हतियार देखाउँदै आतङ्क मच्चाउने ३ युवा पक्राउ

धरान । कोरोनाको कहर र लकडाउनको समयमा सुनसरीको धरान उपमहानगरपालिका–१५ को बगरकोट स्थित सेउती खोलाको पुलमा हतियार देखाएर आतङ्क मच्चाउने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बस्ने २९ वर्षीय सुजन राई, १९ वर्षीय सुसन राई र २३ वर्षीय मनिस भुजेल रहेका इलाका प्रहरी कार्यालय धरानले जनकारी गराएको छ ।
गत आइतबार साँझ धरान–८ बस्ने रोशन विश्वकर्मालाई कुटपिट गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूको खोजतलास गरिरहेको थियो ।
सोही क्रममा तीनै जनालाई सोमबार बेलुका उपमहानगरको ८ नम्बर वडामा रहको फलामे पुल नजिकै खुकुरी र चक्कु बोकी सार्वजनिक स्थलमा स्थानीयलाई आतङ्कित पारिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए। पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताएका छन् ।
उता एक नम्बर प्रदेशका सुनसरी, मोरङ, झापा र ईलाम जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित सोमबार ६ जना पक्राउ गरी सार्वजनिक गरिएको छ।
सोमवार पक्राउ पर्नेमा केराबारी गाउँपालिका–५ का २२ वर्षीय रुपेश राई, धरान उपमहानगरपालिका–८ की ३० वर्षीया अबिमाया राई र २० वर्षीय उत्सव लिम्बु रहेका छन् । उनीहरूलाई सोमबार साँझ ७ बजेको समयमा मोरङको केराबारी गाउँपालिका–६ मुगु खोला छेउबाट लागुऔषध सहित पक्राउ गरिएको थियो। इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १० प ७६९३ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उक्त मोटर साइकलमा सवार रहेका उनीहरूलाई लागु औषध सहित पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले लागु औषध डाईजेलाब ९५ एम्पुल, एभिल ९४ एम्पुल र लुपिजेसिक ९७ एम्पुल बरामद गरिएको।
यसै गरी सोमबार दिउसो बाह्रदशी गाउँपालिका ३ का २३ वर्षीय अमिन मोहम्मद लागुऔषधका साथ पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिरिङ खोला किनाराबाट पक्राउ गरेको हो । उनको साथबाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।
यता सोमबार दिउँसो ईलामको माङसेबुङ गाउँपालिका–५ का १९ वर्षीय प्रेम राई र १७ वर्षीय अमिर लिम्बुलाई गाँजासहित पक्राउ गरिएको छ । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई २ केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरूको कानुनी कारबाहीका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









