खैरहनीमा अब वडा कार्यालयकाे सेवा पनि जोर-बिजोर प्रणालीबाट

चितवन । खैरहनी नगरपालिकाबाट प्रवाह हुने सबै सेवा जोर-बिजोर प्रणाली अनुसार सञ्चालन हुने भएको छ । हरेक हप्ताको जोर बारको दिन जोर वडाको तथा बिजोर बारको दिन बिजोर वडा कार्यालयको काम हुने नगरपालिकाले जनाएको छ ।
खैरहनी नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बुधबारदेखि लागू हुने गरि यस्तो निर्णय गरेको हो । नगरपालिकाबाट प्रदान हुने राजस्व संकलन लगायत सम्पूर्ण सेवा तथा सिफारिसको काम जोर बिजोर बार र वडा अनुसार हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु वानियाँले जानकारी दिए ।
वडा कार्यालयहरुबाट सिफारिस पठाउँदा सोही निर्णय अनुसार पठाउन समेत भनिएको छ । वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक समेत रहेका खैरहनी १ का वडाध्यक्ष भूमि प्रसाद कडेंलको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार अब नगरपालिका कार्यालयमा आइतबार, मंगलबार र बिहीबार वडा नम्वर १,३,५,७,९,११ र १३ तथा सोमबार, बुधबार र शुक्रबार वडा नम्वर २,४,६,८,१० र १२ का सेवाग्राहीको काम हुनेछ । लकडाउनको केही समय पनि नगरपालिकाले जोर विजोर प्रणालीबाट सेवा दिएको थियो ।
साउन महिना लागू भएपछि राजस्व बुझाउने सेवाग्राहीको चाप अत्याधिक भएपछि जोर-बिजोर प्रणाली लागू गरिएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले बताए । राजस्व बुझाउनेहरुको भीड लागेपछि नगरपालिकाले टोकनको समेत व्यवस्था गरेको छ । कुनै पनि काम लिएर आउँदा र बाहिर हिँडडुल गर्दा समेत अनिवार्य माक्स लगाउन, सेनिटाईजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न मेयर चौधरीले आग्रह गरेका छन् ।
वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य सचिव एवम् वातावरण इन्जिनियर निर्मल अर्यालका अनुसार बैठकले खैरहनी ५ बुढीराप्ती पुल नजिक रहेको पुरानो ल्याण्डफिण्ड साईट सुरक्षित विधि अपनाएर बन्द गर्ने, बजार क्षेत्रको फोहोर कुहिने र नकुहिने गरि वर्गिकरण गरि व्यवस्थापन गर्न अभिमुखीकरण कार्यक्रम संचालन सञ्चालन गर्ने लगायत निर्णय गरेको छ ।








