‘रोजगारीका लागि बाध्यताले बाहिर जाने स्थितिको अन्त्य गर्छौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकारले काम गरिरहेको बताएका छन् ।
बुधबार (आज) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले तीन करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु दुःखको कुरा भएको बताए ।
उनले आफ्नो सम्बोधनका क्रममा भनेका छन्, ‘देश निर्माण गर्नुपर्ने मुख्य शक्ति नै देश बाहिर जानु अवश्य नै खुसीको कुरा होइन । त्यसैले हामीले यस दिशामा ठोस प्रयासहरु अगाडि बढाएका छौं । र हामी केही वर्षभित्र रोजगारीका लागि, छनौटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो, बाध्यताको हिसाबले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ ।’
यस्तै उनले युवाहरुलाई अगाडि बढ्न आग्रह गर्दै सरकार साथमा रहेको बताए । प्रधानमन्त्री ओलीले युवा जनशक्तिको लगभग २५ प्रतिशत देशबाहिर जाने, त्यसमध्ये केही अध्ययनका लागि र केही रोजगारीका लागि अवस्था छ रहेको बताए ।








