कोरोना रोकथाम नियन्त्रणमा १३ अर्ब ३७ करोड खर्च, कुन प्रदेशले कति खर्च गरे ?

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण र त्यसबाट संक्रमितको उपचारका लागि तीनवटै तहबाट अहिलेसम्म १३ अर्ब ३७ करोड ३१ लाख ५६ रूपैयाँ खर्च भएको जनाएको छ । सरकारले आज कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचारमा अहिलेसम्म उक्त खर्च भएको बताएको हो ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले साउन मसान्त सम्मकाे खर्च विवरण सार्वजनिक गरेका हुन् ।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार संघीय सञ्चित कोष र कोरोना कोषबाट ५ अर्ब ८४ करोड रूपैयाँ खर्च भएको छ । त्यसमा कोरोना कोषको १ अर्ब ३ करोड रूपैयाँ समेत समावेश गरिएको प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।

प्रदेश सरकारको तर्फबाट भएको खर्च १ अर्ब ४९ करोड, स्थानीय तहबाट भएको खर्च ६ अर्ब २ करोड रूपैयाँ गरी कूल ११ अर्ब ९८ करोड रूपैयाँ खर्च भएको हो ।

संघीय सरकारबाट भएको निकासामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख ५० हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रूपैयाँ खर्च भएको सरकारको दावि छ ।

संघबाट भएको निकासामध्ये औषधि र स्वास्थ्य सामग्री खरिदका लागि १ अर्ब ७५ करोड, स्वास्थ्य पूर्वाधारका लागि २ अर्ब ९३ करोड, जनशक्ति परिचालनका लागि ५ करोड ७४ लाख र क्वारेन्टिनका लागि १ करोड २४ लाख रूपैयाँ खर्च भएको बताइएको छ ।

यता प्रदेश १ बाट २० करोड ७१ लाख, प्रदेश २ बाट १७ करोड २ लाख, बागमती प्रदेशबाट १३ करोड ६७ लाख, गण्डकी प्रदेशबाट १८ करोड ५४ लाख रुपैंया खर्च भएको छ ।

प्रदेश नं ५ बाट १० करोड ५९ लाख, कर्णाली प्रदेशबाट २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशबाट ४२ करोड ८८ लाख रूपैयाँ खर्च भएको छ । सातवटै प्रदेशको कोषमा अब ८७ करोड ८५ लाख रूपैयाँ बाँकी रहेको जनाइएको छ ।

[wp-embedder-pack width=”700″ height=”400px” download=”all” download-text=”” attachment_id=”99977022976″ /]

उपत्यकामा ६ हजार आइसोलेसन बेड व्यवस्था गरीने

सरकारले काठमाडौं उपत्यकामा रहेका अस्पताल र मेडिकल कलेजहरूमा कम्तीमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा कोरोना संक्रमण उच्च गतीमा बढ्दै गएको निष्कर्ष निकाल्दै नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो ।

आइसोलेसन बेड बनाउन संयोजन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिएका छन् ।

बैठकले अन्तर जिल्ला आवागमन र सीमा क्षेत्रमा आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता डा. खतिवडाले स्वास्थ्य प्रोटोकलहरूको अनिवार्य रूपमा पालना गर्ने र गराउने समेत निर्णय भएको जानकारी दिए । मापदण्ड र प्रोटोकल पालना नगर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने समेत सरकारको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =