उपत्यकाका अस्पताल भरिए, २७ संक्रमित होम आइसोलेसनमा

काठमाडौं । पूर्वतयारी र सावधानीका उपाय नअपनाई सरकारले लकडाउन हटाएपछि संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ । काठमाडौं उपत्यकामा पछिल्लो समय लक्षणसहितका संक्रमित धेरै देखिइरहेका छन् ।

नेपालमा विहिबारसम्म संक्रमितको संख्या २१ हजार ७ सय नाघिसेको छ । तीमध्ये ६ हजार २ सय ९६ संक्रिय संक्रमित छनु । प्रदेश २ मा सबैभन्दा धेरै २ हजार ६ सय ९३ जना सक्रिय संक्रमित छन् । यसैगरी सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको प्रदेशको सूचीमा सुदूरपश्चि दोस्रो स्थानमा छ । त्यहाँ १ हजार ४ सय ९० जना सक्रिय संक्रमित छन् । बागमतीमा ८ सय ३५, प्रदेश ५ मा ३ सय ७७, गण्डकीमा २ सय ८०, प्रदेश १ हजार ३ सय ५८ र कर्णाली प्रदेश सबैभन्दा कम २ सय ६३ जना सक्रिय संक्रमित छन् ।

यसरी संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा आइसोलेसन अपुग हुन थालेको छ । सावधानी नअपनाउँदा र संक्रमित बढ्दै जाँदा नेपालमा कोरोनाले महामारीको रुप लिने स्वास्थ्य विज्ञहरु बताउँछनु । स्वास्थ्य मन्त्रालय आफैले नै यसरी बढ्दा देशभर आइसोलेसनको र चिकित्सकको अभाव भएर अवस्था भयावह हुनसक्ने चेतावनी दिँदै आएको छ । मन्त्रालयले भनेको छ- ‘तीव्र रुपमा स‌ंक्रमण बढिरहे मुलुककै राजधानी काठमाडौंसहितका अस्पतालमा भेन्टिलेटर र आईसीयू नपुग्ने अवस्था देखिएको छ ।’अस्पताल भरिए, संक्रमित घरमै
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार काठमाडौंमा मात्रै २७ जना घरमै आइसोलेसनमा बसेका छन् । संक्रमितलाई आइसोलेसनमा राख्ने जति पनि अस्पताल छन्, ती सबै भरिभराउ भएपछि व्यवस्थापन गर्न गाह्रो भएको हो ।

कोरोना पुष्टि भएका र लक्षण नदेखिएका बिरामीलाई घरमा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्न दिएको ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । ‘कोरोना संक्रमितको संख्या बढेको छ । संक्रमित राख्ने आइसोलेसन भएका सीमित अस्पताल भरिएका छन्,’ डा. पाण्डेले भने- ‘अब नयाँ संक्रमितलाई राख्न अस्पताल थप्नुपर्छ ।’

संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अस्पताल, दुवाकोटको केएमसी अस्पताललाई तोकिएको छ । तर यी सबै अस्पतालमा निर्माण गरिएका आइसोलेसन अहिले संक्रमितले भरिएका हुन् ।

होम आइसोलेसनमा बसेकालाई वेवास्ता
संक्रमणको कुनै लक्षण तथा चिह्न नभएका र सामान्य लक्षण भएका व्यक्ति आफ्नै घरमा आइसोलेसनमा बस्न सकिने मापदण्ड सरकारले बनाएको छ । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी (नर्स वा प्यारामेडिक्स)ले घरमा रहेका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी दिनमा दुईपटक फोन वा एसएमएसबाट लिनुपर्छ । तर निगरानी नहुँदा थप जोखिम हुने विज्ञहरू बताउँछन् ।

