कोशी कोभिड उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सेवा सुरु

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको छ ।
कोरोनाका लक्षणसहितका सङ्क्रमितको उपचार गर्ने गरी आइसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका सङ्क्रमितलाई स्थानीय तहमै उपचारको प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए । उनले भने,‘लक्षण भएकालाई विराटनगर ल्याइने छ ।’ क्वारेन्टाईन र आइसोलेसनलाई व्यवस्थित गरेर मात्र कोरोना सङ्क्रमणको निदान हुने मन्त्री घिमिरेले बताए ।
कोशी कोभिड उपचार केन्द्रमा १० वटा आइसियु बेड, २ वटा फिक्ड र ३ वटा पोर्टेवलसहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आइसियुमा हाल ३ जना व्यक्तिहरू उपचाररत छन् । आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोसी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको छ । थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आइतबारबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।
गत चैत २१ गतेदेखि सञ्चालनमा ल्याइएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना सङ्क्रमितलाई भर्ना शुरु गरिएको थियो । उपचार केन्द्रमा हालसम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरी २ सय ७४ जना डिस्चार्ज भएका छन् । सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।
उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरी ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डा. दीपक सिग्देलले बताए ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको सञ्चालनका लागि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल, डा. डेन आचार्य, डा. रुपेश गामी सम्मिलित विशेषज्ञ टिम रहेको छ । अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगत सम्मिलित व्यवस्थापन टिम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।









