अष्टलक्ष्मी भन्छिन्, ‘म मुख्यमन्त्री बन्ने कुरा मलाई नै जानकारी छैन’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवाद समाधान गर्नको लागि गठन गरेको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएसँगै विद्यमान आन्तरिक विवाद समाधानको लागि प्रदेश सरकार परिवर्तन हुने चर्चा चुलिँदै छ ।

पार्टीभित्रको लामो विवाद सुल्झाउन अहिले संघीय सरकारका मन्त्रीहरुदेखि प्रदेश सरकारका मुख्यमन्त्रीसम्म हेरफेर हुने चर्चा चुलिएको हो ।

विवादलाई निराकरण गर्नका लागि गठित कार्यदलले प्रारम्भिक प्रतिवेदन तयार पार्दै अध्यक्षद्वयलाई बुझाएपछि बागमती प्रदेश सरकार परिवर्तनको कुरा पनि सतहमा आएको छ ।

शीर्ष नेतृत्वहरुबीच शक्ति सन्तुलन कायम गर्नकै लागि भए पनि प्रदेश सरकार तथा संघीय मन्त्रीहरु परिवर्तन गर्नुपर्ने एक नेताले बताए ।

उनले भनेका छन्, ‘प्रदेश नं. १, प्रदेश नं. ५ र बागमती प्रदेशको सरकार परिवर्तनको कसरत भइरहेको छ भन्ने कुरा चाहिँ सुनिएको छ । तर यसमा सहमति भने भएको छैन ।’

योबीचमा बागमती प्रदेशको मुख्यमन्त्रीमा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशका प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य आउने कुरा मात्रै होइन, उनलाई मुख्यमन्त्रीको अफर नै आएको कुराहरु पनि बाहिरिए ।

तर, शाक्यले आफूलाई यसबारे कुनै पनि जानकारी नभएको बताउँछन् । “त्यो कुराबारे मलाई जानकारी छैन । यद्यपि पनि बाहिर छापामा समाचारहरु भने देखेको थिएँ ।” नेतृ शाक्यले मकालु खबरसँगको कुराकानीको क्रममा भनिन्, ‘म मुख्यमन्त्री बन्ने कुरा मलाई जानकारी छैन । यो गलत कुरा हो ।’

त्यसो त हालका मुख्यमन्त्री डोरमणि पौडेलको कार्यक्षमतामाथि प्रश्न उठ्नुका साथै बेलाबेला राजीनामासमेत माग हुँदै आएको कुरा सत्य हो ।

बागमती प्रदेशसभा सदस्य शाक्य बागमतीको मुख्यमन्त्री बन्ने दौडमा भने पहिल्यै पनि थिइन् । प्रदेश संसदीय दलको नेताको लागि भएको मतदानमा हालका मुख्यमन्त्री पौडेलसँग पराजित भएपछि उनको यात्रा बीचमै रोकिएको थियो ।

शाक्यले थपेकी छिन्, ‘विवाद मिलाउन कार्यलदले प्रतिवेदन नै बुझाइसकेको छ । तर, सबै कुराबाहिर आएका छैनन् । कार्यदलले कसरी सुझाव दिन्छ त्यसरी नै अगाडि बढ्ने हो । छलफल भएअनुसार प्रदेश नं. १ र बागमतीमा हेरफेर गर्ने कुरा चाहिँ थियो नै ।’

यस्तै उनले आफू मुख्यमन्त्री बन्न लागेको समाचारमा सत्यता नभएकोसमेत प्रष्ट्याउँदै जसरी विवाद समाधान हुन्छ त्यसरी नै आफूहरु अगाडि बढ्ने बताइन् ।

त्यसो त यता बागमती प्रदेशकै यातायातमन्त्री रामेश्वर फुयाँलले पनि प्रदेश सरकार परिवर्तनको बारेमा जानकारी नभएको बताउँछन् ।

मन्त्री फुयाँलले मकालु खबरसँग भने, ‘बागमती परिवर्तनबारे मलाई त थाहा छैन । कहीँ कतैबाट जानकारी आएको पनि छैनजस्तो लाग्छ । मलाई कार्यदलले जे गर्यो त्यो भन्दा बढी थाहा छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *