‘नेकपा कुनैपनि अवस्थामा फुट्दैन, पाँच दिनमा नयाँ सिनारियो देखिन्छ’

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवादले पार्टी फुट्ने होकी भन्ने आशंका उब्जिइरहँदा पार्टीका एक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कुनैपनि हालतमा नफुट्ने बताएका छन् ।

एपीवान टेलिभिजनमा हिजोबाट प्रशारणमा आएको सञ्चारकर्मी भुषण दाहालको नयाँ कार्यक्रम ‘द ब्राभो डेल्टा शो’ मा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाभित्र जस्तो सुकै विवादहरु भएपनि पार्टी विभाजनको दिशामा नजाने बताएका हुन् ।

‘नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन हुँदैन । पार्टीभित्रको विवाद ठूलो समस्या हैन ।’ ओलीले भनेका छन् । पार्टीलाई जोगाउन आफु लागि परेको बताउँदै कतिपय विषयमा चुपचाप बसेको पनि बताएका छन् ।

उनले पार्टीभित्र देखिएको असान्दर्भिकताले जनताहरु पनि बेखुसी रहेको पनि बताए । ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने पनि बताएका छन् ।

‘म कसैप्रति आरोप लगाइरहेको छैन । अस्ति पत्रकार सम्मेलन भयो । मैले कुनै जवाफ पनि दिइनँ । तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ । म चुप लागेर बसेको छु । त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ । कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ । मैले त्यसको कुनै जवाफ दिएको छैन । म के भन्न चाहन्छु भने पार्टी फुट्दैन । र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, तस्विरः एपीवान

उनले आफु संसदीय दलकाे नेता चयन भएपछि मात्र पार्टीले गति लिएकाे तर्क गरेका छन् । पार्टीभित्र कुनै पनि समस्या नरहेकाे बताउँदै उनले समस्या झिकिएकाे जिकिर गरेका छन् । साथै उनले पार्टीमा आफुले कुनै गुट नचलाएकाे तर्क गरे । ‘म देश ड्राइभ गर्न हिडेकाे मान्छे हुँ, मैले सानाे गुट चलाएर हुन्छ ? महाधिवेशनमा पनि लडेर आएकाे छु, प्रधानमन्त्रीमा पनि लडेर आएकाे हुँ ।’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणमा सरकार असफल नभएको पनि बताएका छन् । उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ल्याइएको कोरोना स्वास्थ्य सामग्री खरिदमा कुनैपनि अनियमितता नभएको तथा जनताले समेत राम्ररी साथ नदिएको जिकिर गरेका छन् ।

‘मेरा निम्ति र सरकारका निम्ति सबैभन्दा मुल्यवान जनताको स्वास्थ्य हो, जनताबाटै साथ र सहयोग प्राप्त भएन भने हामीले कोरोनालाई परास्त गर्न सक्दैनौं । जनताबाट भनेजस्तो साथ र सहयोग भएन ।’ उनले भनेका छन् ।

सरकारले जनताको स्वास्थ्य सुरक्षाका लागि गर्नुपर्ने सबै प्रकारका कामहरु गरीरहेको तर्क गर्दै प्रधानमन्त्रीले एक महिनामा दुई लाख ४१ हजार भन्दा बढि मानिसहरु विदेशबाट आइरहँदा उनीहरुलाई छुट्टाछुट्टै भान्सा, शौचालय तयार गरेर राख्ने उच्चस्तरको प्रबन्ध गर्न सक्ने अवस्था नभएको तर्क गरेका छन् । तथापि, सरकारले विदेशबाट खासगरी भारतीय भूमीबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण नगरी सिधै घर छिर्न भने नदिइएको दावि गरेका छन् ।

कोरोना रोकथाम र नियन्त्रणमा भारतीय समकक्षीसँग दुवै देशमा रहेका नागरीकलाई छिर्न नदिने सहमति भएको र सोही अनुरुप नियन्त्रण रहेको अवस्थामा भारतमा आन्तरिक आवागमन खुल्ला हुँदा नेपाली हरु बोर्डरमा आएर बस्दा समस्या भएको पनि बताएका छन् ।

कतिपय विषयमा राजनीति गरीएको तर्क गरे । कोरोना संक्रमण रोकथाम नियन्त्रणमा सरकारले क्वारेन्टाइन र अस्पताल निर्माणमा १० अर्ब खर्च गर्दा अतिरञ्जित गरीएको पनि बताए । ‘खै १० अरब ?, खाए खाए भन्ने गरीयो । स्थानीय तहले कसरी बनाउँन सक्छ त क्वारेन्टाइन ? हामीले स्थानीय तहलाई नै विस्वास गरेर पठाइएको होनी । अब कहाँ कहाँ केके गरीयो त, कामै नगरी कसरी थाहा हुन्छ ?’

उनले कोरोना जस्तो महामारीमा कसैले एक रुपिँया पनि भ्रष्टाचार गर्छभने त्यस्तालाई कारवाही हुने प्रधानमन्त्रीले बताएका छन् । उनले कोरोना सामग्री खरिदमा भएको भ्रष्टाचारका विषयमा छानविन भइरहेको पनि जनाएका छन् । ‘कोही नेताका परीवारका सदस्य त्यसमा पाइयो भने कारवाही हुन्छ ।’

प्रधानमन्त्री ओलीले संक्रमणको स्थिति डरलाग्दो हुँदै गएको भन्दै सरकारले लकडाउन र सिमा कडाई र बैदेशिक र आन्तरिक भ्रमणमा कडाई गरेको बताए । कोरोना संक्रमण बढेको क्षेत्रहरुमा विशेष ध्यान दिएको, कम भएका जिल्लाहरुमा पनि उच्च सतर्कता अपनाइएको बताए ।

प्रधानमन्त्रीले भारतले अतिक्रमण गरेकाे नेपाली भूमि फिर्ता ल्याएरै छाड्ने समेत बताएका छन् । नेपाल भारतकाे सम्बन्धमा कुनैपनि दरार नआएकाे तर्क गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र कुटनीतिक वार्ताकै माध्यमबाट फिर्ता ल्याउन सरकारकाे भूमिका रहने जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *