कम भएको छ ।’

पछिल्लो समय कोरोना संक्रमित घरैमा आईसुलेट भएपनि उनीहरुको रेखदेखमा धेरै कमजोरी भएको र संक्रमितले उपचार नपाएर घरैमा मृत्यु भएका घटनाले पनि सरकार कहिकतै चुकेको उनको धारणा छ ।

यता विराटनगर महानगरपालिकाका नगरप्रमुख भीम पराजुलीले कोरोना महामारी न्यूनिकरण तथा रोकथाममा भएको सम्पूर्ण खर्च पादर्शी रहेको दावी गरेका छन् । ‘विराटनगर महानगरपालीकाका लागि एउटा चुनौती भनेको आइसोलेसन अभावका कारण होम आइसोलेसनमा बस्नुपर्ने अवस्था रहेको छ,’ मेयर पराजुलीले भने- ‘अर्को प्रमुख चुनौती सीमा पनि हो, जुन हालसम्म कडाई भएको छैन ।’

कोरोना महामारीलाई नियन्त्रण गर्नका निमित्त विगतका दिन सुरुवात गरेका आइसोलेसनलाई क्वारेन्टाइनमा परिणत गरेको साथै होटललाई पनि आइसोलेसन बनाएको र अस्पतालहरु लेभल वान र लेभल टु बनाएर सञ्चाल गर्दै आइरहेको उनको भनाई छ ।

पछिल्लो समय पिसिआर परिक्षणको दायरा पनि फराकिलो बनाएको उनले जिकिर गरे । होम आइसोलेसन साथै, संस्थागत आइसोलसनमा रहेका संक्रमित बिरामीहरुलाई स्वास्थ्य परामर्श, चिकित्समसँगको परामर्श साथै औषधि उपलब्ध गराएको नगर प्रमुख पराजुलीले दावी गरे ।

उनको भनाईअनुसार स्थानीय सरकारले प्रदेश, संघीय सरकारसँग समन्वय भएपनि दुवै तहका सरकारको स्थानिय सरकारसँगको समन्वय अभाव रहेको छ । उनले भने– ‘जबसम्म तीनै तहको सरकारले समन्वय गरेर काम कर्तव्य उत्तरदायित्व बुझेर काम गर्दैनौ जनसम्म यो महामारीबाट जोगिन सक्दैनौ, त्यसैले तीनै तहको सरकारको आपसी एकताको खाचो छ ।’ 

कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मीलाई चुनौती
पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएसँगै भयावहरुप लिएको छ, भने कतिले कोरोना संक्रमणकै कारण ज्यान समेत गुमाएको अवस्था छ । विगतका दिनहरुमा लक्षण भएका संक्रमित मात्रै कोशी कोभिड उपचार केन्द्रमा उपचारका लागि आउने गरेकोमा पछिल्लो समय लक्षण भएका संक्रमितहरु उपचारका लागि आउने गरेको कोशी अस्पतालका मेसु डा. चुम्मनलाल दाशले जानकारी दिए ।

हाल अस्पतालमा आएका आइसुलेसन वार्ड, फिवर क्लिनिकमा आएका बिरामीको कोरोना जाँच गराउँदा अधिकांशको पोजेटिभ आएकाले यो अवस्थामा स्वास्थ्यकार्मीलाई काम गर्नका लागि चुनौती भएको उनको भनाई छ । पछिल्लो समय स्वास्थ्यकर्मी जोखिममा भएसँगै अस्पतालमा आएको सेवाग्राहीहरु पनि सचेत रहनुपर्ने अवस्था रहेको डा. दाश बताउछन् ।

‘स्वास्थ्यकर्मीलाई समाजले हेर्ने दृष्टिकोण नै नकारात्मक भएकाले स्वास्थ्यकर्मी टोलमा गएर बस्न नसक्ने अवस्था सृजना भएको छ,’ उनले भने- ‘तीनै स्वास्थ्यकर्मी जनताको ज्यान जोगाउन तल्लीन हुनुपर्ने तर उनै स्वास्थ्यकर्मीलाई गाँउ समाजमा बस्न नदिएको अवस्थाले गर्दा पनि स्वास्थ्यकर्मीहरुको मनोबल खस्किएको छ ।’

पछिल्लो समय स्वास्थ्यकर्मी साथै कोरोना संक्रमित भएर निको भई घर फर्किएका आम नागरिकहरुलाई समाजले हेला गर्ने गरेका छन् । यो अवस्थामा समाजले सकारात्मक भूमिका खेलिदिए स्वास्थ्यकर्मीलाई काम गर्ने हौसला मिल्छ डा. दाशको भनाई छ ।

‘पछिल्लो अवस्थामा कोरोना संक्रमितको संख्या एकैपटक बढेको कारण सबै पोजेटिभ केस भएका बिरामीलाई राख्न कोभिड अस्पतालमा ठाँउ अभाव भएको हो,’ उनले भने- ‘त्यहि काराण कोरोना संक्रमितका लागि जिल्ला, स्थानिय स्तरमा आइसुलेशन वार्डहरु विस्तार गरेको अवस्था छ ।’

काम गर्दै जाँदा केहि कमिकाजोरीहरु भए होलान तिनलाई सुधार्दै लग्ने प्रयासहरु पनि भएको उनले बताए । लक्षण नभएका संक्रमित भएको बिरामी घरैमा बस्न चाहानेहरुलाई राज्यले तोकको मोडालिटी, स्वास्थ्य मापदण्ड अनुसार घरैमा होम आईसोलेसनमा बस्ने दिएको र कोभिड अस्पतालमा लक्षण भएका संक्रमित बिरामीलार्ई व्यवस्थापन गर्न तर्फ अग्रसर रहेको उनले जानकारी दिए । माहामारीको अवस्थामा तीनै तहको सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाउन साथ, हौसला समन्वय दिई रहेको उनले बताए । 

बढ्दो महामारीको अवस्थालाई मध्यनगर गरेर सेवा विस्तार
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइसोलेसनको संख्या बढाउन स्थानीय पालिका र जिल्ला अस्पतालहरुमा सेवा विस्तार गर्ने गरी निर्णय भएको बताए ।

लकडाउन खकुलो भएसँगै कोरोना महामारी बढेको अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले विस्तारको निर्णय गरेको हो । त्यसका लागि आवश्यक बजेट समेत विनियोजन गरेको मन्त्री घिमिरेको भनाई छ ।

मेचीनगर, रङगेली, विराटनगर, मेची अस्पताल साथै पहाडी जिल्लाका सबै अस्पतालहरुमा छुटटै आइसुलेसन सेवा सुरु भईसकेको मन्त्री घिमिरेले बताए । ‘स्वास्थ्य मापदण्डअनुसार होम आइसोलेसनलाको पनि अनुमती दिएका हौं,’ मन्त्री घिमिरेले भने– ‘होम आइसोलेसनको व्यवस्थापन स्थानीय पालिकाहरबाट भईरहेको छ ।’

कोभिड-१९ उपचारका लागि नीजि अस्पतालहरुले पनि सेवा सुचारु गरिसकेको मन्त्री घिमिरेले बताए । संक्रमित बिरामी व्यवस्थापनका लागि धरानको वीपी र विराटनगरको कोभिड अस्पतालमा लक्षण नदेखिएकालाई भर्ना नगर्ने र लक्षण देखिएर समस्यामा परेकालाई प्राथमीकता दिने व्यवस्था रहेको मन्त्री घिमिरेको भनाई छ । अस्पतालभित्र गर्नुपर्ने सेवा तथा सुदृढिकरणतर्फ प्रदेश सरकार लागिरहेको उनले दावी गरे ।

कोरोना महामारीका बेला एकले अर्कालाई दोष देखाएर पन्छिने समय नरहेको भन्दै मन्त्री घिमिरेले तीनै तहका सरकार मिलेर नै यो कठिन परिस्थितिलाई परास्त गर्न सकिने बताए । पछिल्लो समय संघीयताको भावना र मर्मलाई कोभिडले पुष्ट्याई गरेको मन्त्री घिमिरेको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =