‘सबैभन्दा सस्तोमा १ वर्ष भित्र देशैभर इन्टरनेट पुर्याउँछौं’

काठमाडौं । ‘डिसहोम’ नेपालका टिभी सेवा प्रदायक मध्ये सबैभन्दा बढी प्रयोगकर्ता भएको लोकप्रिय नेटवर्क मानिन्छ । डिस मिडिया नेटवर्क लिमिटेडले विगत ६ महिनादेखि डिएच फाइवर नेटको सेवा सुरु गरेको छ । सरकारले नेपाली च्यानलहरुलाई प्रमोट गर्ने उद्देश्यले क्लिनफिड लागू गर्दैछ । र, क्लिनफिडको पक्षमा डिस होम लगायत निजी क्षेत्रकाले स्वागत गर्दैछन् ।

नेपालमा क्लिनफिड किन आवश्यक छ, बजारको अवस्था कस्तो छ, देशकै प्रमुख च्यानल प्रदायक डिसहोमको सेवा कस्तो छ लगायत भावी योजना र एचडिएच फाइवर नेट सेवाको गुणस्तर र विस्तारका विषयमा डिस मिडिया नेटवर्क लिमिटेडका महाप्रबन्धक रमेश सापकोटासँग मकालु खबर डटकमका राजाराम न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना महामारीको समयमा डिस मिडिया नेटवर्कले कसरी सेवा दिइरहेको छ ?

हामीले हाम्रा प्राविधिक मार्फत गुणस्तरीय सेवा प्रधान गरिरहेका छौं । हाम्रो देशैभर भएका १० हजार सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेका छौं । कोरोना महामारीको समयमा पनि दैनिक ४ देखि ५ सय नयाँ ग्राहक जोडिइरहेका छन् । हामीले प्रदान गरेको सेवामा कुनै समस्या आएमा तत्कालै त्यसको सामाधान गरिरहेका छौं ।

डिस मिडिया नेटवर्कले देशव्यापी नेट सेवा विस्तार गरिरहँदा अन्य नेटभन्दा के फरक छ ?

अन्य इन्टरनेट सेवा प्रदायकहरुले भन्दा डिस मिडियाले गुणस्तरीय सेवा दिन्छ । डिस मिडिया नेटवर्कले मुख्यतयाः २÷३ वटा ‘प्रोडक्ट’हरू मार्फत ग्राहकहरूको सेवा गरिरहेको छ । डिसहोमले अल्ट्रा, स्मार्ट, एचडी प्लस लगायतका सेवा विगत १० वर्षदेखि निरन्तर रुपमा दिइरहेको छ । हामीले भर्खरै सुरु गरेको भनेको डिसहोम ‘फाइवर नेट’ हो । समय अनुसार नयाँ सेवाहरु आइरहेको छ ।

डिस मिडिया नेटवर्कले फाइवर नेट नै किन सुरु गरेकोे हो ?

दश वर्षदेखि डिसहोमले सेवा दिइरहेको छ । हाम्रो डिटिएचको नेटवर्कले ग्राहकलाई आकर्षण बढ्दै गइरहेको छ । हामीले ल्याएको इन्टरनेट गुणस्तरीय छ । हामीले ल्याएको इन्टरनेटबाट ग्राहक सन्तुष्ट छन् । ग्राहकहरुको इन्टरनेट प्रतिको मागलाई नै सम्बोधन गर्न हामीले फाइवरनेट ल्याएका हौं ।

हामीले प्रयोग गर्दै आइरहेको इन्टरनेटको मूल्य अत्यन्त महंगो छ तर, गुणस्तर भने कमजोर, ग्राहकलाई कसरी विश्वास दिलाउनु हुन्छ ?

हामीले सबैभन्दा सस्तोमा सबैभन्दा गुणस्तरीय इन्टरनेट सेवा दिएका छौं । डिस मिडिया नेटवर्कद्वारा बजारमा उपलब्ध अन्य सबै आइएसपीहरु भन्दा सस्तो, रिलायवल र वेस्ट प्राइसमा सेवा उपलब्ध गराई रहेको छ ।
अहिले काठमाडौंमा विस्तार भएको इन्टरनेटबाट ग्राहकहरु सन्तुष्ट छन् । हरु कम्पनीको इन्टरनेटबाट नै टिभी चल्छ भने, हाम्रो चाँही टिभी र इन्टरनेटको फरकफरक सिष्टम छ । टिभी डिसहोमको छाताबाट सञ्चालन हुन्छ । भने, इन्टरनेटका लागि छुट्टै तार र प्रविधि छ । एउटैमा टिभी र नेट नभएकोले हाम्रो इन्टरनेट अरुको भन्दा फास्ट छ ।

हामीबाट २५ एमबीपीएस नेट किनेपछि २५ एमबीपीएस नै उपभोग गर्न पाइन्छ । घरी स्पिड बढ्ने घरी घट्ने हुँदैन । डिसहोम यो कुरामा प्रतिबद्ध छ ।

उपत्यकामा डिसहोम फाइवर नेट विस्तार कहाँ कहाँ भयो ?

डिस मिडिया नेटवर्कले अनुमति लिएपछि सर्वप्रथम फाइवर नेटको ‘पाइलट प्रोजेक्ट’ भनेर ललितपुरको भैंसेपाटी एरियामा सुरु भएको थियो । त्यो एरियामा सफल भइसकेपछि हामीले बुङमती र कपनमा फाइवर नेट सञ्चालन गरेका छौं ।

बौद्ध, जोरपाटी र पेप्सिकोला एरियामा पनि सेवा विस्तार भइरहेको छ । यता बुढानीलकण्ठ हुँदै सामाखुसी एरिया, टोखा–बालाजुमा काम भइरहेको छ । करिब ३÷४ महिनामा काठमाडौँ भ्यालीभर हाम्रो सेवा विस्तार गर्ने हिसाबले काम गरिरहेका छौं । उपत्यका बाहिर पनि १ वर्षभित्रै विस्तार गर्ने योजना छ ।

उपत्यका बाहिर १ वर्षमा नेट विस्तार हुन्छ त भन्नुभयो तर, काम कहाँ पुग्यो ?

उपत्यकाभन्दा बाहिर पनि हामीले काम सुरु गरिसकेका छौं । हेटौडा, ढल्केवर, जनकपुर, लहान, इनरुवा, इटहरी, विराटनगर र धरानमा धमाधम काम भइरहेको छ ।

फाइबर नेट डिसहोम जस्तै देशैभर विस्तार हुन्छ कि, सिमित शहरहरुमा मात्र रहन्छ ?

डिसहोम नेपालभर नै छ । हाम्रो डिसहोम पुगेको ठाउँमा इन्टरनेट पनि पुग्छ ।

नेट सस्तो हुन्छ भन्नुभयो कति मूल्यमा र कसरी उपलब्ध हुन्छ ?

वार्षिक रुपमा रिचार्ज गर्ने ग्राहकहरुलाई वर्षको १० हजार रुपैयाँमा इन्टरनेट सेवा दिइरहेका छौं । वर्षको १० हजार भनेको करिब ८ सय ३४ रुपैयाँ पर्न जान्छ । मासिक ग्राहकले २५ एमवीपीएसको इन्टरनेट सुविधा ८ सयमा प्रयोग गर्न पाउँछन् । त्यस्तै ४० एमबीपीएस प्रयोग गर्दा वार्षिक १४ हजार ५ सय रुपैयाँमा सेवा दिइरहेका छौं ।

अहिले डिसहोम र सिम टिभीको ग्राहकहरुलाई लक्षित गरेर फाइवर नेट उपलब्ध छ । टिभी नभएको ग्राहकले पनि त्यही मूल्यमा इन्टरनेट प्रयोग गर्न पाउँछन् ।

नेट सेवा प्रदायकहरुले भनेको जति एमबीपीएस दिदैनन् भन्छन ? डिस मिडिया नेटवर्कले के गर्छ ?

हामी ग्राहकलाई झुक्काउदैनौ । जति दिने हो यथार्थ त्यति नै भन्छौं । २५ एमबीपीएस लिनेले पुरा २५ एमबीपीएस नै प्रयोग गर्न पाउँछन् । अरु आइएसपीहरुले २५ एमबीपीएस भनेर २५ एमबीपीएस दिने गरेका छैनन् । इन्टरनेट २५ एमबीपीएस त हुन्छ तर ८÷९ एमबीपीएस त टिभीले खाइदिन्छ । यसो गर्दा ग्राहकले इन्टरनेटको लागि १५/१६ एमबीपीएसभन्दा पाउँदैनन् । अनि नेट चल्दैन, ढिलो चल्यो भन्ने गुनासो आउँछ । हाम्रोमा नेट र टिभी फरक छ । जति भन्यो त्यत्ति नै नेट उपलब्ध हुन्छ ।

फाइवर नेट चलाएकोे ६ महिनामा ग्राहकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

हाम्रो फाइवर नेटमा गुनासो नै छैन । हामीले गुणस्तरीय सेवाको ग्यारेन्टी गरेका छौँ । डिएच फाइवर नेट अहिले एक ग्राहकले अर्को ग्राहकलाई रिफर गरेर नै अधिक बिकी भइरहेको छ । डिसहोम इन्टरनेटको सेवा जसले उपभोग गरिरहनुभएको छ उहाँहरू एकदमै खुसी हुनुहुन्छ ।

फाइवर नेट प्रति ग्राहक विश्वस्त हुने आधार के छ ?

इन्टरनेटमा जति प्रविधि अपग्रेड हुँदै जान्छ त्यति राम्रो टेक्नोलोजी आउने होे । डिसहोमले हुुवावे कम्पनीसँगको सहकार्यमा अत्याधुनिक प्रविधि भित्र्याएको छ । हाम्रा जति पनि उपकरण र प्रविधि छन ती सबै हुवावेसँग सहकार्य र एग्रिमेन्ट गरेको हुनाले अत्याधुनिक र २०२० टेक्नोलोजीका छन् । त्यसकारण पनि इन्टरनेटको स्तर एकदमै राम्रो छ ।

हामीसँग सर्भरदेखि सबै कुरा लेटेस्ट टेक्नोलोजीका भएकोले हाम्रा ग्राहकहरु हाम्रो सेवा प्रति सन्तुष्ट छन् ।

सिम टिभीको सेवा कसरी विस्तार भइरहेको छ ?

सिम टिभी भनेको एउटा यस्तो प्रोडक्ट हो जसले सबैभन्दा पहिला नेपाल सरकारलाई सतप्रतिशत डिजिटलाइजेसन गरेर अगाडी बढाउने काम गरेको थियो ।

अहिले सिम टिभी उपत्यकालगायत नारायणघाट, विराटनगर, धरान, इटहरी, लहान, जनकपुर, भैरहवा लगायतका क्षेत्रमा पुगेको छ । अन्य बाँकी ठाउँहरुमा पनि काम भइरहेको छ ।

अहिले च्यानल पार्टमा डिसहोम र सिम टिभी एउटै कम्पनी भएको हुनाले सिम टिभीमा पनि डिसहोमको ‘एक्सक्लुसिभ च्यानल’हरू ग्राहकहरूले पाइरहेका छन् । सिम टिभीको राम्रो पक्ष के हो भने हामीसँग काठमाडौँमा त छँदैछ । त्यो बाहेक हरेक सिटिमा जस्तो सुर्खेत, भैरहवा, नारायणगढ, वीरगन्ज, इटहरी सबै ठाउँमा हामीले लोकल च्यानल राखेर सेवा दिइरहेका छौँ ।

हाल डिसहोमको ग्राहक कति छन् ?

अहिले नेपालभर गरेर १५ देखि १६ लाखको बीचमा डिसहोमका ग्राहक छन् ।

डिसहोमको सेवा सबैतिर एकै प्रकारको छ ?

तराईमा अझैपनि खुल्ला रुपमा इन्डियन डिटिएस बिक्रि वितरण भइरहेको छ । यसलाई रोक लगाउनु पर्छ । अन्य ठाउँमा हाम्रो सेवा राम्रो छ । सरकारले क्लिनफिड नीति लागू गर्ने हो भने विदेशी डिटिएसलाई विस्थापित गर्न सकिन्छ । पहाडी र हिमाली क्षेत्रमा डिसहोमको ९५ प्रतिशत उपस्थित रहेको छ । जहाँ विजुली पुगेको छ, त्यहाँ डिसहोम पनि पुगेको छ ।

क्लिनफिड लागू गर्न डिसहोमको योजना के छ ?

हामीले क्लिनफिड लागू  गर्नका लागि सरकार र सम्बन्धित पक्षसँग छलफलहरु गरेर काम गरिरहेका छौं ।

भावी योजना के छ डीसहोमको ?

हाम्रो पहिलो लक्ष्य भनेको प्रत्येक घर घरमा डिसहोम पुर्याउने नै हो । नेपालको प्रत्येक घरलाई इन्टरनेट र टेलिभिजनको माध्यमबाट संसारसँग जोड्ने कोशिष हामीले गरिरहेका छौं । आगामी दिनमा हाम्रो सेवालाई अझ फराकिलो र विस्वासिलो तथा गुणस्तरीय बनाउँदै लैजाने लक्ष्य छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *