अडानबाट पछि हट्ने चाहिँ को ?

काठमाडौं । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको टकराव, अभिव्यक्ति र अडानलाई हेर्दा नेकपा फुटकै संघारमा छ भनेर सजिलै लख काट्न सकिन्छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी विभाजनलाई सजिलो पार्ने गरी ल्याएको विधेयकको प्रसङ्ग, पार्टी तथा सभामुखसँगको सर–सल्लाह तथा परामर्थविनै वर्षै अधिवेशनको अन्त्य, निर्वाचन आयोगमा नेकपा एमाले नामक दल दर्तालगायतका घटनाले नेकपालाई फुटकै संघारमा पुर्याएको हो भनेर भन्न कति पनि गाह्रो हुन्न ।

पदको दम्भ, एकतर्फी निर्णय, ओलीको पार्टीभित्र ‘मपाइत्व’को भावनालगायतका कारण अर्का अध्यक्ष दाहाल र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा माग्नुलाई जानकार तथा विश्लेषकहरुले निको मानेका छैनन् ।

उनीहरु जान्दछन् कि, पार्टी फुटाउने नेतालाई अन्य नेता/सांसदहरुदेखि कार्यकर्तासम्मले चर्को आलोचना गर्नेछन् । त्यसैले दुई अध्यक्ष आफ्नो मनोकांक्षालाई बाहिर ल्याउन सक्दैनन् ।

कार्यकारी अध्यक्षले पार्टी हेर्नुपर्दैन भनी हप्काउने, काम बढाउन खोज्दा नमान्ने केपी ओलीको व्यवहारले दाहाललाई पार्टीको जिम्मेवारी दिने तर अघि बढ्न नदिने संकेत प्रष्ट देख्न सकिन्छ ।

यसको प्रष्ट्याइँ–अध्यक्ष दाहाललाई पालो–पालो प्रम बनाउने मौखिक सहमति तोडेर कार्यकारी अध्यक्षको जिम्मा दिएको कुराले गर्छ ।

दुई अध्यक्षबीचको आरोप–प्रत्यारोप हेर्दा उनीहरुबीचको यो द्वन्द्व वैचारिक होइन, पदकै लागि हो भनेर भन्न हिच्किचाउनु नपर्ला ।

अहिले पछिल्लो समयको उनीहरुबीचको अवस्थालाई पढ्ने हो भने ओली आक्रमक देखिन्छन् भने दाहाल रक्षात्मक देखिन्छन् । यद्यपि शुरुमा ठीक यसको उल्टो ओली रक्षात्मक र दाहाल आक्रामक देखिएका थिए ।

पछिल्लो समय लगातार हुँदै आएको ‘वान टू वान’वार्तामा समेत केही सहमति हुन नसकेपछि दाहालले जत्तिबेला पनि जे पनि हुन सक्ने बताइसकेका छन् ।

दुई अध्यक्षले आ–आफ्नो अडान नछाडेको यो समयमा अब पार्टी फुट्छ कि कसले आफ्नो अडानलाई त्याग गर्छन् भनेर हेर्न आम नेतादेखि सरोकारवालासम्म आतुर छन् ।

अब उनीहरुबीचमा कुन विषयमा कसरी सहमति जुट्ला अनि उनीहरुले आ–आफ्नो जिम्मेवारी कसरी अघि बढाउलान् त्यो कुराको चर्चा हुनु अन्यथा नहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *