संवैधानिक निकायमा भागवण्डाका आधारमा पदाधिकारी नियुक्त नगर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । पूर्वप्रशासक एवं वरिष्ठ अधिवक्ताहरुले संवैधानिक निकायमा राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्त नगर्न  सरकारको ध्यानाकर्षण गराएका छन् ।

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका ४० पदमा राजनीतिक दलले भागवण्डाका आधारमा आफ्ना मान्छे नियुक्त गर्न लागेको खबर बाहिरिएपछि उनीहरुले सामूहिक रुपमा संवैधानिक निकायको पवित्रता कायम राख्न माग गरेका हुन् ।

१४ जना विशिष्ट व्यक्तिहरुले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले राजनीतिक संलग्नताका आधारमा संवैधानिक निकायमा गरिने नियुक्तिको विरोध गर्दै सबैले आ-आफ्नो ठाउँबाट खबरदारी गर्न आग्रहसमेत गरेका छन् ।

जारी विज्ञप्ति

विभिन्न संवैधानिक निकायमा खाली रहेका पदमा नियुक्ती सम्वन्धमा मुलुकका प्रमुख नेताहरु बिच छलफल भई खाली पदहरु भागबण्डाको आधारमा पूर्ति गरिने सहमती भएको भन्ने जसरी विभिन्न सार्वजनिक सञ्चार माध्यमहरुमा समाचार संप्रेषण भएका छन, तिनप्रती हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । साथै संबैधानिक निकायकोभूमिका र यिनको प्रभावकारिता माथी चिन्ता लाग्न थालेको छ ।

विभिन्न संबैधानिक निकायका पदाधिकारीहरू योग्यता, कार्यक्षमता र इमान्दारिताका आधारमा नियुक्ति नभई राजनीतिक आस्था र संलग्नताका आधारमा नियुक्त गरिने प्रथा शुरु गरिनाको कारणबाट संवैधानिक निकायको आबश्यकता र औचित्य माथी प्रश्न उठने गरेको सबैमा बिदित नै छ ।

सम्बैधानिक निकाय स्वतन्त्र र निश्पक्ष हुनु पर्नेमा कसैको दुई मत हुन सक्तैन्। यीनलाई सरकार र राजनीतिक दलहरुको छाँया बन्न नदिन नागरिक सजग हुन अत्यन्त आवश्यक भई सकेको छ ।

साथै भाग बण्डाको आधारमा नियुक्ति मान्य छैन भन्ने आवाज शसक्त रुपमा उठाउन ढिलो गरिन हुन्न भन्नेमा हामी विश्वस्त भएका छौँ ।
संबैधानिक निकायको पवित्रता कायम गर्न, यिनको शाख बढाउन तथा सत्तासिन दल लगायत अन्य राजनीतिक दलका छाँया बन्नबाट यी निकायलाई जोगाइनु पर्दछ भन्नेमा हामी विश्वस्त छौं ।

संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति सँग जोडिने सबैलाई राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर स्वतन्त्र, निष्पक्ष र इमान्दारीपूर्वक योग्य ब्यक्तिको छनोट तथा सिफारिसको सहज र अनुकूल वातावरण सिर्जना गर्नको लागि हामी आग्रह गर्दछौं ।

समग्रमा, इमान्दारीता, कुशलता, दक्षता, प्राज्ञिक सक्षमता, नेतृत्वदायी कौशलता र सदाचार जस्ता मापदण्डको कसीमा उत्रिएका ब्यक्तिहरुमात्र संबैधानिक निकयमा नियुक्त गरिनु पर्दछ भन्ने आवाज उठाउँदै, यस प्रति सम्वन्धित सबैको ध्यान आर्कषण गराउन चाहान्छौं । साथै यस आवाजलाई सर्मथन जनाउनुहुने सवैले आआफ्नो ठाउँबाट खबरदारी गर्न पनि हामी आग्रह गर्दछौँ ।

अपिलकर्ताहरु
१. वरिष्ठ अधिबक्ता श्रीहरी अर्याल
२. पूर्व सचिव श्याम प्रसाद अधिकारी
३. पूर्व सचिव भरतबहादुर थापा
४.चीनिया बस्नेत, महाराजगञ्ज
५. पूर्व ए. आइर्. जी. डा.ठाकुरमोहन श्रेष्ठ
६. पूर्व ए. आइर्. जी. डा.गोविन्दप्रसाद थापा
७. पूर्व  ए. आइर्. जी अनन्तराम भट्टराई
८ पूर्व ए. आइर्. जी रविराज थापा
९. वरिष्ठ अधिबक्ता डा. सुरेन्द्र भण्डारी
१०.वरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपाने
११.ब्यबस्थापन बिज्ञ श्री कृष्ण देवकोटा
१२.पूर्व सहायक रथी श्री रामकृष्ण थापा
१३.पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात
१४ द्वारिकानाथ ढुङ्गेल, बानेश्वर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =