एक महिला स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट

काठमाडौं । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो।

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन्। पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेको हो।

स्थानीय एक वृद्धा बिरामीलाई स्लाइन चढाइरहेका र सोही बेला ती युवकले कुटपिट गरेको उनले बताइन्।

उनले भनिन्, ‘वृद्धा आमा कान नसुन्ने र उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौच गर्दै कुटपिट गरे।’

ती युवाको कुटपिटबाट जानकीको हातको औंला भाचिएको, मुख, छाती र टाउकोमा चोट लागेको छ। उनको हाटमा उपचार भइरहेको छ।

आफू अहिले न्यायको खोजीका लागि नगरपालिकामा पुगेको जानकीले बताइन्। कुटपिट गर्ने ती युवकले स्वास्थ्यकेन्द्रमा कार्यरत स्वीपर (कार्यालय सहयोगी) बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ।

कुटपिटपश्चात जानकीले ती युवालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी छन्।

स्वास्थ्यकर्मीमाथि स्वास्थ्य संस्थामै कुटपिट र दुर्व्यवहार भएकोले आफू असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए।

उनले भने, ‘स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानूनी कारबाही हुनुपर्छ, स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नुपर्छ।’

कुटपिट गर्ने युवक फरार
यसैबीच कुटपिट गर्ने ती दुबै युवक फरार छन्। फरार रहेका मोहन कुँवर र वीरेन्द्र कुँवरको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्ने उजुरी आएको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

फरार रहेका युवकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *