निषेधाज्ञा अवज्ञा गर्नेलाई थुन्छौं, हामीलाई पूर्ण अधिकार छ : प्रजिअ दाहाल [भिडिओसहित]

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९)का संक्रमित ह्वात्तै बढेसँगै काठमाडौं उपत्यकाभित्र बुधबार (आज) रातिको १२ बजेबाट निषेधाज्ञा जारी गरिने भएको छ ।

मंगलबार (हिजो २०७७/०५/०३)सम्मको उपत्यकाभित्र देखिएका संक्रमितको संख्याले २५ सय नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमण बढेको र आम नागरिकहरु निर्वाध रुपमा हिँडडुल गर्न थालेपछि आफूहरु साताव्यापी निषेधाज्ञा गर्न बाध्य भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मकालु खबरसँगको कुराकानीको क्रममा भनेका छन् ।

‘संक्रमण बढेपछि निषेधाज्ञा गर्न बाध्य भयौं’
विशेषगरी उपत्यकाभित्र संक्रमण काबुमा नरहेपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज राति १२ बजेबाट निषेधाज्ञा गर्ने निर्णय गरेको प्रजिअ दाहालले बताए ।

“शुरुमा लकडाउन् गर्यौं, त्यसले पनि खासै राम्रो नतिजा देखाएन । खुलेपछि त झनै स्थिति भयावह भयो । नागरिकहरु पनि निर्वाध रुपमा हिँडडुल गर्न थाले ।” मकालु खबरसँग प्रजिअ दाहालले भने, ‘त्यसपछि हामी निषेधाज्ञा गर्न बाध्य भयौं ।’

यस्तै प्रजिअ दाहालले यो निषेधाज्ञाको प्रमुख उद्देश्य ‘मोबिलिटी’कम गराउन भएकोसमेत बताए ।

‘निषेधाज्ञा अवज्ञा गर्नेलाई कारबाही गर्छौं’
प्रजिअ दाहालले निषेधाज्ञाको पालना नभए कारबाहीमा उत्रिने बताएका छन् ।

आफूहरुलाई कारबाहीको पूर्ण अधिकार भएको बताउँदै उनले भने, ‘हामीलाई कैद सजाय गर्ने पूर्ण अधिकार दिइएको छ । निषेधाज्ञाको अवज्ञा गर्नेलाई हामी एक महिनासम्म थुन्न पनि सक्छौं ।’

‘अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कनुस्’
यसैगरी प्रजिअ दाहालले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कनु अनुरोध गरेका छन् ।

संक्रमणको पहिलो उपचार नै सोसल डिस्ट्यान्स र मास्कको प्रयोग भएको बताएका उनले आदेशको अवज्ञा नगर्नसमेत सुझाएका छन् ।

‘अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कनका लागि आम नागरिकमा अनुरोध गर्दछु । सरकारले मात्रै होइन, हामी आफैँ पनि सचेत बन्ने बेला हो यो ।’ उनले भनेका छन् ।

‘निषेधाज्ञाको मुख्य उद्देश्य मोबिलिटी कम गराउनु हो’
साताव्यापी निषेधाज्ञाको प्रमुख उद्देश्य मोबिलिटीमा कम गराउनु भएको प्रजिअ दाहालले बताएका छन् ।

मोबिलिटी कम भएको खण्डमा स्वतः संक्रमणदर घट्ने बताएका प्रजिअ दाहालले यसको मुख्य उद्देश्य नै त्यहीँ रहेको बताए ।

‘यसको मुख्य उद्देश्य भनेको मोबिलिटी कम गराउनु नै हो । मोबिलिटीमा कम भएको खण्डमा संक्रमण स्वतः घट्ने सम्भावना बढेर जान्छ ।’

यस्तै उनले आदेश सम्पूर्ण उपत्यकाबासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्नसमेत बताएका छन् ।

भिडिओ यहाँ हेर्नुस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *