कमाउने एउटै छोरो थला परेपछि ६५ वर्षिय सदानन्दको परिवारमा खसेको दुखःको पहाड

विराटनगर ।
मर्ने कसैलाई रहर हुँदैन
‘मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाँउ कुन ठाँउ जाँउ मान्छे नमर्ने शहर हुँदैन’

डा. कृष्णहरी बरालको शब्द रचनामा रहेको गीतका केहि अंश पथरी शनिश्चरेका ४० वर्षिय गणेश विमलीको जीवनसँग मेल खान्छ ।

उनी ७ महिना देखि दुवै मृगौला फेल भएर थलिएका छन् । उनको घरमा श्रीमतीसहित १४ वर्षको एक छोरा, ११ वर्ष र ८ वर्षकी दुई छोरीहरु छन् । ७ महिना अगाडी राम्रैसँग घरपरिवारको जिम्मेवारी उठाईरहेको छोरो एक्कासी थला परेपछी विमलीको परीवारमा पहाड खसेजस्तै भएको छ ।

छोरा गणेशमा मृगौला रोग देखा परेको उनका बुवा सदानन्द बिमली जैशीको भनाई छ । ‘आमा बिरामी भई बल्लतल्ल निको पारें अहिले बुढेसकालमा पाल्ने छोरालाई रोग लाग्यो । दैव पनि कति निष्ठुरी ।’ लामो श्वास फेर्दै षदानन्दले सुनाए ।
गणेशले मृगौला सम्बन्धि रोग देखा पर्नुभन्दा अगाडी सुगर, प्रेसरको औषधी सेवन गर्ने गरेका थिए ।

भनिन्छ उमेरले जिम्मेवारी देख्दैन, ६५ वर्षिय सदानन्द बिमली बिराटनगरको प्रचण्ड गर्मीमा छोरालाई निको पार्ने झिनो आशा लिएर डाइलोसिस गराउन कहिले नोबल अस्पताल पुग्छन् त कहिले छिमेकमा उपचारका लगि ऋण खोज्न भौतारिन्छन् ।
‘मन हुनेले तिर्ला नि भन्दै, ऋण दिन्छन् कतिले रित्तो हात फर्काउछन्, घरमा कमाउने यहि थियो ।’, थलिएका छोरा तर्फ आँखा डुलाउदै उनले भने ।

बिरामी हुनुभन्दा अगाडी गणेश सवारी चालक थिए । उनले बैँकबाट कर्जा लिएर गाडी किनेका थिए ।

रोगले च्यापेपछि गाडी चलाउने सम्भव नभएकाले गाडी बेचरै ऋण चुक्ता त गरेपनि अब उपचार कसरी गराउने उनको परिवारमा चिन्ता छ । एउटा भएको घर पनि गणेशकै उपचारमा ऋणमा डुबेको सदानन्दले बताए । ‘घर बेँचौ, कहाँ बस्नु ? आफु मात्रै भए हुन्थ्यो, सानासाना नाता नातीनी बुहारी, बिरामी श्रीमती छिन् ।’ उनी भन्छन् ।

गत असार देखि डाइलोसिस गराउन सुरु गरेको छोराको एक चोटी डाइलोसिस गराँउदा ७ हजार लाग्ने गरेको षदानन्दले बताए । सँधै पथरीबाट गाडी रिजर्भ गरेर बिरामीलाई लिएर आउन गाह्रो भएकाले विराटनगर १ मा आफन्तको घरमा आएर उनीहरु बसिरहेका छन् ।

गणेशको उपचार तथा स्वास्थ्य परीक्षण नोबेल अस्पतालका डा. शैलेन्द्र कुमार श्रेष्ठले गर्दै आएका छन् । सदानन्दको भनाई अनुसार डाक्टरले पाँच देखि ६ महिना पछि मृगौला प्रत्यारोपण गर्नैपर्ने सुझाव दिएका छन् ।

परिवारमा आमा सुगरको बिरामी छन् । दाजुभाई पनि प्रेसर सुगरको समस्या भएकाले आफ्नो मृगौला दिन सक्दैनन् । बुबा झन बृद्ध भएकोले मृगौला दान गर्न सक्ने अवस्था छैन । ‘परिवार बाहिर कस्ले देला मृगौला ?’ रसाएका आँखासँगै आफैसँग प्रश्न गर्छन उनी ।

उनी भन्छन्, ‘आफु मरेपनि छोरालाई दश, पन्ध्र वर्ष बचाउन पाए छोराछोरी हुर्के बढे पछि आफै गरिखान्थे, दिनदिनै आफु पनि डुब्न लागेको घाम भईसकें ।’ मृगौला प्रत्यारोपण गर्दा धेरै खर्च लाग्ने भएकाले बुधबार बिराटनगर १ मा भेटिएका सदानन्द बिमलीले सबैसँग सहयोगको अपेक्षा राखेका छन ।

बिरामीका बुवा षदानन्द बिमली जैशीको एनआईसी एसिया बैंकको खाता नम्बर ०८४५७५०४५३०८७०० मा सहयोग गर्न सकिने छ । सरकारले गम्भिर तथा घातक रोगको निःशुल्क उपचार व्यवस्था गरेको भएपनि पहुँच र आर्थिक अवस्था कमजोर भएका सदानन्द विमली जस्ता परीवारलाई सरकारी सुविधा ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *