सामाजिक सञ्जालमा कुलमानको स्टारडम: ‘देशलाई उज्यालो बनाउने कुलमान सधैँभरी चाहिन्छ !’

काठमाडौं । भनिन्छ नि–‘सुखमा साथ दिने साथीलाई सजिलै भुल्न सकिन्छ तर दुःखमा साथ दिने साथीलाई जीवनभर भुल्न सकिँदैन ।’  जिन्दगीका अप्ठेरा गल्ली–गोरेटाहरुको यात्रा गरिरहँदा मार्गदर्शन गरिदिने साथीको महत्व ‘भगवान’ को भन्दा ज्यादा हुन्छ । क्षणिक तिक्तता आएपनि आफ्नो जीवनमा ऊ फेरि फर्केर आइदेओस् भन्ने मनमा लागिरहन्छ ।

कुलमान घिसिङ पनि नेपालीका यस्तै सारथी हुन्, जसको साथ सदैव रहिरहोस् भन्ने चाहन्छन् नागरिक । किनकी कसैले सोच्नसम्म पनि नसकेको ‘उज्यालो नेपाल’ को सपना उनले साकार पारे । नागरिकलाई अन्धकारबाट मुक्ति दिलाए ।

अझै पनि बिर्सन सकेका छैनन् नागरिकले २०७३ सालको त्यो तिहार, जुन झिलिमिलिमा बित्यो ! दशौं वर्ष अँध्यारोमा बितेका नागरिकका रात ०७३ सालको तिहारपछि उज्यालोमय बन्याे । १८ घण्टे लोडसेडिङको तालिका कसैका घरमा टाँसिरहनु परेन । बिजुलीको नाक/मुख देख्न पनि गाह्रो परेको त्यो अवस्थामा दिन र रात नै उज्यालाे बन्यो ।

लोडसेडिङ अन्त्य हुनुअघि कति बालबालिकाको पढाइ समेत कटौती हुन्थ्यो । मट्टितेल महंगो भएका कारण रातैभरी टुकी बालेर पढ्ने क्षमता कमै परिवारको हुन्थ्यो । उज्यालोमै पढाइ–लेखाइ सक्नैपर्ने दबाब थियो विद्यार्थीमा ।

उज्यालो बाँड्ने विद्युत प्राधिकरणमा धेरै निर्देशक आए, गए । तर ‘लोडसेडिङ मुक्त नेपाल’ को कल्पना कसैले गरेनन् । न त केही सुधार नै आयो, सधैँ घाटामा गयो प्राधिकरण । जसरी अहिले पानीजहाज ल्याउँछु, घरघरमा ग्यास पाइप जोड्छु, रेल ल्याउँछु भन्दा प्रधानमन्त्री केपी शर्मा ओली मजागको पात्र बनेका छन्, त्योभन्दा दुई गुणा मजाग कुलमानकाे बनेको थियो– ‘लोडसेडिङ अन्त्य गर्छु’ भन्दा ।

आफ्नो ‘भिजन’ लाई धेरैले उडाए पनि उनले हार मानेनन् र जुन सपना बाँडेका थिए, त्यो पुरा गरेर देखाए । टुकीको मधुरो उज्यालोमा भविष्यका अक्षर खोजिरहेका विद्यार्थीलाई पढ्नका लागि सहज वातावरण बन्यो । दिनभरी खेती/किसानीमा जम्नुपर्ने बाध्यता भएका विद्यार्थीले साँझ पढ्न पाए !

बिजुलीको ‘ब’ समेत थाहा नभएको विकट जिल्लामा समेत उज्यालो ज्योति लिएर पुगे कुलमान । ०७५ वैशाख मसान्तदेखि त औद्योगिक क्षेत्रको लोडसेडिङ पनि पूर्ण रुपमा हट्यो । लोडसेडिङ अन्त्यताका अधिकतम विद्युत खपत हुने उपकरणहरु प्रयोग नगर्न अपिल गरिन्थ्यो भने अहिले ‘जतिसक्दो विद्युत खपत गर’ भनिन्छ !

त्यसैले पनि कुलमानलाई ‘उज्यालो नेपाल’ का निर्माता भनिन्छ । जनसमुदायमा बेग्लै स्टारडम छ उनको । अहिले उनको कार्यकाल सकिँदै गर्दा विद्युत प्राधिकरणमा उनैलाई दोहोर्याउने अभियान समेत चलाएका छन् नागरिकले ।

फेसबुकदेखि ट्वीटरसम्म ‘फेरि लालटिन, मैनबत्ती र टुकि युग फर्किने पो हो कि’ भन्ने चिन्ताले भरिएका छन् । कुलमानकै समर्थन छ जताततै । कलाकारदेखि बुद्धिजीवीले समेत उनी नै प्रबन्ध निर्देशकमा दोहोरिनुपर्ने धारणा राखिरहेका छन् ।

‘महान मान्छे, नेपालको ढुकढुकी कुलमान प्राधिकरणमा दोहोरिनै पर्छ, कुलमान जस्ता १० जना मान्छे हुने हो भने नेपाल अमेरिकाजस्तो बन्छ,’ लगायतका प्रतिक्रियाहरु सामाजिक सञ्जालमा छरपष्ट छन् । कतिले भने जनजाति भएकै कारण उनलाई हटाउन खोजिएको आशंका व्यक्त गरेका छन् ।

हेरौँ सामाजिक सञ्जालका केही प्रतिक्रियाः

– १६ वर्षदेखि निरन्तर घाटमा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा पुर्याउने कुलमान घिसिङलाई नै पुनर्वहाली गरिनुपर्छ । विद्युत निकासी गर्ने मिसन अबको कार्यकालमा उनले पूरा गर्न सक्छन भन्ने आशा छ ।

– मन्त्री परिवर्तन गरियोस् या प्रधानमन्त्री ! अहिलेको अवस्थामा नेपाली जनताका लागि त्यो कुनै हर्ष या विष्मातको विषय बन्न सक्दैन, किनकी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताका लागि सोच्ने कुनै मन्त्री या प्रधानमन्त्री नेपालीले देख्न पाएका छैनन् । तर देशलाई अध्याँरोबाट उज्यालोमा राख्ने कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकणबाट नहटाइयोस् !

– कुलमान घिसिङ्गलाई पुन नियुक्ति गर्नुपर्छ भन्ने तीन करोड नेपाली जनताको भावनालाई सम्माननिय प्रधानमन्त्रीज्युले पक्कै पनि कदर गर्नुहुनेछ भनि सारा नेपाली जनताले ह्रदयदेखि नै आशा गरेका छौँ ।

– गर्छु भन्ने त धेरै आउछन् तर गरेर देखाउने थोरै हुन्छन् । कुलमान घिसिङले बाचा गरेभन्दा राम्रो काम गरेर तीन करोड जनताको मन जितिसक्नु भएको छ ।

– यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजीखोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौँ, उहाँको ऊर्जाले देशको ऊर्जा बढ्छ ।

– कुलमान जस्ता कर्मठ कर्मचारीको समर्थन र सम्मान गरेमा अन्य कैयौँ कुलमानहरुको आत्मबल बढ्नेथ्यो र हरेक क्षेत्र झलमल्ल हुनेथ्यो !

कसरी आइपुगे कुलमान प्राधिकरणमा ?

रामेछापको दुर्गम गाउँ बेथानमा जन्मिएका कुलमानले ५ कक्षासम्म गाउँकै विद्यालयमा अध्ययन गरे । बाँकी पढाइ उनले काठमाडौंबाट पुरा गरे । अस्कल क्याम्पसबाट आईएस्सी गरेपछि छात्रवृत्तिमा भारतको जम्सेदपुरबाट सन् १९९४ मा विद्युतीय इन्जिनियरिङ गरे ।

पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन् ।

सन् १९९४ मा इन्जिनियरिङ् सकेपछि करिब ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियर भए । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे जल विद्युत परियोजनाको जिम्मेवारी पाए । चिलिमे हाइड्रो पावरको प्रबन्ध–निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु गरेका थिए ।

पछि ११ औ तहमा रहँदा घिसिङ सन् २०१६ सेप्टेम्बरमा प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले उनलाई प्राधिकरणमा तानेका हुन् । नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर (लक्ष्मी पूजा) मा उनले लोडसेडिङ्ग हटाउने योजनाको परीक्षण शुरु गरे । सो परीक्षण सफल भएपछि चैत्र ०७३ को चैत्र १ गतेदेखि उनले देशव्यापी रुपमा लोडसेडिङ्ग अन्त्य गरे ।

यही भदौ २९ गतेदेखि भने उनको ४ वर्षे कार्यकाल सकिँदैछ । कार्यकाल सकिन लागेपछि प्राधिकरणमा उनलाई निरन्तरता दिने कि नदिने भन्ने बहस सुरु भइरहेकै बेला नागरिकबाट उनै दोहोरिनु पर्ने आवाज उठेको हो ।

विद्युत प्राधिकरणमा फेरि दोहोरिएलान् ?

कुलमानले लोडसेडिङ अन्त्य गरी प्राधिकरणलाई नाफामा लैजानुका साथै अन्य धेरै कामहरु गरेका छन् । उनी दिनहुँ आफैँ फिल्डमा खटिरहेका हुन्छन् । भारत, बंगलादेश लगायतका देशमा विद्युत बिक्री गर्ने योजना पनि उनले अघि सारेका छन् । त्यसकारण पनि उनले चौतर्फी रुपमा प्रशंसा पाइरहेका छन् ।

नागरिकस्तरबाट उनका लागि आवाज उठेपनि अहिलेसम्म उनलाई निरन्तरता दिने/नदिने विषयमा कुनै छलफल भएको छैन । प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति कहिलेसम्म गरिसक्नुपर्ने भन्नेबारे ऐनले प्रष्ट व्याख्या त गरेको छैन, यद्यपी कुनै व्यक्तिको कार्यकाल बाँकी छँदै पुनर्नियुक्ति सम्बन्धी निर्णय गर्नुपर्छ ।

कुलमान प्राधिकरणमा दोहोरएलान्/नदोहोरिएलान् तर, सामाजिक सञ्जाल भने कुलमानमय भएको छ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *