नेकपा विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भित्रकाे जारी विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएकाे छ ।
आज (शुक्रबार) बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा साे कार्यदल बनाउने निर्णय भएकाे हाे । कार्यदलमा महासचिव पाैडेलसहित स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल रहेका छन् ।
अध्यक्षद्वयबीच सहमति हुन नसक्दा स्थायी कमिटी बैठक समेत राेकिएकाे अवस्था छ । दुवै अध्यक्षबीच पटक-पटक वार्ता हुँदा समेत निकास निस्किन नसकेकाे अवस्थामा कार्यदलले विवाद समाधान गर्न सक्ने अपेक्षा गरिएकाे छ । कार्यदललाई चाँडोभन्दा चाँडो सहमतिको खाका तयार पार्न निर्देशन समेत दिइएको छ ।
यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो। बिहीबारको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । अध्यक्ष प्रचण्डले बिहीबार नै ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश नं. ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले तीन बुँदे प्रस्ताव ल्याएको जानकारी दिएका थिए ।
नेकपामा असार १० गते बसेको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेपछि विवाद उत्कर्षमा पुगेको हो ।








