यी उमेर समूहका बच्चालाई लगाइदिनु हुँदैन मास्क !

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको असर उद्योगी, व्यवसायीमा बढी असर पर्ने आँकलन गरिएको भएतापनि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा बालबालिकामा पनि परिरहेको छ ।

कोरोनाको हालको संक्रमणकालीन परिस्थितिले बालबालिकाको ‘बाल अधिकार’ समेत हनन् गरेको छ । न उनीहरु स्वतन्त्र रुपमा खेल्न पाएका छन् न त पढ्न नै । विद्यालयहरु बन्द छन् । त्रास र अन्यौलको वातावरण सिर्जना भएको छ ।

केही महिनाअघि संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जारी गरेको प्रतिवेदन हेर्ने हो भने लकडाउनका कारण अभिभावकले आर्थिक अभाव झेल्नुपर्दा बालबालिकाको हेरचाह र खानपानको अवस्था समेत नाजुक बन्दै गएको छ ।

हालैमात्र विश्वका कम्तीमा पनि ४ करोड बालबालिकाले प्रारम्भिक शिक्षा लिने, विद्यालय जाने र खेल्ने लगायतको वातावरण नपाएको अथवा यस्ता कार्यबाट बालबालिका बञ्चित हुन पुगेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख थियो ।

लकडाउनकाे अवस्थामा बालबालिकाको हेरचाह कसरी गर्ने ? संक्रमणबाट कसरी जोगाउने ?

बालबालिका परिवारकै रेखदेखमा हुर्किने हुँदा उनीहरुलाई संक्रमणबाट जोगाउन परिवारको ठुलो भूमिका हुन्छ । अभिभावकले अहिलेको अवस्थामा आफ्नो बच्चा कहाँ जान्छ, के गर्छ निकै हेरविचार गर्नुपर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंह बताउँछन् ।

‘नचिनेका बच्चाहरुसँग खेल्न पठाउनु राम्रो हुँदैन यो समय । अरुसँग खासै हेलमेल हुन नदिने । यो संक्रमणकालीन अवस्थामा बच्चालाई आफैँसँग सुरक्षित राखेर घरैमा खेलाएको राम्रो हुन्छ । मनोरञ्जनात्मक, सिर्जनात्मक क्रियाकलापहरु पनि गराउन सकिन्छ’, डा. सिंहले भने ।

भीडभाडमा जान दिन नहुने पनि उनले बताए । ज्वरो आएका बच्चाहरु छन् भने उसले खोक्दा, हाच्छयुँ गर्दा अभिभावक टाढै बसेको राम्रो हुन्छ । अथवा बच्चालाई ती क्रियाकलापका समयमा मुख छोप्न सिकाउनुपर्छ । यस्तै व्यक्तिगत सरसफाइमा ध्यान दिने, साबुनपानीले राम्रोसँग हात धुने लगायतका आनीबानी बच्चाहरुलाई सिकाउनुपर्छ । अध्यययन पनि गराउन सकिन्छ ।

बालबालिकालाई संक्रमणबाट जोगाउन सर्वप्रथम त अभिभावक आफैँ सुरक्षित रहनुपर्ने बालरोग विशेषज्ञ डा. सिंह बताउँछन् । ‘बालबालिकामा प्राय अभिभावकबाटै रोगहरु सर्ने हो । त्यसैले पहिले अभिभावक सुरक्षित रहनुपर्छ’, डा. सिंह भन्छन्– ‘अभिभावकले सावधानी अपनाउने हो भने बालबालिकामा संक्रमणको जोखिम कम हुन सक्छ ।’

अहिलेसम्मको तथ्यांक हेर्ने हो भने युवा, वृद्धवृद्धाहरुमा मात्रै कोरोना संक्रमण बढी देखिएको छ । यसो भन्दैमा बालबालिकामा कोरोनाको जोखिम छैन भन्ने हुँदैन । रोग लाग्न नदिने मुख्य उपाय भनेको सतर्कता रहेको उनको भनाइ छ ।

आफू पनि विना काम सकेसम्म बाहिर ननिस्कन र बच्चाहरुलाई पनि निस्कन नदिन उनको सुझाव छ । बालबालिकालाई घरैमा रहेका बेला पनि पौष्टिक आहारहरु खुवाउँदा उसको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने पनि उनले बताए । बेसार, तातोपानीको सेवनले पनि स्वास्थ्य राम्रो हुने उनको भनाइ छ ।

कस्ता खानेकुराहरु खुवाउने ?

रोगसँग लड्न तथा दिमागी विकासका लागि पोषण अत्यावश्यक तत्व हो । बालबालिकाको उमेर अनुसार खुवाउने खानाहरु फरक फरक हुन्छन् । ५ वर्ष मुनिका बच्चाहरुको खानपानमा अझै विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । समग्रमा शारीरिक, मानसिक विकासका लागि यो चरणमा पोषण अत्यावश्यक छ ।

                                                                                                                                         तस्विरः गुगल

उनीहरुको हरेक पटकको खानामा ४ समूहका खानेकुराहरु रहनुपर्छ । कन्दमुल, अन्नबाट कुनै एउटा, गेडागुडीबाट एउटा, पशुजन्य स्रोतका खानेकुराहरु जस्तैः माछा, मासु, अण्डा, दुध मध्ये कुनै एउटा र सागपात, फलफुल मध्ये कुनै एउटा हरेक छाकको खानामा अनिवार्य समावेश हुनुपर्छ ।

कति खुवाउने भन्ने कुरा बच्चाको उमेर अनुसार निर्धारण हुन्छ । नवजात शिशुलाई ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्छ । बच्चाका लागि यो अमृतसमान हुन्छ । रोगसँग लड्ने क्षमता समेत प्राप्त हुन्छ ।

बच्चा जन्मिएको ६ महिनासम्म त आमाको दुधमात्रै खुवाउनु पर्छ । ६ महिनादेखि ९ महिनासम्मको बच्चालाई लिटो, जाउलो र आमाको दुध पर्याप्त खुवाइयो भने पुग्छ । ६ महिनादेखि १२ महिनासम्मको बच्चालाई लिटो, जाउलो खानाको रुपमा र एकपटक खाजाको रुपमा फलफुलको हलुवा र रस, अण्डा उसिनेर खुवाउँदा बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।

दुई वर्षभन्दा माथिको बच्चाको हकमा खाना, खाजा गरेर त्यसमा पनि विशेषगरी अण्डा, अण्डासँग सम्बन्धित परिकारहरु, हरिया सागपातहरु धेरै पोषिलो हुने हुँदा दैनिक खानामा यी परिकारहरु समावेश गर्न सकिन्छ । राम्रोसँग पकाएर माछामासु, सागसब्जीको सुप पनि खुवाउन सकिने डा. सिंहले बताए । त्यस्तै ओखर, काजु, बदाम, पेस्ता, किसमिस, कटुस, छोकडाहरु पनि बच्चाको दिमागी विकासका लागि उपयुक्त हुने उनको भनाइ छ ।

बालबालिकामा कोरोनाको के–कस्ता लक्षण देखा पर्छन् ?

सबै उमेर समूहका व्यक्तिहरुमा कोरोनाका लक्षणहरु प्राय मिल्दोजुल्दो हुने डा. सिंह बताउँछन् । कोरोनाको संक्रमण भएमा रुघा लाग्ने । ज्वरो आउने । सुख्खा खोकी लाग्ने । थकान महशुष हुने । शरीर दुख्ने हुन्छ ।

कुनैकुनै बच्चाहरुमा झाडापखाला पनि देखिन सक्ने डा. सिंहले बताए । त्यस्तै आँखा रातो हुने । टाउको दुख्ने । सुगन्ध हराउने । स्वाद हराउने जस्ता लक्षणहरु पनि बालबालिकामा देखा पर्ने उनको भनाइ छ ।

कस्तो अवस्थामा बालबालिकाको ज्यान जाने जोखिम रहन्छ ?

कोरोना संक्रमित मृतकको तथ्यांक हेर्ने हो भने मधुमेह, फोक्सो र मुटुका बिरामी, दिर्घरोगीहरुको मृत्युदर बढी छ । बालबालिकामा पनि यस्तै केसमा मृत्युको जोखिम रहने डा.सिंहले बताए ।

‘बच्चैमा मुटु रोग, मधुमेह, फोक्सोको खराबी भने त्यस्ता बालबालिकालाई कारोनाको जोखिम बढी हुन्छ । उनीहरुमा कोरोना संक्रमण भयो र समयमा उपचार पाएनन् भने ज्यान समेत जान सक्छ’, डा. सिंहले भने ।

कोरोना लागेको आमाको दुधबाट बच्चामा संक्रमण सर्छ ?

डा. सिंहका अनुसार कोरोना लागेको आमाले बच्चालाई दुध खुवाउँदा दुधबाट बच्चामा संक्रमण फैलिँदैन । उनले भने, ‘आमाको दुधबाट बच्चामा कोरोना सर्छ भन्ने कुरा पुष्टि भएको छैन । कतै यस्तो घटना भएको पनि सुनिएको छैन । त्यसैले यदी कोरोना लागेको आमा छ भने उसले सुरक्षित तरिकाले बच्चालाई दुध खुवाउँदा हुन्छ ।’ यद्यपी भाइरसबाट जोगिनका लागि भने अन्य सावधानीहरू भने अपनाउनु पर्ने उनको भनाइ छ ।

युनिसेफले पनि लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा बच्चामा संक्रमण नसर्ने बताएको छ । उसले भनेको छ– ‘लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरि सफा गर्ने गर्नुपर्दछ जुन अन्य अवस्थामा पनि कोभिड–१९ भएको शंका लागेका वा संक्रमित बालबालिका तथा वयस्कहरु सँग अन्तक्र्रिया गर्दा अपनाउनुपर्ने हुन्छ ।’

आमा निकै नै अस्वस्थ भएको अवस्थामा भने उनको दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिने र भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू निरन्तर अपनाउनु पर्ने युनिसेफको भनाइ छ ।

यी उमेर समूहका बच्चालाई लगाइदिनु हुँदैन मास्क !

दुई वर्षमुनिका बालबालिकालाई मास्क लगाइदिन नहुने पनि डा. सिंहले जानकारी दिए । श्वासप्रश्वासमा अवरोध हुन सक्छ । अवरोध भएमा उनीहरु प्रतिक्रिया जनाउन पनि सक्दैनन् । ‘बरु भीडभाडमा नै नलैजाने तर मास्क लगाइदिनु हुँदैन’, डा. सिंहले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *