दुईमा एकले मात्र मास्क लगाएपनि हुन्छ भन्ने प्रधानमन्त्री ओलीको भनाई गलत

काठमाडौं । गएराती एपीवान टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘द ब्राभो डेल्टा शो’ मा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणबाट बच्न दुई जना मध्ये एक जनाले मास्क लगाए हुने प्रकारको अभिब्यक्ति दिएका थिए । उनको भनाई गलत रहेको विशेषज्ञले बताएका छन् ।

कार्यक्रम सञ्चालक भुषण दाहालसँगको कुराकानीमा प्रधानमन्त्रीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले चालेका प्रयास र बजारमा उठेका जनविरोधका विषयमा कुरा गर्दा भने, ‘सब भन्दा बढि त दुरी कायम गर्नु हो । अहिले मैले किन मास्क फुकालेको छु भने, तपाईंसँग काफी दुरी कायम राखिएको छ । तपाईंले मास्क लगाउनु भएको छ । त्यसकारण मैले मास्क खोलेको छु । तपाईंले मास्क नलगाउने हो भने दुवैले मास्क खोल्न मिल्दैन । तपाईले लगाउनु भएको हुनाले मैले मास्क खोलेको हुँ ।’

प्रधानमन्त्री ओलीले पत्रकार भुषण दाहाललाई इङ्गित गर्दै दिएको अभिब्यक्ति जोखिमपूर्ण रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन् । उनले कोरोना संक्रमणबाट बच्न भेटघाट र छलफलमा सामाजिक दूरी कायम गरेर दुवै पक्षले मास्क लगाउनु पर्ने बताएका छन् ।

डा. पुनले आँखामा थुकको छिटा पर्ने सम्भावना हुने भन्दै एकअर्काबीच नजिक नजिक हुने सबैले मास्क लगाउन अनिवार्य हुने बताएका छन् । ‘नाक, मुख, आँखामा संक्रमितको थुकका छिटा पर्दा कोरोना सर्न सक्छ । मास्क लगाउँदा आँखा छोपिँदैन । तर पनि दुवैले मास्क लगाएर कुरा गर्दा थुकका छिटा उछिटिने जोखिम न्यून हुन्छ ।’ डा. पुनले भनेका छन् ।

साथै उनले उच्च ओहदामा रहेका व्यक्तित्वहरुले मास्क नलगाईं दिँदा समस्या झन बढ्ने पनि बताएका छन् । ‘उच्च ओहोदावालाले मास्क नलगाइदिँदा झन् समस्या हुन्छ । मास्क नलगाई उनीहरू बोल्दा छेउको व्यक्तिको आँखामा छिटा पर्न सक्छ । त्यसैले दुवैतर्फ मास्क लगाऔँ ।’ डा. पुनले ट्विटमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार प्रसारित कार्यक्रममा मास्क विना नै अन्तरवार्ता दिएका थिए ।

यस अघिपनि कोरोना भाइरसबाट बच्न प्रधानमन्त्री ओलीले दिएका अभिब्यक्ति विवादमा परेका थिए । उनले बेसारपानी खाए कोरोना रोक्न सकिने अभिब्यक्ति दिँदा सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । कांग्रेस नेता गगन थापालाई बालुवाटारमा आधा घण्टा ‘साबुन पानीले हैन तातोपानीले हात धुनुपर्छ’ भनेका थिए । त्यसले पनि प्रधानमन्त्रीको आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *