देउवालाई निधिको आग्रह : ‘म सभापतिमा उठ्ने हो, सहयोग गर्नुस्’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई आफूलाई सभापतिमा उठ्दा सहयोग गर्न आग्रह गरेका छन् ।

देउवा निवास बूढानीलकण्ठ पुगेका उपसभापति निधिले देउवालाई आफूलाई १४औं महाधिवेशनमा सभापतिमा उठ्दा सहयोग गर्न आग्रह गरेका हुन् । उनीहरुबीच करिब दुई घण्टा ‘वान टू वान’ कुराकानी भएको थियो ।

फागुन ७ हुने महाधिवेशनमा आफू सभापति उठ्ने तयारी गरेकोले अहिलेदेखि समर्थन गरी सघाउन निधिले सभापति देउवालाई भेटेरै जानकारी गराएको स्रोतले बताएको छ ।

भेटमा सभापति देउवाले यो महाधिवेशनमा आफूलाई नै सघाउन निधिलाई आग्रह गरेका थिए । कांग्रेस महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरेर अगाडि बढ्न सके मात्रै अब आउने चुनावमा कांग्रेस पहिलो पार्टीका रूपमा फेरि उदाउने निधिको भनाइ थियो ।

भेटमा निधिले देउवाकै साथ र समर्थनमा आफू सभापति उठ्न चाहेको बताएका थिए । सभापतिका लागि उठ्ने तयारी गरिरहेका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि निधिले दुई साता अगाडि भेटेर आफूलाई सभापतिमा सघाउन आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *