कोरोना भाइरसबारे सचेतना स्वरुप स्टिकर र मास्क वितरण

चितवन । चितवनका युवाहरुले थालेको ‘क्लीन चितवन, ग्रीन चितवन, बेटर चितवन’ को नारा सहित संचालन भएको ६० दिने अभियानको आज (बिहीबार) ४२ औं दिन पुरा भएको छ ।
चितवनमा रहेर विभिन्न सामाजिक संघ-संस्थामा आवद्ध रहेका युवा सामाजिक अभियान्ताहरुको सहभागितामा सुरु भएको यो अभियान चितवनका विभिन्न क्षेत्रमा सञ्चालन गर्दै आएका छन् ।
पछिल्लो पटक विश्वभर देखा परेको कोरोना भाइरसले नेपालमा पनि ठुलो क्षति व्यहोर्नु परेको छ । पछिल्लो पटक नेपालमा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै अभियान्ताहरुले आज पूर्व-पश्चिम राजमार्गको रत्नननगर २ टाँडी बजारमा यसकाे जाेखिम राेक्ने उद्देश्यका साथ सचेतना कार्यक्रम गरेका छन् । राजमार्गमा सञ्चालन भएको सवारी साधनहरुमा सचेतना स्वरुप स्टिकर र मास्क वितरण गरिएकाे कार्यक्रमका संयोजक ध्वज भण्डारीले बताए ।
उक्त कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला देवी दुवाडी प्रमुख अतिथिको रुपमा सहभागी थिइन् । सुरक्षा निकायको तर्फबाट राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरीक्षक गोविन्द कडेल, ट्राफिक प्रहरीका सहायक निरीक्षक सुरेन्द्र विस्ट, विभिन्न संघ-संस्थाका प्रतिनिधि लगायत अभियान्ताहरुको सहभागिता रहेको थियो ।