होम क्वारेन्टाइनमा बस्दा स्वास्थ्य अवस्था र घरको भौतिक अवस्था बुझ्ने नगरेको गुनासो छ । धुम्बाराहीमा संक्रमित एक चिकित्सक २१ दिन होम क्वारेन्टाइनमा बसेर बाहिरिए तर, स्वास्थ्य अवस्था बुझ्न कोही पनि आएनन् । ‘यतिसम्म कि म कस्तो घरमा बसेको छु भनेर हेर्नसमेत कोही आएनन्,’ संक्रमणमुक्त ती चिकित्सकले भने, ‘म त आफैं चिकित्सक भएकाले जतिसक्दो सुरक्षाको उपाय अपनाएँ ।’

कोभिड-१९ को आइसोलेसन व्यवस्थापन निर्देशिकाअनुसार यसरी घरमै बस्नेको निगरानी स्थानीय तहले गर्नुपर्छ । तर स्थानीय तहले निगरानी त के, तथ्यांकसमेत राखेका छैनन् ।साउन ९ मा संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका कपनका ६२ वर्षीय पुरुषले पनि आफ्नो स्वास्थ्य अवस्था बुझ्न कोही नआएको गुनासो गरे । ‘मलाई कोरोना पोजिटिभ देखिएपछि अस्पताल जानुपर्छ भनेको थिएँ । मैले घरमै बस्छु भनेपछि बस्न मिल्ने वा नमिल्ने कस्तो छ हेर्न आउने सुनाएका थिए,’ उनले भने, ‘तर कोही पनि आएका छैनन् ।’

डा. जागेश्वर गौतम -प्रवक्ता. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घरमा बस्ने संक्रमितलाई प्रत्यक्षरूपमा स्वास्थ्यकर्मीले निगरानी गरिरहेको दावी गरे । ‘यदि कुनै पनि संक्रमितलाई स्वास्थ्यकर्मीले निगरानी नगरेको भए संक्रमितले स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्नुपर्यो, घरमा बसेका संक्रमितले अस्पताल भर्ना हुन्छु भनेमा अस्पताल भर्ना हुने व्यवस्था गराउँछु,’ उनले भने- ‘स्वास्थ्यकर्मीले निगरानीमा कसैलाई पनि कमी राखिएको छैनन् ।’

संक्रमितको संख्या ७ सय नाघ्यो
काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६९२ पुगेको छ । उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५५५ जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ४६ जना सक्रिय संक्रमित छन् । बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पाँच गुणाले बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढिरहेको देखिएको हो । उपत्यकामा करीब एक महीनाको अन्तरमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै पाँच गुणाले बढेको देखिएको छ ।

१४ जिल्लामा निषेधाज्ञा जारी
सरकारले कोरोना संक्रमणको जोखिम बढेसँगै विभिन्न जिल्लामा मानिसको आवतजावत नियन्त्रण गर्न ‘निषेधाज्ञाको नीति’ अपनाएको छ । साउन ६ गते रातिबाट लकडाउन हटाएपछि देशभर झनै कोरोना संक्रमण बढेको छ । यसलाई मध्यनजर गर्दै १४ जिल्लामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।चैत ११ बाट संघीय सरकारले गरेको चार महिना लामो लकडाउन साउन ६ को मन्त्रिपरिषद् बैठकले बिनातयारी अन्त्य गर्दै विद्यालय, सिनेमा हल, सभारसम्मेलनलगायत, अन्तरजिल्ला सवारी आवागमनलगायत केही क्षेत्रबाहेकलाई आवश्यक सावधानी अपनाएर खुलाउने निर्णय गरेको थियो । तर लकडाउन हटाएसँगै संक्रमितको संख्या मुलुकभर बढेपछि जिल्लागत जोखिम हेरेर बुधबारसम्म ५ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको हो ।

स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनअनुसार जिल्लाको शान्तिसुरक्षा र अन्य परिस्थिति तथा सरुवा रोग नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले कैद, जरिवाना वा दुवै सजाय गर्न सक्ने छन् । संक्रमणको जोखिमका बीच सर्वसाधारण मास्क नलगाई हिँड्न थालेपछि असार २२ बाट प्रहरीले एक सय रुपैयाँ जरिवाना असुलेर सचेत गराएर छाड्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *