वीपी प्रतिष्ठानको जग्गा जमिन व्यापारीलाई दिने प्रस्तावको सर्वत्र विरोध

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेका भौतिक श्रीसम्पत्ति व्यापारीलाई जिम्मा लगाउने खेल भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेवि संघले घोर भत्र्सना गरेको छ ।

धरानमा आज पत्रकार सम्मेलन गर्दै तरुण दल र नेवि संघले छाताचोकस्थित पुरानो धरान अस्पतालको जग्गा र सुन्दर हरैंचामा रहेको जग्गा व्यापारीलाई जिम्मा लगाउने निर्णय हुन लागेकोले विरोध गरेको जनाएको हो ।

उनीहरुले स्थानीय निकाय र सरोकारवालाहरुसँग कुनै समन्वय नगरी प्रतिष्ठानका उपकुलपति र स्वास्थ्य मन्त्रीको स्वार्थमा प्रतिष्ठानको श्रीसम्पत्ति सकाउने खेल भएको भन्दै राजधानीमा भोली हुने सिनेटमा ती प्रस्तावहरु रोक्न माग गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै नेपाल तरूण दल तथा नेविसंघ, धरान ।

सुन्दरहरैचामा वीपी प्रतिष्ठानको नाममा रहेको जग्गामा नेकपाका नेता मदन भण्डारीको नाममा अस्पताल निर्माण गर्ने प्रस्ताव प्रति पनि दुई संगठनले आपत्ति जनाएका छन् । उनीहरुले वीपी प्रतिष्ठानको नाममा रहेको भौतिक सम्पत्ति व्यापारीलाई दिने निर्णय नसच्याए जस्तो सुकै आन्दोलन गर्ने बताएका छन् ।

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडी प्रदर्शन गर्दै तरूण दल र नेवि संघ ।

पत्रकार सम्मेलनमा बोल्दै तरुण दल धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले सुन्दर हरैचाको वीपीको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव कार्यकारिणी समितिबाट पास गरिसकेको भएपनि त्यसलाई तत्काल रोक्न माग गरे । धरानको छाताचौकको जग्गा र काठमाडौं, भक्तपुरको जग्गा व्यापारीलाई दिने निर्णय पनि सच्याइनु पर्ने उनीहरुको माग छ ।

दुवै संगठनले व्यक्तिगत स्वार्थको लागि आह्वान गरिएको सिनेट बैठक तत्काल स्थगित गर्न पनि माग गरेका छन् । नेवि संघ र तरुण दलले १५ बुँदे माग पनि सार्वजनिक गरेका छन् ।

कर्मचारी कल्याण समाजकाे पनि विराेध

यस्तै वीपी प्रतिष्ठान स्थित कर्मचारी कल्याण समाजले पनि प्रतिष्ठानको नाममा रहेको जग्गा व्यापारीलाई दिने गरि सिनेट बैठकमा प्रस्तुत हुन लागेको एजेण्डा स्वीकार्य नहुने जनाएको छ ।

समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले आज विज्ञप्ती जारी गर्दै ४४ औं सिनेट बैठकमा निर्णयार्थ प्रस्तुत हुन लागेको एजेण्डाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । समाजले बैठकको एजेण्डाहरुमा प्रतिष्ठानका सम्बद्ध पक्ष तथा सरोकारवालाहरुसँग व्यवस्थापन पक्षले छलफल नगरेको भन्दै विज्ञप्तीमा भत्र्सना गरिएको छ ।

‘प्रतिष्ठानका कर्मचारी, शिक्षक तथा सरोकारवालाहरुसँग छलफल नगरी पेश गरिने नियमावली, चल अचल सम्पत्तिलगायत कुनै पनि दीर्घकालिन महत्व राख्ने निर्णय यस समाजलाई स्वीकार्य छैन ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

महामानव वीपी कोइरालाको स्मरणमा स्थापित प्रतिष्ठानको सुन्दर हरैचास्थित जग्गामा जननेता मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउने प्रस्तावले राजनैतिक द्धन्द्व निम्त्याउने पदाधिकारीको वद्नियत रहेको पनि समाजले जनाएको छ । उक्त प्रस्ताव तत्काल फिर्ता लिन समाजले माग गरेको छ ।

पदाधिकारीको आन्तरिक द्धन्द्व र अनावश्यक शक्ति संघर्षले कोरोना अस्पताल सञ्चालन तथा समग्र अस्पताल व्यवस्थापनमा देखिएको अव्यवस्थालाई तत्काल अन्त्य गर्न र तीनै तहको सरकारसँग समन्वय गरि पुर्ण क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न माग गरेको छ ।

यता नेपाली कांग्रेस सुनसरी सचिव सुजेन्द्र तामाङले पनि प्रतिष्ठानको जग्गा जमिन व्यापारीलाई लिजमा दिने तथा महामानव वीपी कोइरालाको स्मृतिमा स्थापित वीपी प्रतिष्ठानको भौतिक सम्पत्तिमा अर्का नेताको नाममा अस्पताल बनाउने कार्य गलत रहेको जनाउँदै निर्णय सच्याउन माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =