सुनसरी जिल्ला भदौ १४ सम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं । सुनसरी जिल्ला भदौ १४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरीएको छ । जिल्लास्थित डिसिसिएमसीको आजै बसेको बैठकले भदौ १४ गतेसम्मका लागि जिल्लालाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकोले थप सात दिन निषेधित क्षेत्र घोषणा गरीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्णय अनुसार एक सातासम्म सुनसरी जिल्लाभर अत्यावश्यक सेवा वाहेकका सम्पूर्ण हाट बजार बन्द गरीएको छ । भने, ढुवानी, अत्यावश्यक वस्तुका सवारी साधन वाहेक सबै प्रकारका सवारी साधन चलाउन बन्देज लगाइएको छ । खाद्यान्न तथा निर्माण सामग्री ढुवानीका साधनले पनि आवश्यक प्रोटोकल पालना गर्नुपर्ने भनिएको छ ।
यसैगरी जिल्ला भित्र अत्यावश्यक सेवाको कारोबार वाहेक सबै बैंक तथा वित्तीय संस्थाको (विद्युतीय सेवा वाहेक) बाह्य सेवा बन्द गरीएको छ ।

सरकारी कार्यालय, सार्वजनिक संस्थाहरुले पनि सकभर विद्युतीय सेवा प्रदान गर्ने, कर्मचारी उपस्थित भएरै प्रदान गर्ने सेवाका हकमा ५० प्रतिशत कर्मचारीको सिफ्ट बनाएर भिडभाड नगरी कार्यालय सञ्चालन गर्नुपर्ने भनिएको छ ।
उक्त अवधिभर सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीहरुले आफ्नो कार्यालयको समय अघि र पछि आवतजावत गर्न तथा सरकारी नम्बर प्लेटका र कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारी साधन आफ्नो कार्यालयको परिचयपत्र देखाई प्रयोग गर्न पाउने छन् ।
जिल्ला प्रशासनले औद्योगिक क्षेत्रको हकमा सम्बन्धित उद्योग प्रतिष्ठानहरुले स्वास्थ्य प्रोटोकल पालना गरी उद्योग सञ्चालन गर्नुपर्ने र त्यस्ता उद्योग प्रतिष्ठानहरुमा प्रयोग गर्ने कच्चा पदार्थहरु ल्याउन र उद्योगबाट उत्पादित सामानहरु बजारमा लैजान कुनै बाधा नपर्ने भनेको छ ।
सुनसरी प्रशासनले दोस्रो पटक जिल्ला निषेधित क्षेत्र घोषणा गरेको हो । यदी कसैले निषेधाज्ञाको पालना नगरेमा वा अवज्ञा गरेमा कारवाही गर्ने प्रशासनले जनाएको छ ।









