दुहवीमा समुदायमै पुग्यो कोरोना संक्रमणः कसरी नियन्त्रण गर्ने ?

सुनसरी । सुनसरीको क्षेत्र नं. ३ दुहवीमा कोरोना भाइरस समुदाय स्तरमै पुगेको छ । आज एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै दुहवीमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको आशंका गरीएको छ ।

आजमात्र दुहवीमा ३ वर्षका बालक सहित २ जना ५ वर्षका बालकहरुमा पनि कोरोना संक्रमण देखिएको छ । दुहवी नगरपालिका स्वास्थ्य शाखाका अनुसार दुहवीको ६ नम्बर वडामा मात्रै ८ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म दुवहीका ३६ जनामा कोरोना संक्रमण देखिएकोले यहाँ समुदाय स्तरमै कोरोना फैलिएको अनुमान गरीएको छ ।

दुहवी नगरपालिकाले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेपनि आम जनसमुदायले लकडाउनको पालना नगरेकोले कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको जनस्वास्थ्य विज्ञहरुको बुझाई छ । दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपानेले दुहवीमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिइसकेको बताए । खासगरी बाहिरबाट आएका ब्यक्तिहरुसँग सम्पर्कमा नरहेका, परीवारलाई नै कोरोना संक्रमण देखिएकोले दुहवीमा कोरोना समुदाय स्तरमै पुगेको हो ।

दुहवी नगरपालिकामा स्वाब संकलन गरिँदै ।

‘दुहवीमा शुरुमा कपाल काट्ने नाईमा कोरोना संक्रमण देखियो, उनी घरघर गएर कपाल काट्ने गर्दथे, कहाँबाट सर्यो थाहा हुने कुरै भएन । त्यसपछि घर परीवार भन्दा बाहिर कतै सम्पर्कमा नगएकाहरुलाई पनि देखियो । कुनै परीवारका सबैलाई देखिएको छ । यो सबै हेर्दा यहाँ कोरोना संक्रमण अब समुदाय स्तरमै पुगेको अनुमान गर्न सकिन्छ ।’ न्यौपानेले भने ।

दुहवी नगरपालिकाले हिजोबाट मास टेष्टिङ शुरु गरेपनि आजै मात्र १३ जनामा कोरोना संक्रमण देखिएपछि अब मास टेस्टिङ गर्ने नगर्ने द्विविधामा छ । ‘आज मात्रै १३ जनामा देखियो, एकै घरमा परीवार नै छन् । कसलाई गर्ने कसलाई नगर्ने हामी आफैं द्विविधामा पुगेका छौं ।’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाई छ ।

उनले दुहवीमा कोरोना समुदाय स्तरमा पुग्नुको मुख्य कारण जनचेतनाको अभाव, गरिबी तथा अव्यवस्थित बसोबास रहेको जनाए । कतिपय वस्तीहरुमा संयुक्त परीवार रहेको र उनीहरुको शौचालय देखि भान्साकोठा र सुत्ने कोठा समेत संयुक्त रहेकाले एक जनालाई संक्रमण भइहालेमा परीवारलाई नै संक्रमण फैलिएको हुन सक्ने बताए । ‘पुस्तौपुस्ता एकै ठाउँमा एउटै परीवारमा बसेकालाई हामीले तत्कालै फरक–फरक बस्नुपर्छ भन्न सक्दैनौं । फेरी गरिबी र सचेतनाको अभावले पनि गाह्रो भइरहेको छ । खासगरी दुहवी बजार र दक्षिणी भेगहरुमा यो समस्या छ ।’ न्यौपानेले भने ।

अव्यवस्थित बजार र भिडभाडले पनि दुहवीमा काेराेना संक्रमण बढ्दाे छ ।
प्रमुख प्रशासकीय अधिकृत विनाेद कुमार न्यौपाने, दुहवी नगरपालिका

दुहवी नगरपालिकाले नेपालमा कोरोना संक्रमण फैलिएसँगै सचेतना र सरसफाइका साधनहरु वितरण गरेपनि प्रभावकारी हुन सकेन । चैत्रदेखि नै नगरपालिकाले स्थानीय स्तरमै मास्क, सेनिटाइजर, सावुन वितरण गरेको थियो । तर, त्यसलाई सधैं प्रयोग गर्नुपर्छ भन्ने मानसिकता जनतामा विकास भएन । ‘हामीले चैत्र देखिनै कोरोनाबाट कसरी बच्ने, मास्क, सेनिटाइजर कसरी प्रयोग गर्ने भन्ने कुरा स्वास्थ्य सामग्री सहित समुदायमा पुगेर सचेतना दिएकै हौं । तर, यहाँका जनताले मास्क, सेनिटाइजर र साबुन छउन्जेल प्रयोग त गरे पुनः आफैं खरिद गरेर प्रयोग गर्नुपर्छ भन्ने सोच बनाएनन् ।’ न्यौपानेको तर्क छ ।
अर्को कुरा, दुहवीमा आइसोलेसनको समेत व्यवस्था छैन । नगरपालिका आफैंले आइसोलेसन र क्वारेन्टाइन बनाउन सक्ने हैसियत पनि नभएको नगरपालिकाको भनाई छ ।

नगरपालिकाले एक घर एक मास्क अभियान चलाएपनि आम जनताले त्यसको महत्व बुझ्न सकेनन् । त्यसो त नागरिकहरुले गरिबी र अशिक्षित समुदायमा नगरपालिकाले प्रभावकारी रुपमा कोरोना सचेतना नफैलाएको बताउँछन् । कतिपय नागरिकलाई थाहा भएर पनि अनुशाशित नभएकाले कोरोना संक्रमण फैलिएको हो ।

दुहवी खुल्ला क्षेत्र र औद्योगिक करिडोर भएकाले पनि जोखिम बढेको हो । पछिल्लो समय भारतबाट ठूल्ठूला मालवाहक सवारीमा आउनेहरुका कारण कोरोना फैलिएको अनुमान गरीएको छ ।

‘सामाजिक दुरी कायम गरी अनुशासनमा बसौं’

नेकपाकी नेतृ भगवती चौधरी पनि दुहवी क्षेत्र जातिय बाहुल्यता भएको तथा गरिबी, अशिक्षित समुदायको बसोबास भएकोले उनीहरुमा सचेतना फैलाउन नसकिएको बताउँछिन् । ‘जातिय, भौगोलिक, आर्थिक तथा सामाजिक अवस्थाले पनि यहाँ कोरोना संक्रमण फैलियो । बाहिरबाट आएका मानिसहरुलाई यहाँका स्थानीयहरुसँग सम्पर्कमा पुग्न नदिएको भए अहिले भयावहको स्थिति आउने थिएन ।’

भगवती चाैधरी, नेतृ, नेकपा

नेतृ चौधरीका अनुसार स्थानीय निकायले बेलैमा योजनाबद्ध रुपमा काम गरेको भए कोरोना संक्रमणलाई समुदाय स्तरमा पुग्नबाट रोक्न सकिन्थ्यो । ‘स्थानीय तहमा सचेतना फैलाएर, औद्यौगिक क्षेत्रहरुमा बाहिरबाट आवत जावतमा कडाइ गर्नुपर्दथ्यो ।’ चौधरीको भनाई छ ।

त्यसो त दुहवी कोरोना संक्रमण नियन्त्रणमा ल्याउन नसकिने हैन । त्यसका लागि स्थानीय तहले नै रणनीति बनाउन आवश्यक छ । ‘हरेक वडाहरु र टोलटोलमा गएर सचेतना फैलाउने, मास टेष्टिङलाई प्राथमिकता दिने, कोरोना संक्रमितलाई आइसोलेसनमा राख्ने, बढि जोखिम क्षेत्र पहिचान गरी शिल गर्ने तथा औद्योगिक क्षेत्रहरुमा बाहिरबाट आएकाहरुलाई पूर्ण रुपमा प्रवेश निषेध गरेको खण्डमा यो भयावह स्थिति नियन्त्रण गर्न सकिन्छ ।’ नेकपाकी केन्द्रीय सदस्य तथा पूर्वराज्य मन्त्री समेत रहेकी चौधरी भन्छिन् ।

उनले आम नागरिक पनि कोरोनाबाट बच्न सचेत हुनुपर्ने बताइन् । राज्यले सबैलाई एकै पटक हेर्न नसकेको अवस्थामा आम नागरिकले पनि राज्यले अपनाएका सुरक्षाका नियमहरु पालना गर्नुपर्ने उनको भनाई छ । ‘राज्यले जस्तो सुकै रणनीति अपनाए पनि जनताले त्यसलाई पालना गरेनन् भने त्यसको अर्थ रहँदैन । दुहवीको कुरा मात्र हैन देशैभरी कोरोना संक्रमण दिनप्रतिदिन फैलनुमा अलिकति नागरिकको पनि लापरवाही छ ।’ सरकारले घरभित्रै बस्नु, मास्क लगाउनु, सेनिटाइजर लगाउनु, साबुनपानीले हात धुनु भनेको छ । हामी सामाजिक तथा राजनीतिककर्मीहरुले पनि जनताको घरदैलोमा पुगेर आग्रह गर्यौं तर, नागरिकले त्यसलाई पालना गर्न सकेनन् ।’ चौधरी भन्छिन् ।

नेतृ चौधरीले कोरोनालाई जित्ने एउटै उपाय भनेको सामाजिक दुरी कायम गर्नु रहेकाले दुहवीबासीले त्यसलाई पूर्ण पालना गर्नुपर्ने बताइन् । अहिले हाट बजार जाने, भिडभाडमा जाने, रमाइलो गर्ने, होटल रेष्टुरेन्टमा भिडभाड गर्ने, बाहिरबाट आएकाहरुसँग सम्पर्कमा रहने समय हैन । घरभित्रै आफ्नो परीवारसँग रहेर जेछ त्यहि खाएर स्वास्थ्य सरसफाई र सामाजिक दुरी कायम गर्नुपर्ने नेतृ चौधरीको भनाई छ ।

उनले विश्वका ठूल्ठूला विकसित देशहरुले समेत कोरोना संक्रमण रोक्न नसकीरहेको बेला नेपाल जस्तो विकासशिल देशले एकै पल्ट कोरोनालाई जित्न नसक्ने बताइन् । ‘अमेरिका, बेलायत जस्ता शक्तिशाली देशहरु पनि कोरोनाको चपेटामा परेका छन् । राज्यले एकै पटक काम गर्न सक्दैन । हामी जनताहरु नै सचेत र सजग हुनु अहिलेको आवश्यक्ता हो ।’ उनले भनीन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =