‘पार्टीका बुढा नेताहरुलाई यसपटक विदा गर्छौं’ कांग्रेस नेता गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पुराना नेताहरुलाई विदा गरीने कांग्रेस नेता गगन थापाले बताएका छन् । एक युग नेतृत्व गरीसकेका पुराना नेताहरुलाई सम्मानका साथ विदा गरीने नेता थापाले बताएका छन् ।

हिमालय टेलिभिजनमा दिलभुषण पाठकसँग कुरा गर्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले भने ‘यसपटकको महाधिवशेनबाट नेपाली कांग्रेसका बुढा नेताहरुलाई विदा गर्छौं । सम्मानजनक विदा गर्छौं ।’

पार्टीको ठूलो पङ्ति नेतृत्व परीवर्तनको पक्षमा रहेको बताउँदै कांग्रेसलाई खुल्ला पार्टीको रुपमा स्थापित गर्नपनि पुस्ता हस्तान्तरण आवश्यक रहेको थापाको भनाई छ ।

उनले आफु पार्टीको विधान संसोधन गर्ने ठाउँमा पुगे पार्टीलाई खुल्ला पार्टीको अवधारणामा लैजाने पनि बताएका छन् । ‘पार्टीको विधान संसोधन गर्ने ठाउँमा पुगें भने म पार्टीलाई ओपन पार्टी बनाउँछु । लाखौं युवाहरु पार्टीमा प्रवेश गर्नेछन् ।’ थापाले भनेका छन् । उनले पार्टीको सान्दर्भिकताका लागि पनि पार्टीका थुप्रै कुरा बदल्नु पर्ने बताएका छन् ।

उनले आउँदो महाधिवेशन पछि नेपाली कांग्रेसको नयाँ कार्य समिति समावेशी, नयाँ अनुहार, सिंगो पार्टीलाई एकीकृत बनाएर लैजान सक्ने आउने जिकिर गरे ।

‘कांग्रेसमा एक युग विताएका, लामो समय नेतृत्वमा रहेका पुराना ठूला नेताहरुले अब विदा लिँदैछन् । दोहोरिएर सभापति हुने अवस्था अब छैन ।’ थापाको दावि छ ।

साथै उनले यस पटकको महाधिवेशनमा आफुले कुन पदमा उम्मेद्वारी दिने विषय अहिले गौण रहेको जनाउँदै आवश्यक परे सभापतिमै उम्मेद्वारी समेत दिन सक्ने बताए । ‘म कुन पदमा उठ्ने गौण विषय हो, आवश्यक परे केन्द्रीय सदस्य कसैले प्रयत्न गरेनन् भने सभापतिमा पनि लड्न सक्छु ।’ थापाले भने ।

काेराेनामा भ्रष्टाचार भएकै छ

नेता थापाले कोरोना संक्रमण नियन्त्रणमा सरकारले ठूलो गल्ती गरिरहेको जनाएका छन् । क्वारेन्टाइन निर्माण, आइसोलेसन निर्माण र महामारी नियन्त्रणमा सरकार कमजोर भएको थापाको तर्क छ । उनले आफुले फागुन १४ गते कोरोना महामारी नियन्त्रण र रोकथामका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दा सरकारले वेवास्ता गर्दा समस्या आएको समेत दावि गरे ।

सरकारलाई कन्ट्याक्ट ट्रेसिङ गर्नु भनेर त्यत्तिबेलै भन्दा पनि सरकारले गम्भिरतापूर्वक नलिएकोले संक्रमण फैलिएको जनाए । कोरोना संक्रमणमा सरकार नराम्रोसँग चुकेको नेता थापाको भनाई छ ।

साथै उनले सरकारले महामारीको बेलामा समेत भ्रष्टाचार गरेको दावि गरेका छन् । ‘यस्तो महामारीको बेलामा जिम्मेवारीमा बसेको मानिसले आम नागरिकलाई पनि अपिल गरेर एउटा एउटा मान्छेमा रहेको सकारात्मक उर्जालाई लिएर जानुपर्ने प्रयास गर्नुपर्ने बेलामा सानोभन्दा सानो कुरामा पनि कहाँबाट लाभ प्राप्त हुन्छ भनेर हेर्ने काम पहिलो दिनबाटै शुरु भएको छ ।’

उनले कोरोना परीक्षणको विषयमा बोल्दै नाङ्गो आँखाले हेरेर पनि भ्रष्टाचार भएको छ भनेर भन्न सकिने अवस्था रहेको बताएका छन् । ‘एन्टिवडीको टेस्ट गरेर काम छैन सबैले भनिरहेका छौं, त्यो किन रोकिएन, त्यसलाई खरिदसँग लगेर जोडियो, सामान किन आएन, सबै कुरा लेनदेनसँग गएर जोडिएको छ ।’ थापाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *