क–कसले सम्झिए राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ?

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ः५५ बजे निधन भएको छ । कपुरधारा स्थित घरमै १ सय १ वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको निधन भएको हो ।

राष्ट्रकविको निधनमा राष्ट्रपति, प्रधानमन्त्री देखि विभिन्न पार्टीका प्रमुख नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकविको निधनमा आफु स्तब्ध भएको बताएकी छन् । आजै साँझ ट्विटमा उनले राष्ट्रकविले काव्य र कविताका माध्यमबाट राष्ट्र, राष्ट्रियता र नेपाली साहित्यको श्री वृद्धिमा उनले पुर्याएको योगदानलाई सधैं सम्झने बताएकी छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरे घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका विशिष्ट साधक गुमाएको बताएका छन् । उनले घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्लै नभुल्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि नेपाली साहित्यको एउटा कालखण्डले विदाई लिएको बताएका छन् । राष्ट्रकवि घिमिरेले नेपाली साहित्यको माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने बताएका छन् ।

स्वर्गिय राष्ट्रकबि माधब प्रसाद घिमिरे

पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले पनि राष्ट्रकबि माधब प्रसाद घिमिरेको १०१ बर्ष ११ महिनाको उमेरमा दुखद निधन भएको खबरले स्तब्ध बनाएको बताएका छन् ।

उनले नेपाली साहित्यको मध्यकाल देखि बर्तमान कालसम्म राष्ट्रकबि घिमिरको महत्वपूर्ण योगदान रहेको खनालले बताएका छन् । ‘वहाँका बिभिन्न शैलीका कबिता, खण्डकाब्य, शोककाब्य, निबन्ध, गीतिनाटक साथै गीत सङग्रहहरु महत्वपूर्ण छन् । वहाँ पद्य कबितामा अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो ।’ खनालले भनेका छन् ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रकविको निधनले मर्माहत बनाएको बताउँदै घिमिरेले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि राष्ट्रकविको स्मरण गरेका छन् । उनले नेपाली साहित्यका मुध्र्यन्य व्यक्तिको निधन भएको बताउँदै नेपाली साहित्य क्षेत्रका पुर्याएको योगदानको स्मरण गरेका छन् ।

यस्तै नेकपाका उपाध्यक्ष बामदेव गौतमले पनि राष्ट्रकविको निधनमा शोक व्यक्त गरेका छन् । नेता गौतमले राष्ट्रकवि नेपाल राष्ट्रको साहित्यिक धरोहर भएको बताउँदै राष्ट्रलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रकवि माधब प्रसाद घिमिरेले सृजना गरेको कविता शेयर गर्दै श्रद्धाञ्जली दिएका छन् ।

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको”
राष्ट्रकवि माधव घिमिरेको निधनसँगै नेपाली वागमयको एउटा युग समाप्त भयो ।’ थापाले भनेका छन् ।

कांग्रेस नेता गगन थापाले पनि राष्ट्रकवि घिमिरेका कविताका अंश उल्लेख गर्दै श्रद्धाञ्जली दिएका छन् । भने, राप्रपा नेता दीपक बोहराले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

स्वर्गिय राष्ट्रकवि घिमिरेको भोली पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *