चितवनमा प्रहरी, थुनुवासहित बालकमासमेत कोरोना संक्रमण

चितवन । चितवनमा प्रहरी, थुनुवा र बालकमासमेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरमा गरिएको परीक्षणका क्रममा चितवनका ६ जनासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाले दिएको जानकारीअनुसार संक्रमितहरु प्रहरी र थुनुवा पनि छन् ।

साथै होम क्वारेन्टिनमा रहेको ६ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ । बालक भरतपुर–१ का हुन् ।चितवनका ५ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत ३६ वर्षीय पुरुष र भरतपुर अस्पतालबाट स्वाब लिइएकी ३१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सुर्खेतको चिठगाउँ–२ का २२ वर्षीय प्रहरी र नवलपुरको गैँडाकोट–१५ का ३६ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले बताइन् ।

यसअघि चितवनको नारायणगढका एकै घरका तीनजनामा कोरोना संक्रमण देखिएको थियो । लगत्तै उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन सुरु गरिएको थियो ।

एकै परिवारका तीन जनामा कोरोना देखिएपछि शुक्रबार साँझदेखि नारायणगढको पुतली बजार क्षेत्रको भिमसेन मन्दिरदेखि मिनिसो मार्ग चोक हुँदै मेनरोडसम्मको क्षेत्रलाई सिल गरिएको छ । त्यहाँ झण्डै एक सय घर छन् ।

अर्को आदेश नभएसम्मका लागि त्यस क्षेत्र सिल गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *