‘१४ औं महाधिवेशनमा मेरो उम्मेद्वारी जित्नकै लागि हो’

काठमाडौं । आगामी महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिमा जित्नेगरी उम्मेद्वारी दिने बताएका छन् । फागुनमा हुन गईरहेको १४ औं महाधिवेशनमा आफुले जित्ने गरी उम्मेद्वारी दिने डा. कोइरालाको तयारी छ ।
साथै कांग्रेस युवा नेता गगन थापासँग प्यानल बनाएर निर्वाचन लड्न सक्ने संभावना पनि रहेको डा. शेखर कोइरालाले बताएका छन् ।

एपीवानको ‘तमसोमा ज्योर्तिगमय’ कार्यक्रममा बोल्दै उनले सभापतिका प्रत्यासीहरु रामचन्द्र, शशांक, शेखर, कृष्ण सिटौला, गगन थापा, अर्जुननरसिंह, प्रकाशमानविच घनिभूत छलफल भइरहेकोले यी मध्येहरुबाट आफु सर्वसम्मत उम्मेद्वार हुने बताएका छन् । उनले महाधिवेशनमा आफ्नो प्रतिष्पर्धी शेरबहादुर देउवा मात्रै रहने पनि बताएका छन् ।

१४ औं महाधिवेशनमा डा. शेखर कोइराला सभापतिमा आउनुपर्छ भन्ने जनताको चाहना अनुसार आफु सभापतिको लागि योग्य भएको उनको तर्क छ । उनले आफु हिमाल, पहाड र तराईका सबै कार्यकर्ता र जनताले पत्याउने उम्मेद्वार समेत भएको बताए । यसैगरी युवापुस्ता र पुरानो पुस्तासँग मिलेर जानसक्ने बताए । ‘मेरो अनुभव र युवाहरुको उर्जालाई एकत्रित रुपमा अगाडी लिएर जानसक्छु ।’ डा. शेखरले भने ।

डा. शेखर काेइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस, तस्विर, एपी वानकाे भिडियाेबाट

सभापति पद लडेर लिने हो

पार्टीभित्र युवाहरुको राम्रो उपस्थिति भएपनि भूमीका नपाएको डा. शेखरको भनाई छ । पार्टीमा केन्द्रीय सदस्यले आफैं भूमिका खोज्नुपर्ने भएकोले पद र भूमिका थप्नुपर्ने पनि बताए । उनले नयाँपुस्तालाई अगाडी ल्याउँदै गर्दा पुरानाहरुलाई पनि सम्मानका साथ राख्नुपर्ने औंल्याएका छन् । सभापतिका लागि सबै सक्षम भएपनि पार्टी र युवाहरुको विचारलाई कसले बोक्न सक्छ भन्ने ठूलो कुरा रहेको बताउँदै सबैलाई सम्मान गर्दै युवाहरुलाई अगाडी बढाएर जानुको विकल्प नभएको पनि बताए ।

डा. कोइरालाले सभापति पद लडेर लिने पद भएको समेत बताउँदै आफु दिएर पद नलिने तर्क गरे । ‘रामचन्द्रजी, शेरबहादुरजीले जिरिजाबाबु, किशुनजी र गणेमानजीलाई भनेको हैन तपाईंहरुले छाड्दिनु पर्यो हामी लिन्छौं भनेर ? गिरीजाबाबु, किशुनजीले पनि छाड्नु भएन । उहाँहरु लडिरहनु भयो । शेरबहादुर जी पनि गिरिजाबाबुसँग लड्नु भयो, पराजित हुनुभयो, शुशिलदासँग लड्नु भयो पराजित हुनुभयो, तेस्रोपल्ट रामचन्द्रजी सँग लडेर जित्नु भयोनी ! यो लडेर लिने पद हो, कसैले दिएर लिने हैन । मलाई कसैले दिएर पद लिनु छैन ।’ डा. कोइरालाले भने ।

उनले पार्टीको सभापति एउटै हुने भएको बताउँदै भने–‘हामीले सल्लाह गर्ने हो, समझदारी गर्ने हो, छलफल गर्ने हो, सम्झाउने हो तर, पार्टीको सभापति त एउटै हुन्छ जतिसुकै उम्मेद्वार भएपनि जितेरै लिने हो, जित्छु ।’ अब आफुलाई ‘एक पल्ट पर्खिदेउ शेखर’ भनेर कसैले भनेपनि त्यो संभव नरहेको समेत बताए । ‘संभव छैन, त्यो मेरो भूल थियो ।’ डा. कोइरालाले भने । उनले आफु सभापति एकपल्ट मात्र हुने भएकोले जित्नकै लागि उठ्ने समेत बताए ।

पुराना र नयाँहरुको संमिश्रण

उनले उपसभापतिहरुमा अनुभवी र महामन्त्रीहरुमा युवाहरुलाई अगाडी बढाउने आफ्नो योजना रहेको समेत बताए । सभापति शेखर र निर्वाचित महामन्त्रीका रुपमा गगन थापा आउने संभावना अत्याधिक रहेको समेत उनको भनाई छ ।

गगन थापाले केन्द्रीय समिति र स्वास्थ्यमन्त्री भएर काम गर्दा राम्र्रो गरेको बताउँदै डा. शेखर र गगनको प्यानल १४ औं प्यानलमा देखिने संभव रहेको बताए । ‘घनिभुत छलफल भइरहेको छ । संभव छ ।’ उनले भने ।

१३ औं महाधिवेशनको समिकरण भन्दा १४ औं महाधिवेशनको समिकरण विल्कुलै फरक हुने समेत उनको तर्क छ । ‘ममा इमान्दारिता, क्षमता र युवाहरुमा आशा जगाउने आधारहरु पनि छ । हामीहरुले युवाहरुलाई कसरी प्रोटेक्ट गर्न सक्छौं त्यता पट्टी जान सक्यौं भने मात्र सफल हुन्छौं ।’

अनुभव भएकाले पार्टी चलाउन सकेनन्

उनले आफु राजनीतिक परिवारबाट आएको, जनताको कार्यकर्ताको दुखः देखेको र अफ्टेरोमा परेको मान्छेहरुका पक्षमा सोच्न सक्ने क्षमता रहेको पनि जिकिर गरे । कोइरालाले अनुभव नभएको भनेर छोड्न नहुने बताउँदै अनुभव भएकाहरुले गरेको काम पनि हेरेको बताए । ‘अनुभव भएकाले पार्टी र सरकार चलाएको हेर्नुस न ।’

आफुले झुटो आश्वासन कहिल्लै नदिने भन्दै नेता कोइरालाले लोकतान्त्रिक प्रणाली कमजोर भइरहेको, पार्टी भित्र आन्तरिक लोकतन्त्र समाप्त भएको र भातृ संगठन लथालिंग भइरहेकाले १४ औं महाधिवेशनपछि त्यसलाई मिलाउन सकिएन भने पार्टी र लोकतन्त्र समाप्त हुने समेत तर्क गरे । ‘१४ औं महाधिवशेनको ६, ८ महिना भित्र भातृ संगठनलाई मिलाउन सकेनौं भने त्यो समाप्त हुन्छ ।’

नेपाली कांग्रेस अहिले व्यत्तिवादी चरित्रमा हुर्किइरहेको समेत उनको भनाई छ । ‘हामीहरु किँ कर्तब्य विमुढ’ भएर हेरिरहेका छौं, लोकतन्त्र सकिइसक्यो, कार्यकर्ता भुत्ते भइरहेका छन्, तिनीहरुलाई जुझारु कसरी बनाउन सकिन्छ मेरो ध्यान त्यतातिर गइरहेको छ ।’

आन्तरिक लोकतन्त्र समाप्त भयो

नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र समाप्त भएको डा. शेखरको भनाई छ । ‘नेपाली कांग्रेस र लोकतन्त्र पर्यायवाचीका रुपमा मैले हेरेको छु, र अन्तराष्ट्रिय समुदायले पनि कांग्रेसलाई हेरी राख्या छ । किनभने लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस मात्रै छ अहिले । ‘तर, दुर्भाग्य भन्नु पर्यो कांग्रेसभित्र आन्तरिक लोकतन्त्रको अत्यन्त कमी छ, छैन भनेपनि हुन्छ ।’ उनले भने ।

आन्तरिक लोकतन्त्रको कमीको कारण विधिमा नचल्ने, विधानलाई नटेक्ने, मनपरीतन्त्र गर्न थालेपछि पार्टीमा लोकतन्त्र स्खलन हुन थालेको डा. कोइरालाको भनाई छ । उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएरै मनपरी भएको पनि बताए । डा. शेखरले भने–‘नेपाली कांग्रेसमा आज कति केन्द्रीय सदस्य छन् भनेर सोध्नुहुन्छ भने उहाँलाई थाहा छैन होला । १०, १५ दिनपछि केन्द्रीय समितिको बैठक बस्ला त्यो दिन फेरी थपिइसकेको हुन्छ । यसरी त पार्टी चल्दैन ।’

उनले कांग्रेस अध्यक्ष्यतात्मक पद्दतिबाट चल्ने भएकोले पार्टीमा के भइरहेको छ आफुहरुलाई थाहासमेत नहुने जिकिर गरे । आफुहरु सभापतिको कार्यशैली प्रति हस्तक्षेपकारी र मुकदर्शक दुवै हुन नसकेको तर्क गरे । केन्द्रीय सदस्यमा दुई तिहाई शेरबहादुर देउवा पक्षको रहेकाले पनि हस्तक्षेप गर्न सक्ने अवस्था नरहेको डा. कोइरालाको भनाई छ ।

उनले कांग्रेस मासवेस पार्टी भएपनि अहिलेको अवस्थामा हुन नसकेको ठोकूवा गरे । ‘कांग्रेस मासवेस पार्टी हो, जुनदिन क्याडरवेस हुन्छ यो समाप्त हुन्छ । अहिले सभापति बन्नकै लागि यो सब भइरहेको छ ।’ उनले पार्टी सभापतिले आफ्नो बर्चस्व कायम गर्नका लागि क्रियाशिल सदस्यता समेत केन्द्रीय समितिबाट वितरण गर्ने अवस्था बनाईरहेको पनि बताए ।

जनमत संकलन कहाँ छ ?

उनले संविधानसभामा जनमत संकलन गरेको स्मरण गर्दै त्यसलाई अहिलेसम्म नखोलिएको जिकिर गरे । ‘हामीले संविधानसभामा जनमत संकलन गर्यौं, त्यसको पोको आजसम्म खोल्न सकिएको छैन । जनमत संग्रह खोलेर हेरे हुन्छ नी ।’

जनमत संकलन खोल्दा त्यहाँ एउटामात्र इस्यू नहुने बताउँदै अहिलेको कन्टेष्टमा यो संविधान रहन्छ कि रहँदैन भन्ने पनि देखिने तर्क गरे । ‘संघियता अहिले असफल भयो भन्छौं नी, असफल किन भयो भन्दा कम्युनिस्टहरु त जनवादी केन्द्रीयतामा विस्वास गर्छन् । उनीहरु संघियता चाहँदै चाहँदैनन् ।’ उनले भने । साथै डा. कोइरालाले सकारात्मक सोचाईंबाट गए संघियता चलाउन सक्ने बताए ।

कम्युनिस्टहरु जनवादी केन्द्रीयतामा विस्वास गर्ने, केन्द्रीकृत पावरलाई एक्सरसाइज गर्ने भएकोले उनीहरुमाथि विस्वास गर्न नसकिने पनि डा. शेखरको तर्क छ ।

धर्म र राजनीति फरक फरक, गौबध गर्न पाईंदैन

धर्मनिरपेक्षताका सन्दर्भमा १३ औं महाधिवेशनमा हस्ताक्षर समेत भएकोले १४ औं महाधिवेशनमा त्यसले प्रवेश पाउन सक्ने डा. शेखरको संकेत छ ।

धर्मको बारेमा धेरै छलफल संविधानसभाको बेलामा भएको बताउँदै उनले संविधानमा सनातनदेखि चलिआएको धर्मको संरक्षण गर्ने भनेपनि गर्न नसकेको, गाई राष्ट्रिय जनावर भएकोले गौबध गर्न पाईंदैन स्पष्ट भएपनि भइरहेको तथा संविधानमा प्रलोभनमा धर्मपरिवर्तन गर्न दण्डनीय छ भनिएपनि कार्यान्वयन नभएको बताए ।

उनले धर्म र राजनीति फरक फरक भएको बताएका छन् । धर्मको विषय पार्टीभित्र आइसकेको बताउँदै डा. शेखरले पार्टीमा आएर मात्रै त्यो विषय समाधान नहुने भएकोले त्यसलाई संविधानमै लेखिनुपर्ने बताएका छन् । र, संविधानमा लेखिनका लागि कि पहिले जनमत संग्रह हुनु पर्ने कि जनमत संकलन हुनुपर्ने या संविधाननै कोल्याप्स हुनुपर्ने नेता कोइरालाको भनाई छ ।

‘संविधानमा लेखिनका लागि जनमत संग्रह हुनुपर्यो, या त्योभन्दा पहिला जनमत संकलन हुनुपर्यो, नेपालमा धर्मको नाममा अफिइवुल हुनुपर्यो या संविधानै कोल्याप्स गर्नुपर्यो । अनी मात्रै हुन सक्छ ।’ डा. कोइरालाको तर्क छ ।

डा. कोइरालाले सैद्धान्तिक रुपमा धर्मको विषयमा जनताहरुले उठाएको प्रश्नहरु जायज भएको बताए पनि प्राथमिकतामा संविधानमा भएका कुराहरुलाई कार्यान्वयन गर्दै जानुपर्ने बताएका छन् । ‘उहाँहरु शुरुमै आन्दोलनको कुरा गर्नुहुन्छ । आन्दोलन गर्दैमा हिन्दु राष्ट्र हुने हैन जनमत बनाउँदै लानुपर्छ ।’

प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिएन

नेता कोइरालाले पार्टीले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको स्विकार गरेका छन् । सांसदहरुको भूमिका पनि कमजोर भएको तर्क छ । ‘संसदमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका खेल्नु पर्दथ्यो तर, नेकपाभित्रको एउटा गुटले खेलिरहेको छ ।’ उनले भने ।

कोइरालाले प्रजातान्त्रिक पद्दतिमा कुनै न कुनै रुपमा प्रतिपक्ष रहिरहनु पर्ने बताए । सरकारले निती तथा कार्यक्रम ल्याउँदा नै सर्वसम्मत पास गर्न दिएर नगर्नु गल्ती गरेको पनि बताए । ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम पास गर्नु भनेकै नेपाली कांग्रेसको ठूलो गल्ती हो । त्यहाँ देखि कांग्रेस सत्तापक्ष होकि प्रतिपक्ष हो छुट्टिएर गएको छैन ।’

उनले कांग्रेसमा जवाफदेहिता दिन सक्ने, जिम्मेवारी लिन सक्ने, शुशासन दिन सक्ने र भ्रष्टाचारको बारेमा बोल्नै सक्ने अवस्था नभएको जनाए । सरकारले गरेका हरेक भ्रष्टाचारमा कांग्रेसले बोल्न नसकेको आरोप लगाए ।

०६२/०६३ सालतिर स्थानीय तहमा सरकार नहुँदा मिलिभगतमा भ्रष्टाचार भएकोमा अहिले केन्द्रमा त्यहि भइरहेको डा. कोइरालाको भनाई छ ।

कम्युनिस्टहरुसँगको सहकार्य पुनरावलोकन गर्नुपर्छ

कांग्रेसले आफ्नो मौलिकता कायम राख्न नसकेको पनि तर्क गरेका छन् । वीपीले कम्युनिस्टहरुसँग दुरी कायम गर भनेपनि कांग्रेसले गर्न नसकेको बताउँदै अब पार्टीले कम्युनिस्टहरुसँगको सहकार्यलाई पुनरावलोकन गर्नुपर्ने पनि बताए ।

पार्टीभित्र विचलन आयो

उनले वीपी कोइरालाले अंगिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई टेकेर अगाडी जानुपर्ने बताउँदै पार्टीभित्र विचलन आइरहेको बताएका छन् । ‘वीपीले राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लग्नुपर्छ नत्र नेपाल सधैं अफ्टेरोमा पर्छ भनिरहनु हुन्थ्यो । त्यहि विषय लिएर नेपाल फर्कनु भएको थियो । हामीले यसलाई विर्सिएका छैनौं तर, कताकता असमन्जस्यता छ ।’ उनले भने ।

उनले आजभन्दा ५० वर्षअघि वीपीले भनेको भनाई सापेक्ष रुपमा पुनरावलोकन गर्नुपर्ने बताए । ५० वर्षअघि एउटा छाप्रो, दुहुनो गाई भनेजस्तै अब शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयहरु उठाउनु पर्नेमा जोड दिए ।

उनले नेपाली कांग्रेस अलिकति कन्जरभेटिभ पार्टी भएको र आफुले त्यसलाई लिवरल बनाउन खोजेको पनि बताएका छन् । पार्टीमा सिनियर जुनियर भन्ने रहेको बताउँदै आफुले त्यसलाई परिवर्तन गर्न खोजिरहेको र त्यसकै लागि आफ्नो उम्मेद्वारी रहेको पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =