नेकपा अध्यक्षद्वयको ९ दिनपछि बालुवाटारमा भेटवार्ता, निस्केला त निकास ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयको ९ दिनपछि आज बालुवाटारमा भेटवार्ता भइरहेको छ । पार्टीभित्र देखिएको अन्तरविरोधलाई कसरी सेटल गर्ने र कुन कमिटीमा छलफल चलाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल विच आज कुराकानी हुन सक्ने बालुवाटार स्रोतको भनाई छ ।
साउन २० गते झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङसहितको भेटघाटमा दाहाल र ओलीविचको वार्ताले ठोस निर्णय गर्न सकेको थिएन । आज हुने भेटवार्तामा दाहाल र ओलीविच पार्टीको कुन कमिटीमा गएर विवाद राख्ने विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओली सचिवालय बैठक सम्पन्न भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडानमा थिए भने, अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा थिए ।
केही दिनयता वामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण पनि बदलिएको छ । बदलिएको यो समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने अडानमा थिए । स्थायी र केन्द्रीय कमिटीमा भने दाहाल–नेपाल समूहको बहुमत रहेकाले उनीहरु स्थायी र केन्द्रीय कमिटीकै बैठकको पक्षमा रहेका छन् ।
दाहाल पक्षका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले केपी शर्मा ओलीले पार्टीभित्रको विवादबाट निकास दिन प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग राखिरहेका छन् । ओली भने दुवै पदबाट कुनैपनि हालतमा राजीनामा नदिने अडानमा छन् ।
नेकपाका १५२ केन्द्रीय सदस्यहरुले भने लिखितरुपमै केन्द्रीय कमिटीको बैठक माग गरेका छन् । तर, उनीहरुको मागका विषयमा अहिलेसम्म कुनै निर्णय त के छलफल समेत भएको छैन ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिनभित्र पार्टीको विवाद निकास दिनेगरी निर्णय हुने एक टेलिभिजनमा बताएका थिए । उनको त्यो अन्तरवार्ता पछि आज ओली र दाहाल पक्षको बालुवाटारमा भेटवार्ता हुन लागेको हो । आज दाहाल र ओलीविच सकारात्मक भेटवार्ता भए पार्टीभित्रको विवाद साम्य हुने तर्फ जाने एक केन्द्रीय सदस्यले आशा व्यक्त गरे ।








